समाज

७० वर्षकाे उमेरमा गुहरी बने जग्गाधनी

बिक्रम खड्का |
असार १४, २०८० बिहीबार २०:१९ बजे

बुटवल- नवलपरासीको बर्दघाट-१३ मझौनीका ७० वर्षीय गुहरी चमारको अनुहारमा बिहीबार बेग्लै चमक थियो । वृद्ध भइसकेका चमारको अनुहारमा आएको चमकको कारण थियो सुकुम्बासीबाट हुकुमवासी बनेको प्रमाण पत्र हात लाग्नु ।

मृत्युअघि नै जग्गाधनी पुर्जा संघीय भूमि मन्त्रीबाट पाएका उनले पटक-पटक हर्षका आँसु पनि बगाए । एक टुक्रा पनि जग्गा आफ्नो नाममा नहुँदा अहिलेसम्म भोगेका दुःख खपिनसक्नु थियो । 'न खनजोत गर्ने खेत न आम्दानीको राम्रो श्रोत छोराछोरी हुर्काउन, पढाउन र बिहेदान गरिदिन निकै समस्या भयो । आफूले जोतभोग गरेको जमिन भए पनि पुर्जा नहुँदा धितो राखी ऋण लिन पनि पाइनँ,' गहभरी आँसु भर्दै उनले भने ।


पुर्जा पाउने आसैआसमा उनका बुबा पल्टु चमारको ७० वर्षमा जीवन सकियो । झण्डै त्यही उमेरमा पुगेका चमार घरले जा-जा वनले आ-आ भन्ने उमेरमै भए पनि बिहीबार जग्गाधनी पुर्जा प्राप्त गरे । जसको खुसीको कुनै सीमा उनमा थिएन । खुसीका आँसुसँगै चाउरी परेको अनुहार मुसुक्क पार्दै उनले भने, 'धन्य सरकार म नमर्दै पुर्जा पाएँ ।'

'पटक-पटक बनेका आयोगले पुर्जा दिन नसक्दा मैले त पुर्जा पाउने आस नै मारेको थिएँ फेरि पनि हामीमाथि राजनीति नै हुने भयो भन्ने सोचेको थिएँ तर यसपाली त साँच्चिकै पो पुर्जा पाएँ,' लालपुर्जा देखाउँदै उनी मुस्कुराए ।

चमार मात्र होइनन् पश्चिम नवलपरासीमा उनी जस्तै समस्या भोगेका करिब ५ हजार जना छन् । बिहीबार राष्ट्रिय भूमि आयोग नवलपरासीले भूमिहीन दलित तथा भूमिहीन सुकुम्बासीहरूलाई एक कार्यक्रम आयोजना गरी जग्गाधनी पुर्जा वितरण गरेपछि वर्षौंदेखि जग्गा पाउने आसमा रहेका सुकुम्बासीहरू हर्षित छन् ।

शारीरिक रूपमा अशक्त रहेकी बिमला वली मुसहर पुर्जा पाउने खबर पाएर रिक्सामा बसेर कार्यक्रम स्थलमा पुगिन् । उनलाई पुर्जा दिन पुगेकी भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री रञ्जिता श्रेष्ठका गाला सुम्सुम्याउँदै बिमला भक्कानिएर राेइन् । जब पुर्जा हातमा पर्यो विगतका पीडा सम्झिएर उनले आफूलाई सम्हाल्न सकिनन् ।

पुर्जा प्राप्त गर्ने भूमिहीन दलित तथा भूमिहीन सुकुम्बासीहरू बर्दघाट-१३ का दुर्सइ मुसहरलाई ३ कठ्ठा ३ धुर, रामबदन पासीलाई ८ धुर, मोहमद सलिम देवानलाई १ कठ्ठा १० धुर, मटेलु लोनियालाई २ कठ्ठा १६ धुर, राजकुमार मुसहरलाई ६ धुर, शान्तीदेवी मुसहरलाई १० कठ्ठा २ धुर, सुकइ चमारलाई १२ कठ्ठा, जुठे कहाँरलाई ७ कठ्ठा १३ धुर रहेको जग्गाधनी पुर्जा मन्त्री श्रेष्ठले वितरण गरिन् ।

पहिलो चरणमा १० जना भूमिहीन दलित तथा भूमिहीन सुकुम्बासीलाई बर्दघाट नगरपालिकाको आयोजनामा बर्दघाट-१३ मा पुर्जा वितरण गरिएको आयोगका जिल्ला अध्यक्ष देवराज भण्डारीले बताए । नवलपरासी जिल्लामा सत्यनारायण आयोग र मनशाेभा आयोग लगायतका पुराना आयोगका कामहरू अधुरा हुँदा भूमिहीनहरूले जग्गाधनी पुर्जा पाउने आस मारिसकेका थिए । तर, २०७९ साल श्रावण महिनामा राष्ट्रिय भूमि आयोग गठन पश्चात पुराना आयोगका अधुरा कामहरू मध्ये १ हजार ९ सय ९६ वटा कित्ताहरूको नक्सा तथा फिल्डबुक प्रमाणीकरण गर्यो ।

पुर्जा र श्रेस्ता कायम हुन बाँकी रहेको ९ सय ३७ वटा निवेदन आयोगमा प्राप्त भएको अध्यक्ष भण्डारीले बताए । उनका अनुसार भूमिहीन दलित भूमिहीन सुकुम्बासीलाई पुर्जा वितरण गर्न उच्च प्राथमिकताका साथ काम गरिएको छ ।

'नब्बे वटा पुर्जा श्रेस्ताका लागि निर्णय भइसकेको छ । जसमध्ये १० जनालाई पुर्जा वितरण गर्न पायौँ । अत्यन्तै खुसी लागेको छ,' भण्डारीले भने ।

स्रोत साधनको कमीका कारण तीव्र रूपमा काम गर्न नसकिरहेको राष्ट्रिय भूमि आयोगले बताइरहँदा बर्दघाट नगर प्रमुख सम्भुलाल श्रेष्ठले स्रोतका कारण लालपुर्जामा ढिलासुस्ती नहुने बताउँछन् । उनले भने, 'भूमि आयोगसँग स्रोत कम भए पनि बर्दघाट नगरपालिकाले नगरवासीलाई पुर्जा वितरण गर्नका लागि आवश्यक पर्ने काम कारबाहीका लागि आयोगसँग समन्वय गरेर स्रोत व्यवस्थापन गर्छौं ।'


Author

बिक्रम खड्का

खड्का इकागजका लुम्बिनी प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x