समाज

नागदेवता भन्दै दैनिक सैयौं मानिसले पूजा गर्ने सर्प मृत फेला

इकागज |
माघ २९, २०८० सोमबार १४:५५ बजे

फाइल तस्बिर

रौतहट- रौतहटको फतुवा विजयपुर नगरपालिका-३ स्थित नाग देवता भनेर दैनिक सैयौं मानिसले पूजा गर्दै आएको सर्प मृत फेला परेको छ । तीन साता अघिदेखि फतुवा विजयपुर वडा ३ मेवा गाउँ र टेंग्राहाको बीचमा नाग ( सर्प ) देखिएको थियो । सोमबार बिहान एक जना स्थानीयले उक्त सर्पलाई मृत अवस्थामा फेला पारेका हुन् । 

स्थानीय महिलाहरूले मृत सर्पप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् भने मृत सर्पलाई हेर्नेको घुइँचो लागेको छ । उक्त स्थानमा दैनिक बिहानैदेखि नाग देवताको दर्शन गर्नेहरूको भीड लाग्ने तथा दैनिक सयौं मानिसले पूजासमेत गर्दै आएको स्थानीय वीरेन्द्र यादवले बताए । 


नहर छेउको खेतको दुलोबाट दैनिक बिहान १० बजे निस्केर अपरान्ह ३ बजेसम्म एउटै स्थानमा बस्ने गरेको गाउँलेले बताएका छन् । उक्त सर्पलाई विज्ञहरूले मोनोक्लड कोब्रा भनेका थिए ।

स्थानीयको अनुरोधमा केही दिनअघि त्यहाँ पुगेकी मौलापुर नगरपालिकाकी मेयर रिनाकुमारी साहले उक्त स्थानमा नाग देवताको मन्दिर निर्माण गर्ने घोषणा गरेकी थिइन् ।

यस्तै नाग देवता भनेर मानिएको उक्त सर्प जस्तै केही समयअघि कटहरियामा पनि सर्प देखिएको थियो । उक्त सर्पलाई ब्लेक कोबरा भनिएको थियो ।

यसअघि जिल्लाको उत्तरी भेग गुजरा नगरपालिका अन्तर्गत जंगलमा नाग देवता देखिएको भन्दै दैनिक हजारौं मानिसको भीड लागेको थियो ।

गुजराका मेयर सन्तलाल चौधरीले नाग निस्कने स्थान पुलको छेउ जंगलमा मन्दिर निर्माणका लागि शिलान्यास गरेका थिए । शिलान्यासको केही दिनपछि उक्त स्थानमा एक महिनादेखि देखिँदै गरेको सर्प आउन छोडेपछि मन्दिर निर्माण हुनसकेन । न्युजकाराखाना


Author

थप समाचार
x