समाज

चन्दा उठाएर बाजा बिउँझाउँदै चाँगुनारायण

सृजना खड्का |
साउन २५, २०७९ ११:२८ बजे

भक्तपुर- भक्तपुर चाँगुनारायणका परम्परागत बाजा लोप हुन थालेका छन् । विभिन्‍न मेला, पर्व, जात्रा, भजन आदिमा अनिवार्य बजाउनुपर्ने बाजातर्फ युवापुस्तालाई आकर्षण गर्न नसक्दा लोप हुने स्थिति आएको हो ।

चाँगुनारायणमा विभिन्‍न साँस्कृतिक अवसर पारेर खिङ, मुहाली, पञ्चे, नायखिं जस्ता बाजा बजाइन्छ । अहिले यी सबै बाजा लोप हुने अवस्थामा छन् । यो अवस्थालाई लिएर चाँगुनारायण विकास समितिका अध्यक्ष एवं चाँगुनारायण मन्दिरका मूल पूजारी चक्रधरानन्द राजोपाध्याय चिन्तित छन् ।


चाँगुनारायण यतिबेला चन्दा उठाएर भएपनि बाजा बचाउन लागि परेको उनले बताए । ‘यसअघि बाजा बजाउने, भजन गाउने पुराना पुस्ता बिते,’ अध्यक्ष राजोपाध्यायले भने, ‘पछिल्लो पुस्तालाई यतातिर आकर्षित गर्न नसक्दा परम्परागत बाजाले निरन्तरता नपाउने खतरा बढेको छ ।’ बाजा बचाउन समितिले केही पहल सुरु गरेको छ । चाँगुनारायणका धेरैलाई बाजाको तालिम दिन थालेको छ । स्थानीय महिलाहरूले समेत यसको तालिम लिन थालेका छन् । 

खिङ धेरै पूरानो परम्परागत, एतिहासिक (सनातनी) बाजा हो । जुन विशेषगरी गाईजात्रा, भजन, मेला आदिको समयमा अनिवार्य बजाइन्छ । यो बाजा बिना शुभ कार्य आरम्भ गर्न नहुने धार्मिक मान्यता छ । समितिले केही समयअघि मात्रै १० जनालाई यो बाजाको तालिम दिएको थियो । अहिले चाँगुनारणयणमा खिङ बाजा चार जनालाई बजाउन आउँछ । तर, यो बाजासँगै भजन भने कसैलाई गाउन आउँदैन । चाँगुनारायणको राधिकानाच पनि बिस्तारै लोप हुँदै गएको छ । यो नाच कसरी नाच्ने, यसका लागि कसरी गाउने कसैलाई थाहा छैन । 

त्यस्तै, समितिले गुरुहरू झिकाएर लोपोन्मुख लोकबाजा मुहालीको पनि तालिम थालनी गरेको छ । अहिलेसम्म तीन जना महिलासहित ११ जनाले तालिम लिइसके । तालिममा पास भएका सात जनामध्ये दुईजना महिला छन् । यो बाजा बिहान सबेरै र बेलुका आरती गर्ने बेला बजाउने चलन छ । त्यस्तै, कलश यात्राको बेलामा पनि वर्षको दुई पटक यो बाजा बजाउने गरिन्छ । ‘अहिले यो बाजा बजाउन जान्‍ने दुई जना मात्रै छन्,’ समितिका सचिव श्रीभक्त भडेलले भने, ‘एक जनाले बिहान, एक जनाले बेलुका बजाउँछन् । तर, बजाएबापत उनीहरूले गुठीबाट केही पनि पाउँदैनन् ।’

चाँगुनारायणमा हुने विशेष पूजामा देवकार्य गर्न आउनेको रकमबाट दुई भाग मुहाली बजाउने एक भाग नित्यपूजा गर्ने गरेको उनीहरू बताउँछन् ।  यो बाजा बजाएन भने नारायण मन्दिरको पूजा सिद्ध नहुने धार्मिक विश्वास छ । त्यस्तै जात्रा, पर्व, मेला सबै अधुरो हुने बताइन्छ । यो बाजा अरुबेला बजाउँदा बेमौसमी बाजा हुने भएकाले पनि यसको महत्व बुझ्नुपर्ने उनीहरू बताउँछन् ।

चाँगुनारायणमा आदिकालदेखि प्रचलनमा रहेका बाजागाजा, नाच, जात्रा पर्व लोप हुँदै जानुको मुख्य कारणमा गुठी जग्गालाई रैकरमा परिणत गर्नुअघि २०५८ सालसम्म निश्चित रकम बुझाएपछि गुठी जग्गा रैकरमा परिणत गर्न सकिन्थ्यो । तर सर्वोच्चले २०५८ पछि रैकरमा परिणत गर्न रोक लगाएको छ ।

चाँगुनारायणको हजार रोपनी गुठीको जग्गामध्ये ७ सय ५० रोपनी रैकर भइसकेको अध्यक्ष राजोपाध्यायले बताए । गुठीको जग्गा सबै रैकर हुँदा परम्परागत कुराहरूको जगेर्ना गर्न गाह्रो भइरहेको उनको गुनासो छ । ‘गुठीको चार भागमा तीन भाग जग्गा रैकर बनाएर बेचेर खाइसके,’ उनले भने, ‘गुठी हुँदा मोहीले बाली बुझाउँथ्यो । १ रोपनीको १३ पाथी धान आउँथ्यो । त्यही धानले च्युरा कुट्ने, बेच्ने, पूजाको सरसामान जोरजाम गर्ने गरिन्थ्यो । अहिले गुठीले जम्मा वर्षको १३० रुपैयाँ दिन्छ ।’

चाँगुनारायण नगरपालिकाले यही चाँगुनारायणमा आउने पर्यटकहरुसबाट वर्षको करोडौं रुपैयाँ कर उठाउँदै आएको छ । तर चागुँनारायण मन्दिर र यसका जात्रा, पर्व बेवास्तामा परेको उनको गुनासो छ ।  तैपनि, आफूहरूले बजेटका लागि मेयर जीवन खत्री र वडाहरूमा अनुरोध गरेको उनले बताए । ‘एउटा बाजा सिक्नै पाँच–छ महिना लाग्छ,’ उनले भने, ‘प्रत्येक बाजालाई पाँच–छ लाख खर्च लाग्छ । बाजा किन्‍न, गुरुलाई दक्षिणा दिन, गाउलेलाई प्रसाद बाँड्न थुप्रै पैसा खर्च हुन्छ ।’

तैपनि, राजोपाध्याय र भडेल कतैबाट सहयोग नमिले चन्दा उठाएर भए पनि आफ्नो संस्कृति र बाजा जगेर्ना लागिपरेको बताउँछन् । 


Author

सृजना खड्का

सामाजिक विषयमा कलम चलाउने खड्का संवाददाता हुन्।


थप समाचार
ad
x