समाज

सूर्यदर्शन सहकारी ठगी प्रकरण : कोषाध्यक्ष कुमार रम्तेल जेल चलान

धनबहादुर गुरुङ |
असोज २१, २०८० आइतबार २०:२५ बजे

पोखरा- सूर्यदर्शन सहकारी संस्था ठगी प्रकरणमा पक्राउ परेका सहकारीका कोषाध्यक्ष कुमार रम्तेललाई जिल्ला अदालत कास्कीले पूर्पक्षका लागि थुना राख्न आदेश दिएको छ । आइतबार जिल्ला अदालत कास्कीमा भएको थुनछेक बहसपछि जिल्ला न्यायाधीश केशवप्रसाद बास्तोलाको इजलासले रम्तेललाई पूर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो ।

‘प्रतिवादीले यस अदालतमा बयान गर्दा सहकारी ठगीको कसुर गरेकोमा इन्कारी बयान गरेको देखिए तापनि सहकारीमा बचतकर्ताले बचत गरेको रकम फिर्ता गर्न नसकी सहकारी बन्द भएको तथ्यलाई स्वीकार गरी बयान गरेको देखिएको, जाहेरी दरखास्त, घटना विवरण कागज, बरामती मुचुल्का, प्रतिवादीको मौकाको बयान र नियामक निकायको वित्तीय स्थितिका सम्बन्धमा विश्लेषणात्मक प्रतिवेदन समेतका आधार, कारण र प्रमाणबाट यी प्रतिवादी वारदातमा संलग्न रहेन छन् भन्ने भन्न मिल्ने नदेखिँदा’ प्रतिवादीलाई थुनामा पठाउने,’ भन्ने व्यहोराको आदेश दिइएको हो । 


सहकारी ऐन, २०७४ को दफा १२२ बमोजिम सहकारी कसूर मुद्दामा जिल्ला सरकारी वकिल कार्यालय कास्कीले बिहीबार १९ जनालाई प्रतिवादी बनाई अभियोग दायर गरेको थियो । पक्राउ पुर्जी जारी भएकामध्ये हालसम्म फरार सहकारीका पूर्व अध्यक्ष एवं संस्थापक गितेन्द्रबाबु (जिबी) राईसहित १८ जनाको हकमा अदालतले म्याद जारी गर्नेछ ।  

उक्त मुद्दामा जिल्ला सरकारी वकिल कार्यालयले प्रहरी अनुसन्धान प्रतिवेदनभन्दा १५ लाख बढी बिगो थपेर अभियोग दायर गरेको थियो । उक्त कसूरमा सहकारी ऐन २०७४ को दफा १२४ बमोजिम १ अरब ११ करोड ३४ लाख ४३ हजार ४५ रुपैयाँ बिगो भराइ बिगोबमोजिम जरिवाना र ८ देखि १० वर्षसम्म कैद सजाय माग दाबी गरिएको छ । जसमा १ हजार ३५ जनाको उजुरी परेको उल्लेख गर्दै मुद्दा दायर गरिएको जिल्ला न्यायाधिवक्ता ढकालले बताए । रम्तेल पक्राउ परेको २४ औं दिनमा प्रहरीले अनुसन्धान सकेर १६ असोजमा अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयमा बुझाएको थियो । जसमा १ अर्ब ११ करोड १९ लाख बिगो भराई बिगोबमोजिम जरिवाना र कैद सजाय माग गरिएको थियो ।

पोखरा–३, तेर्सापट्टीमा कार्यालय रहेको सूर्यदर्शन सहकारीले गत वर्षको साउनदेखि बचतकर्ताको रकम फिर्ता गर्न नसकेपछि ठगी प्रकरण बाहिरिएको हो । कास्की प्रहरीले सहकारी ठगी प्रकरणमा गत ३२ साउनमा जाहेरी दिन सार्वजनिक सूचना जारी जाहेरी संकलन गरेको थियो । सोबमोजिम २४ भदौमा जीबी राईसहित ७ जनालाई पक्राउ पुर्जी जारी गरिएको दोस्रो दिनमै रम्तेल पक्राउ परेका थिए । ठगी प्रकरणमा आवश्यक छानबिन गर्न गठन गरिएको विज्ञको प्रतिवेदनबमोजिम थप १२ गरी सहकारीका पूर्व सञ्चालक, हालका सञ्चालक, कर्मचारी लगायत गरी कुल १९ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको हो । रम्तेल पक्राउ परे पनि अरु १८ जना हालसम्म पक्राउ नपर्नुले भने पीडित बचतकर्ता आक्रोशित छन् । आइतबार थुनछेक बहस हुने भएपछि करिब ३ सय जनाको संख्यामा जिल्ला अदालत परिसरमा उनीहरूले धर्ना दिएका थिए ।

पोखरामा जीबी राई समूहले २०६५ सालमा खोलेको सहकारीबाट सुरुदेखि नै रकम अन्य क्षेत्रमा लगाउँदै आएको पाइएको छ । सहकारीबाट सबैभन्दा धेरै जीबी राईको दाजुभाइकै कार्यकालमा अपचलन भएको निष्कर्ष छ । 

पोखरा महानगरपालिकाले सहकारीको आर्थिक हिनामिनासम्बन्धी विश्लेषणात्मक अध्ययन गर्न गत भदौ १० गते विशेषज्ञ समिति गठन गरेको थियो । उक्त अध्ययन टोलीले प्रतिवेदनसमेत तयार पारिसकेको छ । सो प्रतिवेदनअनुसार सुरुदेखि नै सहकारीको रकम अन्य क्षेत्रमा लगाउँदै आएको देखिएको छ । जीबी दाजुभाइकै कार्यकालमा ठूलो रकम अपचलन भएको समेत प्रतिवेदनमा उल्लेख छ । 


Author

थप समाचार
x