समाज

विद्यालयलाई सेनेटरी प्याड सहयाेग, तर नष्ट गर्नै समस्या

उपमहानगरपालिकाले दियो मेसिन, गाउँपालिकाद्वारा कमिसनका लागि चार गुण महँगाेमा प्याड खरिद

सरिता दाहाल |
साउन १४, २०७९ शनिबार १७:२१ बजे

मकवानपुर- महिनावारी हुँदा प्रयोगको लागि विद्यालयलाई निःशुल्क सेनेटरी प्याड वितरण गरियो तर प्रभावकारी रुपमा नष्ट गर्न नसक्दा समस्या देखिन थालेको छ । महिनावारी हुँदा प्रयोग गरिएको प्याड नष्ट गर्नको लागि सबै विद्यालयहरुमा इन्सुलेटरको व्यवस्थापन गरिएको छैन । 

केही विद्यालयहरूले सेनेटरी प्याड नष्ट गर्नका लागि छात्रा शौचालयको पछिल्लो भागमा चेम्बर बनाएका छन् । चेम्बर भरिएपछि केमिकलको प्रयोग गरेर नष्ट गरिन्छ । तर धेरैजसो विद्यालयहरूले अझै पनि महिनावारी भएको बेला प्रयोग गरिएको प्याड बाल्टीलगायतमा संकलन गर्ने गरेका छन् । जसलाई नष्ट गर्न लामो समय लगाएर, मट्टितेललगायत प्रज्वलनशील पदार्थ राखेर जलाइन्छ । जुन वातावरणीय दृष्टिले स्वस्थ्यकर हैन ।


कुहिएर माटोमा नमिल्ने र सहजै नजल्ने भएकोले सेनेटरी प्याड नष्ट गर्न समस्या हुने गरेको छ । 'प्याड नष्ट गर्नै समस्या छ, पहिले निःशुल्क प्याडको लागि अनुरोध गरियो अहिले नष्ट गर्ने उपकरण आवश्यक भएको छ,' हेटौंडा १३ प्रतिभा निमाविका अध्यक्ष तेजबहादुर थिङले भने । हेटौंडाको बाल ज्योती माविले भने छात्रा शौचालयसँगै चेम्बर बनाएको छ, जसमा प्याड भरिएपछि केमिकल हालेर नष्ट गरिन्छ । प्याड इन्सुलेटर मेसिन खरिदको लागि साढे २ लाखसम्म पर्ने भएकाले सबै विद्यालयले सहजै खरिद गर्न सक्ने अवस्था नभएको हेटौंडा उपमहानगरपालिका विपद् प्रतिकार्य फोहाेर मैला व्यवस्थापन तथा वातावरण शाखाका प्रमुख शान्ति बिश्वकर्माले बताइन् । 

यसैबीच हेटौंडा उपमहानगरपालिकाले नगरको ६ वटा विद्यालयलाई सेनेटरी प्याड इन्सुलेटर सहयोग गरेको छ । महिनावारीका क्रममा प्रयोग भएको सेनेटरी प्याड व्यवस्थापनमा समस्या भएपछि हेटौंडा उपमहानगरपालिकाले ६ विद्यालयलाई सेनेटरी प्याड इन्सुलेटर उपलब्ध गराएको हो । उपमहानगर भित्र रहेका विद्यालयका विद्यार्थीहरुले महिनावारीको समयमा प्रयोग गरेको सेनेटरी प्याड व्यवस्थापनमा चुनौती थपिएपछि पहिलो पटक ६ विद्यालयलाई सेनेटरी प्याड इन्सुलेटर प्रदान गरिएको विपद् प्रतिकार्य फोहाेर मैला व्यवस्थापन तथा वातावरण शाखाका प्रमुख शान्ति बिश्वकर्माले जानकारी दिइन् ।

