समाज

'श्रीमान्-श्रीमती मिलेर बस्ने' भनी निहारिका र शिवराजबीच मिलापत्र

सुभाष कर्ण |
माघ १७, २०७९ मंगलबार २०:९ बजे

जनकपुरधाम- आफूलाई बलात्कार गरेको भनी मुद्दा दिएकी निहारिक सिंह र आरोपित शिवराज श्रेष्ठबीच मिलापत्र भएको छ ।

जिल्ला अदालतले सफाइ दिएको भनेर उच्च अदालत जनकपुरधाममा पुनरावेदनको मुद्दा लडिरहेकी निहारिका राजपूतले अन्ततः शिवराज श्रेष्ठलाई आफ्नो पति भन्दै मिलापत्र गरेकी हुन् । सोमबार धनुषा जिल्ला अदालतका न्यायाधीश ब्रजेश प्याकुरेलको एकल इजलासबाट निहारिका र शिवराजबीच मिलापत्र भएको हो । निहारिकाले श्रीमान्-श्रीमाती रहेको स्वीकार्दै आफूले मिलेर बस्ने भनी शिवराजसँग मिलापत्र गरेकी हुन् ।


आफूलाई कुमारी आमा भनेर चिनाउने सोनाली सिंह भनिएकी निहारिकाले धनुषा जिल्ला अदालतमा प्रेमी शिवराज श्रेष्ठविरुद्ध बलात्कारको जाहेरी दिएकी थिइन् । तर, धनुषा जिल्ला अदालतले शिवराज र सोनालीबीच प्रेमसम्बन्ध रहेको र प्रेमसम्बन्धमा समयमा भएको शारीरिक सम्बन्धलाई जबरजस्ती करणी भन्न नमिल्ने भन्दै शिवराजलाई सफाई दिएको थियो ।

जिल्ला अदालतको फैसलाले असन्तुष्ट भई निहारिकाले आमरण अनसनसहितका आन्दोलन गर्दै उच्च अदालत जनकपुरमा पुनरावेदन समेत गरेकी थिइन् । उच्च अदालतमा मुद्दा चलिरहेकै क्रममा जिल्ला अदालतले दुवैबीच मिलापत्र गराएका हुन् ।

निहारिकाले शिवराजविरुद्ध गत माघ १५ गते धनुषा जिल्ला अदालतमा अंश दाबी गर्दै मुद्दा दर्ता गराएकी थिइन् । बलात्कार गरिएको भनी न्याय माग्दै हिँडेकी निहारिकाले दिएको निवेदनमा आफूहरू २०७५ सालदेखि पतिपत्नी भई बसेको र आफूहरूबीचको सम्बन्धबाट एउटा बालकको समेत जन्म भएको उल्लेख गरेकी छिन् ।

निहारिकाको निवेदनमा ‘पति शिवराज श्रेष्ठले खान लाउन नदिएको, मदिरा सेवन गरी कुटपिट गर्ने गरेको र आफ्नो हेरचाह नगरेको’ आरोप लगाएकी छिन् । त्यसको भोलिपल्टै माघ १६ गते सोमबार शिवराजले आफूहरूबीच प्रेम सम्बन्ध रहेको, विवाह गरी बसेको र आफूहरूबीचको सम्बन्धबाट एक बालकको जन्मसमेत भएको स्वीकार गर्दै आफूले कुटपिट नगरेको र वादीले अंश लिन चाहेमा दिने भन्दै मिलापत्र गराई पाउन भनी प्रतिउत्तर दिएका थिए ।

सोमबार नै शिवराज र निहारिकाबीच धनुषा जिल्ला अदालतमा अब ‘श्रीमान्–श्रीमती’ मिलेर बस्ने र मुद्दा फिर्ता लिने मिलापत्र भएको हो । मिलापत्र भएपछि निहारिकाले उच्च अदालतमा दिएको पुनरावेदन निवेदन प्रभावित हुने भएको छ ।


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x