समाज

स्थानीय उत्पादनको निर्यात क्षमता विकास तालिम सुरु

'अन्तर्रााष्ट्रिय बजारमा खपत योग्य स्थानीय उत्पादनलाई निर्यात योग्य बनाउन हामी सहयोग गर्छौं'

इकागज |
पुस २१, २०८० शनिबार १७:१४ बजे

काठमाडौँ- रैथाने सीपलाई उद्यमशील बनाउने, उद्यमलाई विकास गर्दै उत्पादनमा गुणस्तरीयता, आकर्षक प्याकेजिङ तथा प्रवर्द्धनको चक्रबाट अन्तर्राष्ट्रिय बजारमा पुर्याउन काठमाडौँ महानगरपालिकाले काम गरिरहेको उपप्रमुख सुनिता डंगोलले बताएकी छिन् । निर्यातमा काम गर्न इच्छुक २० जना वडावासीका लागि वडा नं. २३ ले आजदेखि सुरु गरेको ‘सम्भावित अन्तर्राष्ट्रिय बजार पहुँच’ विषयक ५ दिने तालिम उद्घाटन गर्दै उनले यस्तो धारणा राखेकी हुन् ।

‘अन्तर्राष्ट्रिय बजार योग्य उत्पादन (सामान) भइकन पनि आकर्षक प्याकेजिङ र प्रवर्द्धनको सीप नजानेका कारण उचित मूल्य र ठाउँ पाएका छैनन् । यस्ता उत्पादनको प्याकेजिङ, गुणस्तर कायम गर्ने विधि, बजारीकरणसम्बन्धी सीप प्रदान गर्दा निर्यातमा प्रोत्साहन हुने हाम्रो विश्वास हो,’ उनले भनिन् । 


'तालिमपछि सोच र जीवनशैलीमा परिवर्तन आउनेछ । उद्यम गर्ने शैलीमा सुधार भएर सहज हुनेछ । व्यापार सञ्जाल बढ्नेछ । यसबाट समग्र आयमा वृद्धि हुनेछ भन्ने अपेक्षा गरेका छौँ,' डंगोलले तालिमको नतिजा स्पष्ट पारिन् । 

दुई सय जना वडावासीलाई तालिम दिएर स्थानीय उत्पादनलाई निर्यातमा प्रोत्साहन गर्ने योजनाअनुरूप तालिम थालिएको वडा नं. २३ का अध्यक्ष एवं विधायन समितिका संयोजक मचाराजा महर्जनले जानकारी दिए । ‘पहिलो समूहमा २० जनालाई सहभागी गराएका छौँ । वडा-वडा हुँदै सबै महानगरवासीलाई आत्मनिर्भर बनाउन सीपमूलक तालिम दिन्छौँ । यसबाट आय र रोजगारीका लागि अवसर सिर्जना हुन्छन् । यी कार्यक्रम प्राथमिकतामा छन्,' महर्जनको भनाइ थियो ।

व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका उपनिर्देशक राजेन्द्र सिंहले तालिममा प्रस्तुतीकरण गर्दै सामग्री उत्पादन गर्दागर्दै त्यसका उपभोक्ताहरूलाई सामग्रीका विषयमा जानकारी दिने योजना बनाउनु पर्ने बताए । उत्पादित सामग्रीको उचित मूल्यका लागि उचित बजारमा पुर्याउनुपर्छ । यसको रणनीतिले निर्यात बढाउन सकिन्छ । उनको भनाइ थियो । 

तालिममा सहभागीमध्ये ४० प्रतिशत युवाका अभिभावक अहिले पनि कुनै न कुनै उत्पादन कार्यमा छन् । सहभागीले आफ्ना अभिभावकका उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा लैजान सहयोग गर्ने अपेक्षा गरिएको वडा सचिव प्रमोद अधिकारीले जानकारी दिए ।

तालिममा बजारको मागका विषयमा जानकारी तथा सूचना लिने, माग पूरा गराउन आवश्यक पर्ने उत्पादन प्रक्रिया र गुणस्तर कायम गराउने, आकर्षक प्याकेजिङ, लेभलिङ्ग, बजारीकरणको सीप, सामान निर्यात गरिने देशको वाणिज्य नीति, सामानको मूल्य निर्धारण, कर तथा सुविधा जस्ता विषयमा थाहा पाउने, उत्पादित वस्तुको मेला र प्रदर्शनी गर्नेलगायत विषयमा सैद्धान्तिक ज्ञान र व्यवहारिक सीप सिकाइनेछ । तालिम हरेक शनिबार बिहान ८ देखि अपरान्ह ४ बजेसम्म चल्नेछ । 

वडाले यसअघि सामाजिक विकासको काम गर्ने संघ संस्थाका प्रतिनिधिहरूलाई कार्यक्रम माग गर्ने, सञ्चालन गर्ने, प्रतिवेदन दिने, कार्यक्रम फर्छ्योट गर्ने प्रक्रियाका विषयमा अभिमुखीकरण तालिम र विपद् व्यवस्थापन क्षमता विकास तालिम सञ्चालन गरिसकेको छ । वडावासीको क्षमता विकास गराउन सञ्चालन गरिएको यो तेस्रो समूहको तालिम हो ।   


Author

थप समाचार
x