समाज

कारागार पुगेपछि बल्ल खुल्छन् मानसिक रोगी

अतिन आचार्य |
साउन ९, २०७९ सोमबार १२:३३ बजे

प्रतिकात्मक तस्बिर

काठमाडौँ- समाजमा धेरैजसो मानिसहरू मानसिक स्वास्थ्यको बारेमा खुल्दैनन् । अझ मानसिक रोगी त झनै खुलेर कुरा गर्न डराउँछन् । मानसिक स्वास्थ्यलाई ठूलो रोग मान्दाको त्यस्ता मानिसहरू घर-परिवार र बाहिर समाजमा सहजै खुल्न नसकेका हुन् । यसलाई सामान्य नमान्दा र समयमा उपचार गराउनुको सट्टा घरमा बस्ने प्रवृति रहेको मानसिक स्वास्थ्य विज्ञ बताउँछन् । 

यसरी सामान्य अवस्थामा नखुल्ने रोगी  कैदी भएर कारागारमा पुगेपछि भने सहजै खुल्ने गरेको पाइएको छ । मुलुकभरका अधिकांश कारागारमा रहेका बन्दीहरूमा मानसिक स्वास्थ्यको समस्या देखिने गरेको प्रतिवेदन तथा सञ्चार माध्यममा समय-समयमा सार्वजनिक भइरहन्छन् । 


कारागारमा पुगेपछि स्वास्थ्यको परीक्षण हुँदा पहिलो चरणमा मानसिक स्वास्थ्यमा परेको असर बारेमा खुल्ने गरेका छन् । कैदीहरू पनि सहजै अगाडि आउने गरेका छन् । विभिन्न समयमा अपराध गरी लुकेर बसेका तथा पुर्पक्षका लागि थुनामा पुगेका कैदीमा मानसिक स्वास्थ्यको समस्या देखिने गरेको छ । समाजको डर, अनावश्यक आरोप लाग्दा, इज्जत जाने डर र प्रहरीको हिरासतमा रहँदादेखि कैदीलाई मानसिक स्वास्थ्यको लक्षण देखा पर्ने कारागार प्रमुखहरूले बताएका छन् ।

हाल सुन्धारास्थित केन्द्रीय कारागारमा करिब ३५ सय कैदीबन्दी छन् । जसमध्ये महिलाहरू ४ सय र पुरुष कैदीबन्दी ३१ सयको हाराहारीमा रहेका प्रमुख डोरेन्द्र निरौलाले जानकारी दिए ।

जेलमा आइपुग्दा कैदीबन्दीहरूमा मानसिक रोगको लक्षण देखापर्ने गरेको प्रमुख निरौलाले बताए ।  कारागारमा हाल ३१० जना मानसिक स्वास्थ्यको  औषधि सेवन गर्ने छन् ।

घर-परिवारमा हुँदा अप्ठयारो महसुस गर्ने तर जेलको संसार वा बन्द कोठामा रहनु पर्ने हुँदा कैदीहरू आफ्नो स्वास्थ्यको बारेमा खुल्ने उनले जानकारी दिए । अरु जस्तै समान महसुस गर्ने हुँदा जेलमा आइसकेपछि आफ्नो समस्या सहजै राख्‍ने गरेको उनले बताए ।

'मानसिक दबाब, सामाजिक मनोविज्ञानको असर, जेलमा बस्दा र बाहिर निस्किएपछिको वातावरण कस्तो होला भन्ने त्रासले पनि समस्यामा पर्ने देखिएको छ,' उनले भने,' धेरै मानिसहरू जेलसम्म आइपुग्दा मानसिक स्वास्थ्यको समस्या बोकेर आइसकेका हुन्छन् ।'

सामाजिक प्रतिष्ठा गुम्‍ने त्रास

कैदीबन्दीहरूमा सामाजिक प्रतिष्ठा गुम्न सक्ने त्रासले मानसिक दबाब बढिरहेको हुन सक्ने उनको भनाइ छ । कैद भुक्तान गरेपछि  बाँकी जीवन समाजमा कसरी बिताउने भन्ने पीडाले पनि समस्यामा परेको हुन सक्ने उनको भनाइ छ । 

जेलमा आइपुग्दा कैदीबन्दीहरू विक्षिप्त अवस्थामा  हुने निरौलाले जानकारी दिए । अदालतले मुद्दा नटुंग्याएसम्म उनीहरू उनले जेलमा रहनु परेकाले मानसिक रुपमा विचलित हुने गरेको बताए ।

कारागारमा लागूपदार्थ सेवन, जघन्य अपराध गरेका,  बलात्कार अभियोग र लामो समयसम्म कैदी जीवन बिताउनु पर्नेमा मानसिक समस्या देखिएको छ । सबै उमेर समूहका कैदीबन्दीमा मानसिक स्वास्थ्यको समस्या छ । महिलाभन्दा पुरुषको संख्या बढी भएकाले पुरुष कैदीमा मानसिक समस्या देखिएको छ । केही संख्यामा महिलामा पनि समस्या देखिएको छ ।

'धेरैजसो कैदीबन्दीहरूले औषधि खाइरहेका हुन्छन् । जेलमा आइसकेपछि पनि सुरुमा उनीहरू खुल्दैनन्,' उनले थपे,' मानसिक रोगी भए पनि खुलाउँदैनन् । उनीहरूको क्रियाकलापले हामीले थाहा पाउने गरेका छौँ । परीक्षण गरेपछि नयाँ औषधि दिने गरेका छौ । '

