समाज

डाक्टर बन्‍ने सपना बुनेकी गंगाकुमारीले हाँकिरहेकी नबिल बैंक डडेल्धुरा

अतिन आचार्य |
फागुन २५, २०८० शुक्रबार १०:५७ बजे

काठमाडौँ- सानोमा डाक्टर बन्‍न चाहन्थिन् उनी । गरिबी र अभावकै कारण आफ्नो लक्ष्यमा पुग्न सकिनन् । उनको सुख सुदूर र दु:ख समिपमा थियो । दुःख र अभावले जति पछ्याए पनि गंगाकुमारी ऐयरले पढाइलाई निरन्तरता दिइरहिन् । उनी मेहनत र लगनशीलताको पर्याय बनिरहिन् । उनको जीवनमा समयले कोल्टो फेर्‍यो जीवनले नयाँ दिशा पहिल्यायो ।

सुदूरपश्‍चिम डडेल्धुरा अजयमेरू गाउँपालिका-२ की ऐयर यतिखेर डडेल्धुराकै अमरगढीमा नबिल बैंकको ब्रान्च प्रमुख छिन् । जहाँ उनी मात्र छैनन् अन्य कर्मचारी पनि छन् । जसले सारा बागडोर सम्हालेकी छन् । बैंकमा बिहान ९ बजेदेखि साँझ ६ बजेसम्म रहन्छिन् । कोहीबेला हिसाबकिताबको कामले वा प्राविधिक रुपमा समस्या परेमा साँझ अबेरसम्म बस्नुपर्ने गंगाकुमारी बताउँछिन् ।


कामले नै काम सिकायो 
उनले एक दशकभन्दा बढी आफ्नो जागिरे जीवन बैंकिङ क्षेत्रमा व्यतित गरिसकेकी छन् । फलस्वरुप उनलाई नबिल बैंकले शाखा प्रमुख भएर आफ्नै गृह जिल्लामा जिम्मेवारी सम्हाल्न पुर्‍यायो ।

जागिरे जीवन काठमाडौँबाटै सुरु गरेकी उनले सुरूमा नेपाल बंगलादेश बैंकमा जुनियर असिस्टेन्टको रुपमा काम गरेकी थिइन् । उनी जागिरको शिलशिलामा विभिन्‍न ठाउँमा पुगिन् । महेन्द्रनगर र धनगढीमा केही समय बसिन् । चार वर्ष धनगढीमा बिताएकी ऐयरले अहिले भने शाखा प्रमुख भएर जिम्मेवारी सम्हाल्दै आएकी छन् ।

सेवाकै क्रममा विभिन्‍न ठाउँमा पुगेकी उनले डडेल्धुरामा पुग्दा फरक महसुस गरिन् तर अन्य बैंकमा शाखा प्रमुख महिला नभइ पुरुष छन् । उनी शाखा प्रमुख भएर त्यहाँ पुग्दा महिलालाई हेर्ने दृष्‍टिकोण बदलिएको बताइन् ।

यहाँका स्थानीयले महिला शाखा प्रमुख भएर पुगेकोमा आश्‍चर्य मानिरहेको उनले सुनाइन् । यहाँको समाजमा महिलालाई केही गर्न नसक्ने र घरको चुलोचुकौमा मात्र सिमित हुनुपर्छ भन्‍ने धारणा रहेको ऐयरले सुनाइन् ।

कामकै शिलशिला वा कार्यालयको काममा छलफल गर्दा महिलाको उपस्थितिलाई नरुचाउने समाज उनले भेटिन् । महिलाले राम्रो गर्न सक्दैनन भन्‍ने समाजमा आफूले सकरात्मक सन्देश फैलाउन सकेको उनलाई लागेको छ । ऐयरको डडेल्धुरामा उपस्थितिले आम मानिसको महिलाप्रति सोच्ने शैली परिवर्तन भएको छ । अन्य बैंकका शाखा प्रमुखमा पुरुष देखेकाले महिलाले काम गर्न सक्दैनन भनेर सुन्‍ने गरेको उनले बताइन् ।

‘मेरो लागि यो नौलो ठाउँ होइन् । यहाँको सामाजिक र सांस्कृतिक अवस्था बारेमा म जानकार छु  । यहीँ जन्मेको हुँ, काम गर्न गाह्रो छैन,’ ३६ वर्षीया ऐयरले इकागजसँग भनिन्,’ बैंकको नयाँ शाखा हो । सबैको साथ र सहयोगले काम सहजै गर्न सकिरहेको छु ।'

पुरुषमा भन्दा महिला कर्मचारीसँग सेवाग्राही सन्तुष्ट
डडेल्धुरामा जन्मेकी कर्मकै शिलशिलामा पुगेकी ऐयरले महिलाले  पाएको जिम्मेवारी छिटो पूरा गर्न सक्ने सुनेको बताइन् । उनी यतिखेर बैंकले दिएको जिम्मेवारी पुरा गर्न पुगेकी छन् । बैंकमा आउने सेवाग्राहीसँग महिला तथा त्यहाँको सामाजिक अवस्थाका बारेमा पनि छलफल गर्छिन् ।

पछिल्लो समय नबिल बैंकमा पुग्दा ऋण तथा अन्य काम छिटो सम्पन्‍न हुने गरेको ऐयरले पाएकी छन् । अन्य बैंकमा धेरै समय कुर्नुपर्ने तर उनी भएको बैंकमा सेवाग्राहीले छिटोछरितो सेवा पाउने गरेको उनलाई ग्राहकले भन्‍ने गरेको उनले दाबी गरिन्  ।

