समाज

नेपाल प्रहरी श्रीमती संघ र चितवन मेडिकल कलेजबीच सम्झौतापत्रमा हस्ताक्षर

इकागज |
असार १०, २०७९ शुक्रबार २१:३८ बजे

चितवन- नेपाल प्रहरी श्रीमती संघ र चितवन मेडिकल कलेज भरतपुरबीच बहालवाला प्रहरी कर्मचारीहरू, पूर्व प्रहरी कर्मचारीहरू तथा अमर प्रहरी परिवारका सदस्यहरूलाई उक्त कलेजमा स्वास्थ्य उपचार सेवा प्रदान गर्ने सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

कलेजको कार्यालय भरतपुर महानगरपालिका १० चितवनमा शुक्रबार आयोजित कार्यक्रमबीच नेपाल प्रहरी श्रीमती संघको तर्फबाट संघकी अध्यक्ष श्रीमती कुसुम लता सिंह र चितवन मेडिकल कलेजको तर्फबाट अस्पतालका निर्देशक प्रा.डा. दयाराम लम्सालले सम्झौतापत्रमा हस्ताक्षर गर्नुको साथै उक्त सम्झौतापत्र आदानप्रदान समेत गरे ।


उक्त अवसरमा संघकी अध्यक्ष श्रीमती कुसुम लता सिंहले पहिलो पटक चितवन मेडिकल कलेजसँग सम्झौता गरिएको र आगामी दिनमा समेत देशभरका स्वास्थ्य संस्थाहरूसँग सम्झौता गरी स्वास्थ्य सेवा उपलब्ध गराउन पहल गरिने बताइन् ।

उक्त सम्झौता अनुसार कलेजबाट उपलब्ध गराउने स्वास्थ्य उपचार सेवाहरूमा अस्पतालले २५ प्रतिशत र अस्पताल फार्मेसीले ७ प्रतिशत छुट उपलब्ध गराउने उल्लेख गरिएको छ । साथै संघले कुनै पनि क्षेत्रमा संचालन गर्ने स्वास्थ्य शिविरमा अस्पतालले प्राविधिक टोली व्यवस्थापनमा सहयोग गर्नेछ ।

सम्झौता आगामी साउन १ गतेदेखि कार्यान्वयन भई २०८१ असार ३० गतेसम्म २ वर्षका लागि लागु हुनेछ । 
 


Author

थप समाचार
x