समाज

विमान दुर्घटना : माछापुच्छ्रेको काभ्रे गाउँ शोकमा

इकागज |
माघ २, २०७९ सोमबार ७:३९ बजे

कास्की - काठमाडौँबाट पोखरा आउँदै गरेको यती एयरलाइन्सको विमान दुर्घटनाले कास्कीको माछापुच्छ्रे गाउँपालिका–२ को काभ्रे गाउँ शोकमा डुबेको छ ।

पोखरामा आइतबार भएको विमान दुर्घटनामा विमानमा सवार काभ्रे गाउँका बेलमान गुरुङ र उनका धर्मपत्नी सीता गुरुङको निधनले गाउँ शोकमा डुबेको हो ।
 
बेलमान गत साउनमा मौसमी भिसामा बेलायत गएका थिए । उनी यही पुस २९ गते घर आउन काठमाडौँ आउनेभएपछि श्रीमती सीता सोही दिन काठमाडौँ पुगेका थिए। 


उनीहरू दुवै जना यतीको विमानमार्फत पोखरा आउँदै गरेको र दुर्घटनामा परेको माछापुच्छ्रे–२ का वडाध्यक्ष एवं गाउँपालिकाका प्रवक्ता गणेश आचार्यले बताए । उनका अनुसार बेलमान दम्पतीले बिहान ११ बजेको यतीको अर्को जहाजको टिकट लिए पनि बोर्डिङ पास लिइसकेको र अघिल्लो जहाजमा सिट खाली रहेकाले सोही जहाज चढेका थिए ।

वडाध्यक्ष आचार्यले दुर्घटनाको खबर लगत्तै गाउँ शोकमा डुबेको बताए । 
 
बेलमान बेलायत जानुअघि गाउँमै रेष्टुरेण्ट सञ्चालन गर्थे । उनी विदेशिएपछि सीताले रेष्टेुरेन्ट सञ्चालन गर्दै आएकी थिइन् । बेलमानका बुबा इन्द्रबहादुर गुरुङ नेपाली कांग्रेस वडाका पूर्वसभापति हुन् । 

इन्द्रबहादुरको परिवारमा परेको शोकले सबै दुःखित बनेको वडाध्यक्ष आचार्यले बताए । स्व गुरुङका दुई छोरी र एक छोरा छन् । विमान दुर्घटनामा परी माछापुच्छ्रे गाउँपालिका–७ का शिवकुमार गुरुङको पनि निधन भएको बताइएको छ । 

काठमाडौँबाट पोखराका लागि उडेको यतीको एटिआर विमान पोखरा विमानस्थलमा अवतरणको केही मिनेटमात्र बाँकी छँदा विमानस्थल नजिकै सेती नदी खोँचमा दुर्घटनामा परेको थियो ।

विमानमा चालकदलका चार र ६८ यात्रु गरी ७२ जना सवार थिए । 


Author

थप समाचार
x