कारागार भित्रको अस्पतालमा रहेका मनोचिकित्सकहरूले परामर्श दिने गरेको निरौलाले सुनाए । 'नजिकका साथीहरूले उनीहरूको बारेमा सल्लाह दिएपछि अस्पतालमा परीक्षण गरिन्छ,' उनी भन्छन्,' स्वास्थ्य परीक्षणपश्चात औषधि दिइन्छ । कैदीले भित्रै बनाएका साथीहरूसँग आफूलाई सहज भएमा गफ र छलफल गर्छन् ।'

कारागार भित्रै  अस्पतालमा उपचार

त्यसैगरी, कारागार व्यवस्थापन विभागका प्रवक्ता झंकनाथ ढकालका अनुसार मानसिक स्वास्थ्य कमजोर भएका अधिकांश कैदीबन्दीलाई नख्खुस्थित कारागारमा राखिन्छ । मानसिक स्वास्थ्य कमजोर भएका कैदीबन्दीलाई लक्षित गरी अस्पताल पनि बनाइएको छ ।

देशभर करिब १ हजार कैदीबन्दीमा मानसिक समस्या देखिएको ढकालले जानकारी दिए । देशका अन्य कारागारमा रहेका कैदीबन्दीलाई मानसिक समस्या देखिएमा नख्खुमा ल्याएर उपचार गरिने उनको भनाइ छ ।

'कारागारको डेडिकेटेड अस्पतालमा मनोचिकित्सक राखेर उपचार गराइएको छ,' ढकाल भन्छन्,' कैदीबन्दीको मानवअधिकारदेखि उनीहरूले पाउनुपर्ने सामान्य उपचारसम्म विभागले ध्यान दिने गरेको छ ।'

अस्पतालमा नभए बाहिरबाट चिकित्सक बोलाएर पनि शंका लागेका बिरामीको उपचार गरिने उनले जानकारी दिए । 'बाहिरी जिल्लाबाट ल्याएका कैदीलाई यहाँ सुरुवाती उपचार गरिन्छ,' उनले भनाइ राखे,' बाहिर अस्पताल लानुपर्नेलाई लगेर उपचार गरिएको छ ।'

कैदीबन्दीले मानसिक समस्या भएको जस्तो महसुस गर्न साथ उपचार प्रक्रियामा लैजाने गरेको उनले प्रस्ट पारे । कारागारमा क्षमताभन्दा बढी कैदी राख्दा व्यवस्थापन गर्न नसकेको उनको ठहर छ ।

ललितपुरस्थित नख्खु कारागारमा करिब २ सय कैदीले औषधि प्रयोग गरिरहेका छन् । विभागको जेठ महिनाको तथ्यांक अनुसार ७४ जिल्लामा कुल २४ हजार ५५२ जना कैदीबन्दी छन् । देशभरको कारागारको कैदीबन्दीको क्षमता १४ हजार बन्दी रहेको उनले बताए । त्यस्तै आठ जिल्लाको आठ बाल सुधार गृहमा कूल १ हजार ९१ जना बालबालिका छन् ।

अपराध सम्झेर आत्मग्लानि 

अपराधको प्रकृतिअनुसार कतिपय बन्दीहरू सुरुमा खुल्न नसक्ने मनोचिकित्सक डा. नम्रता प्रधान बताउँछिन् । बाहिर गरेको अपराधलाई महसुस गर्दागर्दै बन्दीहरू जेलमा पुगीसकेपछि धेरैले आत्मग्लानी महसुस गर्ने उनले बताइन् ।

'जेलमा पुगिसकेपछि कैदीले साथी तथा पारिवारिक वातावरण पाएको महसुस गर्दा पनि सहजै खुल्ने गर्छन् । विविध कारणले अपराध गरे पनि आत्मग्लानि महसुस गरी खुल्ने गर्छन्,' कैदीबन्दीको मनोभावनालाई बुझेर उपचारलाई प्राथमिकता राख्नुपर्ने धारणा राख्दै उनी भन्छिन्,' धेरै कैदीहरूले स्वास्थ्यमा समस्या भएकाले पनि अपराध गरेका हुन सक्छन् । साथीहरूसँग बस्दा खुल्ने अवसर पाएर वा आफ्नो जस्तो महसुस गरेकाले समस्या राख्‍न सक्छन् । कतिपय कैदीहरू अन्जानमा पनि फसेका हुन्छन् ।'

उनले विद्यार्थीलाई बस्ने होस्टल बनाए जस्तै कैदीबन्दीको लागि पनि होस्टलको जस्तो वातावरण बनाइनुपर्ने सुझाव दिइन् । बन्दीले पारिवारिक वातावरण सहजै महसुस गर्ने खालको हुनुपर्ने डा. प्रधानले धारणा राखिन् ।

फरक-फरक व्यवहार तथा क्रियाकलाप गर्नासाथ स्वास्थ्यको परीक्षण गरिहाल्नुपर्ने डा. प्रधानको भनाइ छ । 'कारागारबाट निस्केपछि बन्दीले केही गर्न सक्ने नैतिक बल प्राप्त गरोस,' उनले सुनाइन् ।


Author

अतिन आचार्य

वैदेशिक रोजगार, जन-स्वास्थ्य र सामाजिक मामलामा कलम चलाउँने आचार्य संवाददाता हुन् ।


थप समाचार
x