समाज

कर्णालीका बालबालिकाहरूमा कुपोषणको समस्या बढ्दै

लक्ष्मी भण्डारी |
बैशाख ३०, २०८० शनिबार १६:५ बजे

सांकेतिक तस्बिर

सुर्खेत- वर्षौँदेखि पोषणको क्षेत्रमा लगानी हुँदै आए पनि कर्णालीका बालबालिकाहरू अझै कुपोषणको सिकार बनिरहेका छन् । पोषण कार्यक्रमका नाममा करोडौँ बजेट खर्च भएता पनि कुपोषणको अवस्था भने उस्तै छ ।

हरेक सूचकाङ्कमा पछि रहेको कर्णालीका लागि कुपोषण पनि प्रमुख चुनौती बनेको छ । प्रदेश आयोगको तथ्याङ्क अनुसार कर्णालीका झण्डै ४० प्रतिशत नागरिक बहुआयामिक गरिबीको रेखामुनि छन् । तथ्याङ्कलाई केलाउने हो भने झण्डै आधाभन्दा बढी बालबालिका र आमाहरूमा कुनै न कुनै प्रकारको कुपोषणको समस्या पाइन्छ ।


प्रदेशमा पाँच वर्षमुनिका ३५ प्रतिशत बढी बालबालिकामा पुड्कोपनको समस्या छ । यसैगरी यहाँका चार प्रतिशत बालबालिकामा ख्याउटेपनको समस्या देखिन्छ । विश्व स्वास्थ्य संगठनको सन् २०२२ को तथ्यांक अनुसार अझै पनि अन्य प्रदेशको तुलनामा सबैभन्दा पछाडि नै छ कर्णाली । राष्ट्रिय रूपमा हेर्दा, पाँच वर्षमुनिका बालबालिकामा नेपालभर २४ दशमलव आठ प्रतिशतमा पुड्कोपनको समस्या छ । कर्णालीमा भने यो संख्या ३५ दशमलव आठ प्रतिशत छ । अन्य प्रदेशहरूले बालबालिकामा देखिने पुड्कोपनको अवस्थामा निकै सुधार गरेका छन् । कोशी प्रदेशमा पाँच वर्षमुनिका बालबालिकामा २० प्रतिशतमा यो समस्या छ ।

कुपोषण कर्णालीको विकासको बाधक भएकाले यहाँ प्रदेश सरकार तथा स्थानीय तहले पोषणमैत्री शासनमा ध्यान दिनुपर्ने कर्णाली प्रदेश योजना आयोगका उपाध्यक्ष योगेन्द्र शाहीको भनाइ छ ।

कर्णालीमा बहुक्षेत्रीय पोषण कार्यक्रमका लागि संघीय सरकारले ९४ प्रतिशत बजेट विनियोजन गरेको छ । चालु आर्थिक वर्ष २०७९/०८० मा कर्णालीमा बहुक्षेत्रीय पोषण कार्यक्रमका लागि २३ करोड ४७ लाख रुपैयाँ बजेट परिचालन भएको थियो । पोषणका क्षेत्रमा कर्णालीमा प्रवाह भएको कूल बजेटमा प्रदेश सरकारले ४३ लाख रुपैयाँ बजेट सहकार्य गरेको कर्णाली प्रदेश योजना आयोगका प्रशासकीय अधिकृत बुद्धिबहादुर खत्रीले जानकारी दिए । बाँकी २२ करोड ७७ लाख रुपैयाँ बजेट संघीय सरकारले बहुक्षेत्रीय पोषण कार्यक्रमका लागि कर्णालीमा पठाएको हो ।

यस बाहेक कर्णाली प्रदेश सरकारले पोषण क्षेत्रमा सघाउ पुर्याउन केही कार्यक्रमहरू समेत सञ्चालन गरेको छ ।


Author

थप समाचार
x