समाज

इजरायलमा नेपाली विद्यार्थीकाे मृत्यु

मुर्छाबाट ब्युँतिएर प्रवेशकी आमा भन्छिन् : मेरो बाबुलाई छिटो ल्याइदेउ

लक्ष्मी भण्डारी |
असोज २३, २०८० मंगलबार २०:३ बजे

सुर्खेत- सल्यान शारदा नगरपालिका–३, साहुटोलका २४ वर्षीय प्रवेश भण्डारी इजरायल गएपछि उनका आमाबाबु निकै खुसी थिए । उनीहरूलाई लाग्थ्यो छोरा इजरायलबाट फर्किएपछि परिवारका दुःखका दिन गए । छोरो घरमा फर्किएपछि घर बनाउँछ र सुखसँग जीवनयापन गर्न पाइन्छ ।

तर, महिना दिनसम्म पनि त्यो खुसी टिक्न सकेन । प्रवेशलगायत १० नेपालीको शनिबार प्यालेस्टिनी विद्रोही समूह हमासद्वारा इजरायल आक्रमणमा प्रवेशको मृत्यु भयो । प्रवेशको मृत्युसँगै यति बेला साहुटोल शोकमा डुबेको छ ।


प्रवेश घरका एक मात्र छोरा थिए, उनकी दिदीको विवाह सुर्खेतमा भएको छ । त्यसैले चक्रबहादुर र चन्द्रिकाका सहारा भनेकै प्रवेश मात्र थिए । २० भदौमा घरबाट निस्किएका उनी २६ भदौमा इजरायल पुगे । उनीसहित ४९ जना सुदूरपश्चिम विश्वविद्यालयमा कृषि संकाय सकेर काम सिक्न इजरायल पुगेका थिए ।

इजरायल जाने क्रममा प्रवेशले बाआमासँग भन्ने गरेका थिए, ‘अब हजुरहरूका दुःखका दिन गए । म कमाउने हुन्छु ।’

प्रवेशको मृत्युको खबर उनको परिवारले थाहा पाएपछि आमा चन्द्रिका र दिदी प्रतिक्षा अचेत अवस्थामा छन् । प्रवेशकी आमा र दिदी कहिले मुर्छा पर्ने त कहिले बिउँझिने गर्ने गरेको वडा अध्यक्ष तुल्सा भण्डारीले बताइन् ।

‘प्रवेशको घर र मेरो घर एउटै टोलमा पर्छ, म साँझ विहान उनीहरूको घरमा गइरहेको छु,’ वडा अध्यक्ष भण्डारीले भनिन्, ‘प्रवेशको मृत्युको खबरले घरपरिवार मात्र होइन गाउँ नै शोकमा डुबेको छ ।’

प्रवेश पढाइमा अब्बल रहेको र इमान्दारका रूपमा परिचित रहेको उनले बताइन् ।

यस परिवारसँग बेला-बेलामा भेट हुने र कुराकानी भइरहने गरेको उनले सुनाइन् । प्रवेश इजरायल गएपछि केही दिनअघि मात्र उनकी आमासँगको भेटमा भएको संवाद सम्झिँदै उनले भनिन्, ‘नानी हाम्रा त अब दुःखका दिन गए, छोरा इजरायल गएको छ अब धेरै कमाउने हुन्छ ।’

भेटका क्रममा आमाले भनेका यी शब्दहरूले आफूलाई अहिले दुःख लागेको वडा अध्यक्ष भण्डारीले सुनाइन् । परिवारजनले छोराको लास भए पनि छिटो ल्याइदिन व्यवस्था गर्न आग्रह गरेको वडा अध्यक्ष भण्डारीले बताइन् । ‘उहाँहरू बेला-बेलामा बेहोस हुने र होसमा आएपछि बाबु बाबु मात्र भन्नुहुन्छ,’ उनले भनिन्, ‘त्यहाँ भेटमा जाने जो कोहीलाई पनि बाबुलाई छिटो ल्याइदेउ मात्र भन्नुहुन्छ ।’

प्रवेशका सानिमा शोभा लामिछानेले प्रवेशको आमा बुवा र दिदीको अवस्था चिन्ताजनक रहेको बताइन् । ‘उहाँहरू बेला बेलामा मुर्छा पर्ने र बिउतिने गर्नुहुन्छ’ उनले भनिन्, ‘बाबुको लास भएपनि छिटो ल्याइदेउ भन्नुहुन्छ ।’

उनी सुदूरपश्चिम विश्वविद्यालयबाट चार वर्षे कोर्ष सकाएर ११ महिनाका लागि इजरायल गएका थिए । कैलालीमा कोठा भाडा लिएर निकै संघर्षका साथ पढिरहेका थिए उनले । प्रवेशले बीएस्सी एजी पढ्दासम्म पनि शुल्क तिर्न परेको थिएन । स्कलरसीपमै अध्ययन गरिरहेको लामिछानेले बताइन् । 


Author

थप समाचार
x