समाज

लुम्बिनीद्वारा सडक दुर्घटना न्यूनीकरण गर्न विज्ञ संलग्न कार्यदल बनाउने

इकागज |
फागुन १४, २०८० सोमबार १९:२९ बजे

देउखुरी- लुम्बिनी प्रदेशले सडक दुर्घटना न्यूनीकरणका लागि यान्त्रिक गडबडीका कारण हुने सवारी दुर्घटना न्यूनीकरण गर्न यातायात व्यवसायीले सवारी सञ्चालन गर्नुअघि अनिवार्य यान्त्रिक परीक्षण गर्ने व्यवस्था मिलाउने निर्णय गरेको छ ।

सोमबार देउखुरीको मसुरियामा लुम्बिनी प्रदेशका उद्योग तथा यातायात व्यवस्थामन्त्री सरोज थापा (रोज राणा) ले सरोकारवालाहरूसँग छलफल गरेर सवारी दुर्घटना न्यूनीकरणका लागि सवारी साधनहरूको यान्त्रिक परीक्षण गर्ने निर्णय गरेका हुन् ।


विगत केही महिना यता लुम्बिनी प्रदेशभित्र भएका सडक दुर्घटनाहरूको समीक्षा गर्दै संघीय सरकार, प्रदेश सरकार, स्थानीय तह, यातायात व्यवसायी, नागरिक समाज लगायतको सहकार्यमा लुम्बिनी प्रदेशभित्र यातायात प्रशासन सुधार गर्दै सडक दुर्घटना न्यूनीकरण गर्न प्रतिबद्धता जनाउने निर्णय गरिएको मन्त्री राणाले बताएका छन् ।

सवारी दुर्घटनाका घाइतेको उपचार खर्चबापत बीमा कम्पनीबाट पाउने रकम रु. ३ लाख बढाउने व्यवस्थाका लागि नेपाल बीमा प्राधिकरणसँग मन्त्रालयले समन्वय गर्ने निर्णय गरेको मन्त्री राणाले बताएका छन् ।

सार्वजनिक विद्यालय स्तरमा विद्यार्थीलाई लक्षित दुर्घटना न्यूनीकरणका लागि विद्यार्थी ट्राफिक सचेतना कार्यक्रम मन्त्रालयले निरन्तरता दिने निर्णय गरेको सचिव उमेश ढुङ्गानाले बताएका छन् ।

राजमार्गमा हुने सवारी दुर्घटना न्यूनीकरणका लागि सडकमा सिसिटिभी जडान, ऐना जडान, लाइडर गर्न, मापसे, लापसे परीक्षण गर्ने मेसिनको उपलब्धता गराउन मन्त्रालयले आगामी आर्थिक वर्षको वार्षिक बजेटमा व्यवस्था गर्ने निर्णय पनि भएको छ । सिसिटिभी जडानको कार्यका लागि आवश्यक परे यातायात व्यवसायीहरूसँग सहकार्यमा उक्त कार्य गर्ने व्यवस्था मन्त्रालयले मिलाउने सचिव ढुङ्गानाले बताए ।

यातायात प्रा.लि.ले दर्ता गरी नवीकरण नगरेका र सवारी साधन नभएका प्रा.लि.हरू खारेज गर्ने निर्णय भएको मन्त्री राणाले बताएका छन् । मन्त्रालयले यातायात प्रशासन सुधारका लागि समय समयमा यस प्रकृतिका छलफल र अन्तरक्रियात्मक कार्यक्रमलाई निरन्तरता दिने निर्णय पनि भएको छ ।

मन्त्री राणाले लुम्बिनी प्रदेशकी प्रमुख सचिव राधिका अर्याल, लुम्बिनी प्रदेश प्रहरीका प्रहरी प्रमुख (डीआईजी) कुवेरसिंह कडायत, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका प्रहरी प्रमुख श्यामबहादुर खत्री, त्रिशिद्धश्वरी राप्ती सार्वजनिक यातायात  प्रा.लि.का अध्यक्ष सुरेश हमाल, पश्चिमाञ्जल यातायात व्यवसायी प्रा.लि.का अध्यक्ष दधिराम खरेल लगायतको उपस्थिति रहेको थियो ।


Author

थप समाचार
x