समाज

एउटै रुखमा झुण्डिएको अवस्थामा मृत भेटिए तीन किशोरी

बाबुराम भण्डारी |
साउन ८, २०७९ आइतबार १२:३ बजे

विराटनगर - झापाको कचनकवल गाउँपालिका–५ बेल्लेगाउँमा तीन किशोरी एउटै रुखमा झुण्डिएको अवस्थामा मृत फेला परेका छन् । आइतबार बिहान चिया बगानमा चिया टिप्न जानेहरूले जिङ खोला नजिकै बयरको रुखमा झुण्डिएको अवस्थामा देखेपछि होहल्ला गरेर प्रहरीलाई खबर गरेका थिए । 

जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डिएसपी वसन्त पाठकका अनुसार झुण्डिएर मृत भेटिएकाहरू १६ वर्षीया करिना गणेश, १७ वर्षीया अन्जली गणेश र १६ वर्षीया कल्पना गणेश रहेका छन् । मृतक तीनैजना किशोरीहरू पनि स्थानीय चियाबगानका मजदुरहरू हुन् । 


वडा नम्बर ५ का वडासदस्य कृष्णप्रसाद गणेशका अनुसार स्थानीयले शनिबार दिउँसोसम्म स्थानीय चिया पसलमा किशोरीहरूले नास्ता खाँदै गरेको देखेका थिए । त्यसपछि उनीहरू सम्पर्कविहीन बनेका थिए । आफन्तले उनीहरूले बोक्ने मोबाइल नम्बरमा फोन गर्दा फोन गए पनि नउठेपछि रातभर खोजतलास गरेका थिए ।

घटनाको कारणबारे परिवारका सदस्यहरूसँग पनि सोधपुछ गरेको तर घरायसी समस्या केही नभएको जानकारी गराएको वडासदस्य गणेशले बताए । 

‘यस्तो घटना किन भयो भन्ने कुरा कसैलाई अहिलेसम्म जानकारी भएको छैन, परिवारले पनि अहिलेसम्म पत्तो पाएको छैन’ उनले भने, ‘कसरी घटना भयो भयो, एउटै रुखमा झुण्डिएका छन्, हामी त अचम्ममा परेका छौं ।’

किशोरीहरूको आत्माहत्या की हत्या भन्ने कुरा खुल्न नसकेको जनाइएको छ । घटनाबारे अनुसन्धान भइरहेको डिएसपी पाठकले बताए 


Author

बाबुराम भण्डारी

भण्डारी इकागजका कोशी प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x