प्रयोग भएको प्याड प्लाष्टिकबाट बनेको हुँदा सहजै माटोमा नमिल्ने र जलाउन पनि समस्या भएकाले विद्यालयहरुमा नष्ट गर्नमा समस्या हुँदै आएको थियो । पहिलो पटक हेटौंडा-१ को अमर माध्यमिक विद्यालय, हेटौंडा-४ को भुटनदेवी माध्यमिक विद्यालय, हेटौंडा-६ को बंशगोपाल माध्यमिक विद्यालय, हेटौंडा-१३ को महेन्द्र माध्यमिक विद्यालय, हेटौंडा-१८ को ज्योति माध्यमिक विद्यालय र हेटौंडा-१९ को निर्मल माध्यमिक विद्यालयमा सेनेटरी प्याड इन्सुलेटर हस्तान्तरण गरिएको हेटौंडा उपमहानगरपालिका कार्यालयले जनाएको छ ।

२ लाख ६० हजार रुपैयाँ लागत पर्ने यो मेसिन खरिद गरी विद्यालयलाई सहयोग गरिएको हो । सेनेटरी प्याड इन्सुलेटर हेटौंडा उपमहानगरपालिकाका प्रमुख मिनाकुमारी लामाले विद्यालयका प्रतिनिधिहरूलाई हस्तान्तरण गरेकी हुन् । सामग्री हस्तान्तरण गर्दै प्रमुख लामाले आफूले पैसा नपरेपछि माया कम गर्ने बानीमा भने सुधार गर्न उनले आग्रह गरिन् । विद्यालय परिसर सरसफाइसँगै शैक्षिक गुणस्तर निर्माणमा भूमिका खेल्न आग्रह गरिन् । 

यता मकवानपुरको बकैया गाउँपालिकाले अघिल्लो आर्थिक वर्षमा सेनेटरी प्याड खरिदको क्रममा आर्थिक हिनामिना गरिएको पाइएको छ । गाउँपालिकाले पालिका भित्रको विद्यालयको लागि सेनेटरी प्याड खरिदमा कमिसनकै लोभमा चार गुणा धेरै मूल्यमा खरिद गरेको महालेखा परीक्षकको रिपोर्टमा सार्वजनिक गरिएको छ । 

गाउँपालिका क्षेत्रमा रहेको विद्यालयमा अध्ययनरत किशोरी तथा कार्यरत महिला शिक्षकले प्रयोग गर्नका लागि खरिद गरेको सेनेटरी प्याड खरिदमा पनि कमिसनको खेल रहेको पाइएको हो । सर्वसुलभ रुपमा प्राप्त गर्ने सेनेटरी प्याड गाउँपालिकाले सोझै पहिले खरिद गर्दा प्रतिपिस १० रुपैयाँमा खरिद गरेकोमा दरभाउ कर्ताले प्रतिपिस ४० रुपैयाँ कबोल गरेकोमा त्यही सामान खरिद गरेकोमा महालेखाले प्रश्न उठाएको हो ।

आर्थिक वर्ष २०७७/०७८ मा संघीय सरकारबाट प्राप्त रकमबाट सेनेटरी प्याड खरिद गर्दा अनियमिता भएकोमा महालेखा परीक्षकको कार्यालयले प्रश्न गरेको हो । सेनेटरी प्याड खरिदमा गाउँपालिकालाई नोक्सान हुनेगरी १२ लाख २१ हजार ६१ रुपैयाँ बढी भुक्तानी दिएको महालेखा परीक्षकको कार्यालयले हालसालै सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ ।

बकैया गाउँपालिकाले बोलपत्र मार्फत खरिद गरेको सेनेटरी प्याड र सोझै खरिद गरेको सेनेटरी प्याड खरिदमा बढी रकम भुक्तानी गरेको महालेखा परीक्षकको कार्यालयले जनाएको छ । बकैयाका विद्यालयमा अध्ययनरत किशोरी विद्यार्थी महिनावारी हुँदा प्रयोग गर्ने सेनेटरी प्याड खरिदमा पनि प्रति प्याकेट २४० रुपैयाँ बढी रकम गाउँपालिकाले भुक्तानी गरेको जनाएको छ ।


Author

थप समाचार
x