समाज

सिराहा-धनुषा गेष्ट हाउसमा प्रमिला दमाईको हत्या गरेको अभियोगमा प्रेमी पक्राउ

लामो समयदेखिको प्रेम सम्बन्ध, विवाह गर्न भनेपछि प्रेमिकाको हत्या

इकागज |
माघ २९, २०८० सोमबार १८:४८ बजे

सांकेतिक तस्बिर

काठमाडौँ- प्रहरीले काठमाडौँको विजय चोकस्थित सिराहा-धनुषा गेष्ट हाउसमा प्रमिला दमाईको हत्या गरेको अभियोगमा एक जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँले सोमबार पत्रकार सम्मेलन गर्दै प्रमिला दमाईको हत्या गरेको अभियोगमा दोलखा बैतेश्वर घर भइ काठमाडौँ बस्ने कुमार श्रेष्ठलाई पक्राउ गरेको जनाएको हो । गत शनिबार होटलमा एक महिला मृत फेला परेको भन्ने जानकारी प्राप्त भएपछि प्रहरी वृत्त गौशाला र जिल्ला परिसर काठमाडौँको संयुक्त टोलीले अनुसन्धान गरेको थियो ।


मृतक प्रमिला दमाई होटलमा एक पुरुषसँग बस्दै आएको प्रारम्भिक अनुसन्धानबाट खुलेको र थप अनुसन्धान गर्दै जाँदा होटलमा संगै बस्ने व्यक्ति कुमार श्रेष्ठ रहेको खुलेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी भूपेन्द्रबहादुर खत्रीले बताए ।

कुमार र प्रमिलाबीच लामो समयदेखि प्रेम सम्बन्ध रहेको र उक्त सम्बन्धका बारेमा दुवै परिवारलाई समेत जानकारी रहेको प्रहरीले जनाएको छ । प्रमिलाले कुमारलाई विवाह गर्न भने पनि नमानेको र त्यही विषयलाई लिएर पटक-पटक झगडा समेत हुने गरेको एसएसपी खत्रीले जानकारी दिए । त्यही विषयलाई लिएर प्रमिलाको घाँटीमा कसेर हत्या भएको अनुसन्धानबाट खुलेको उनले बताए ।

हत्या गरेर फरार भएका कुमार श्रेष्ठलाई काठमाडौँको बुद्धनगरबाट आइतबार पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रतिवादीबाट घटना हुँदा लगाएको टिसर्ट च्यातिएको अवस्थामा बरामद गरिएको छ भने घटना हुँदा प्रयोग गरिएको भनिएको टिसर्ट सिसीटिभीबाट समेत पुष्टि भएको प्रहरीले जानकारी दिएको छ । 


Author

थप समाचार
x