संसद्

तराई/मधेश फास्ट ट्रयाकलाई सहज रूपमा अघि बढ्ने वातावरण बनाउन सरकारलाई निर्देशन

इकागज |
पुस ४, २०८० बुधबार १७:२४ बजे

काठमाडौँ- प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था समितिले तराई/मधेश फास्ट ट्रयाकलाई सहज रूपमा अघि बढ्ने वातावरण बनाउन सरकारलाई निर्देशन दिएको छ ।

बुधबार उक्त आयोजनाका विषयमा नेपाली सेनासँग छलफल गर्दै समितिले आयोजना निर्माणमा देखिएका समस्या समाधान गरी सहज रूपमा अघि बढ्ने वातावरण बनाउन सरकारलाई निर्देशन दिएको हो ।


बैठकले पूरक प्रभाव मूल्याङ्कन समयसीमा तोकी उक्त अवधिभित्र स्वीकृत गरी रुख कटान तथा जग्गा प्राप्तिलगायतका कार्यलाई समयमै सम्पन्न गर्न आवश्यक सहजीकरण गरिदिन वन, अर्थलगायत सम्बन्धित मन्त्रालयलाई निर्देशन दिएको छ ।

बैठकले राष्ट्रिय गौरवको आयोजनाहरूलाई समयमा नै सम्पन्न गर्नका लागि सबै पक्षहरूबाट प्राथमिकता दिई आवश्यक सहयोग गर्न मन्त्रिपरिषदको कार्यालयलगायत सम्बन्धित मन्त्रालयलाई निर्देशन दिएको समिति सभापति रामहरि खतिवडाले जानकारी दिए ।

बैठकले फास्ट ट्रयाक निर्माणका सन्दर्भमा सेनाबाट माग भएबमोजिम आवश्यक प्राविधिक तथा अन्य सहयोग समयमा नै उपलब्ध गराउन र आवश्यक अन्तर निकाय समन्वयको सहजीकरका लागि पनि सरकारलाई निर्देशन दिएको सभापति खतिवडाले बताए । 

त्यस्तै बैठकले सार्वजनिक खरिद ऐन, नियमावलीअनुसार कामकाज गर्न र फास्ट ट्रयाकमा संलग्न ठेकेदारहरूसम्बन्धी विवादको विषयमा जानकारी लिने निर्णय गरेको छ भने आवश्यक समयमा आयोजनाको भ्रमण गर्ने निर्णय भएको सभापति खतिवडाले जानकारी दिए ।


Author

थप समाचार
x