समाज

प्रधानसेनापतिकाे आक्रोश : कसैको जन्ममिति तय गर्नका लागि न्वारन गर्ने निकाय सेना हाेइन

काठमाडौँ-तराई फास्ट ट्रयाकलाई सही समयमा सम्पन्न गर्न विद्यमान कानुन बाधक

इकागज |
पुस ४, २०८० बुधबार १६:५६ बजे

काठमाडौँ- प्रधानसेनापति प्रभुराम शर्माले पछिल्लो समय सेनालाई विवादमा ल्याउने काम भएको भन्दै आक्रोश जनाएका छन् । सिंहदरबारमा बुधबार बसेको प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा प्रधानसेनापति शर्माले सेनाप्रति भ्रम सिर्जना गरि अनावश्यक विवादमा ल्याउने काम भएको भन्दै आक्रोश व्यक्त गरेका हुन् ।

उनले ताराध्वज पाण्डेको बढुवा सिफारिसका लागि सात दिने सूचनामात्रै भएको र त्यही बीचमा जन्ममितिको विषय उठेको जिकिर गरे । आफ्ना कर्मचारीको उमेर कागजात हेरेर उमेर निर्धारित हुने भन्दै प्रधानसेनापति शर्माले कसैको जन्ममिति तय गर्नका लागि न्वारन गर्ने निकाय सेना नभएको स्पष्ट पारे ।


पाण्डेको विषयमा शैक्षिक प्रमाणपत्र जाँच गर्दा सही पाइएको उनले बताए ।

त्यस्तै प्रधानसेनापति शर्माले काठमाडौँ-तराई फास्ट ट्रयाक आर्थिक विषयका कारण ढिलाई नभएको जिकिर गरे । काठमाडौँ-तराई फास्ट ट्रयाकलाई सही समयमा सम्पन्न गर्न विद्यमान कानुन बाधक रहेको भन्दै यही अवस्था रहे २०८३ सालसम्म पनि निर्माण सम्पन्न नहुने उनले बताए । उनले काठमाडौँ-तराई फास्ट ट्रयाक नमागेको भन्दै सरकारले काम गर्ने जिम्मेवारी दिएको तर आवश्यक कानुन नदिइएको धारणा राखे ।

बैठकमा समिति सदस्यहरूले विभिन्न बहानामा काठमाडौँ-तराई फास्ट ट्रयाक निर्माणलाई ढिलाई गर्न नहुने धारणा राखेका थिए । समिति सदस्य रवि लामिछानेले आयोजनाका निर्माणका क्रममा अनावश्यक खर्च देखिएको बताए । आयोजना सेनाको प्रतिष्ठासँग जोडिएको र राष्ट्रिय गौरवको विषयलाई गम्भीर रूपमा लिनुपर्ने उनले बताए ।

त्यस्तै समिति सदस्य गगनकुमार थापाले काठमाडौँ-तराई फास्ट ट्रयाकलाई समयमा नै सम्पन्न गर्नका लागि सरकार गम्भीर हुनुपर्ने र आयोजना अघि बढाउन देखिएका समस्या प्रधानमन्त्रीले गम्भीतापूर्वक समाधान गर्नुपर्ने धारणा राखे ।

त्यस्तै समिति सदस्य रघुजी पन्तले आयोजना अघि बढाउन सेनाले औंल्याएको विषयमा गम्भीर भएर समाधान केन्द्रित हुनुपर्नेमा जोड दिए ।

बैठकमा सेनाले आयोजनाको भौतिक प्रगति मात्र २८.५६ प्रतिशत पुगेको जनाएको छ । फास्ट ट्र्याकको कामलाई कुल १३ वटा प्याकेजमा विभाजन गरिएको सेनाले जनाएको छ । द्रुतमार्गमा हालसम्म ५२ अर्ब ८६ करोड रुपैयाँ खर्च भइसकेको सेनाले जानकारी गराएको छ ।  

 


Author

थप समाचार
x