‘महिला भएर पनि गरेको काममा आममानिसप्रति विश्वास बढ्दै गएको छ,’ उनी भन्छिन्,’ पुरुष कर्मचारी भएका ठाउँमा झुलाउँछन् ग्राहकले महिला भएको ठाउँमा छिटो काम सम्पन्‍न हुने गरेको प्रतिक्रिया दिने गरेका छन् ।'

अरु बैंकबाट काम नभइ फर्केका ग्राहकहरू ऐयरको शाखामा पुग्छन् । ग्राहकलाई सहजीकरण गरी समाधान गरिदिने सेवाग्राहीले अनुभूति गरेकी छन् । ऋणको कामलाई लिएर आउने तथा फरक विषय लिएर प्रस्टसँग भनेर बुझाएर पठाउँदा उत्साहित भएर ग्राहक फर्कने गरेको उनले सुनाइन् ।

बैंक तथा डडेल्धुरामा उनले पाएको जिम्मेवारीलाई लिएर धेरैले प्रशंसा पाउँछिन् । सेवाग्राहीको भनाइ उदृत गर्दै उनी भन्छिन्,’ यतिको महिलाले अवसर र सहयोग पाएमा महिलाले सहजै काम गर्न सक्छन् । महिलालाई जिम्मेवारी दिएमा उदाहरणीय बन्‍न सक्छन् ।'

परिवारको साथ र सहयोग पाएकाले काम गर्न सहज भएको ऐयरको बुझाइ छ । दुई छोरा र छोरी धनगढीमा श्रीमान्‌ले हेर्ने भएकाले आफूले ढुक्कसँग काम गर्न पाइरहेको उनी बताउँछिन् । ‘श्रीमान्‌को साथ र सहयोगले काम गर्ने वातावरण पाएको छु । काम गर्ने मानिसलाई बाधा अवरोध पुर्‍याउन हुँदैन भनेर श्रीमान्‌को साथ छ ,’ उनले थपिन्, 'डडेल्धुरामा अझै पनि महिलालाई साथ सहयोग नदिएको सुनेको छु ।  महिलालाई काममा सधैँ प्रोत्साहन र हौसला दिएमा केही कदम अगाडि बढ्न सक्छन् । यहाँका महिलाले मलाई बैंकमा केटाले लगाउने लुगामा म्याम बस्नु भएको छ भनेर भन्थे ।'

महिलाले अवसर पाए काम गर्छन्
महिलामा शिक्षाको चेतना फैल्याउन सकेमा उनीहरूको जीवनस्तर माथि उक्लिने उनको बुझाइ छ । शिक्षाले मानिसको स्तर वृद्धि गर्नेमा उनलाई लागेको छ । कामको जिम्मेवारीले सन्तान परिवारबाट उनी टाढा छिन् । काम गर्नुपर्दा कहिल्यै जागिरे जीवनबाट दिक्दारी नभएको ऐयरले महसुस गरेकी छन् । महिला भएर केही गर्नुपर्छ भन्‍ने भावना जाग्दा जिम्मेवारीले सधैँभरी डोर्‍याइरहेको उनले बताइन् । 

‘महिलाले पनि अवसर पाएमा काम गरेर देखाउन सक्छन् भन्‍ने आभास दिलाउनु छ,’ उनले उत्साहित हुँदै भनिन्, 'काम गरेपछि मात्र प्रमाणित गर्न सकिन्छ । कामकै लागि भनेर सानो बच्चा र परिवारसमेत छाडेर टाढा बसेकी छु ।'

पुरुषले गर्ने काम महिलाले सक्छन् भन्‍ने उदाहरण प्रस्तुत गरिरहेको उनलाई लागेको छ । ‘बैंकिङ क्षेत्रमा एउटा विवाहित महिलालाई धेरै गाह्रो हुन्छ,’ उनले सुनाइन्, 'कार्यालय समयमा पुग्नुपर्छ । सन्तानलाई समय दिन पाइँदैन । परिवारको सबै कुरा मिलाएर पुग्दा पनि कोही बेला धेरै छुटिरहेको हुन्छ ।'

छोरीलाई पढाए घर बलियो
माइतीमा उनीसहित आठ जना सन्तान छन् । तीन दिदीबहिनी र पाँच दाजुभाइ छन् । परिवारमै सबैभन्दा बढी अध्ययन गर्ने सन्तानको रुपमा चिनिएकी छन् । ‘आमाले सबै सन्तानले गर्ने काम एक्लो छोरी तैँले गरेको भनेर भनिरहनु हुन्छ,’ आमाले भनेको सम्झिँदै उनी भन्छिन्, 'पाँच छोरी बराबरको काम एक्लै गरिरहेको छेस भन्‍नुहुन्छ ।'

घरमा पढ्न चाहने छोरीलाई जसरी पनि अभिभावकले पढाउनुपर्ने उनले सुझाव दिन्छिन् । छोरी पढेमा समाज र परिवारलाई शिक्षित राख्‍न सक्ने उनको बुझाइ छ । समाजलाई पढाउन नसकेमा परिवारलाई शिक्षाबारेमा राम्रोसँग बुझाउन सक्ने उनले तर्क राखिन् ।

डाक्टर बन्‍न कक्षा १२ मा विज्ञान संकाय लिएर पढिन् । केही महिना ब्रिज कोर्ष पनि गरिन । तर, आर्थिक अभावले आफ्नो लक्ष्यमा पुग्न सकिनन् । डाक्टर पढ्न 'प्लस टु'मा विज्ञान विषय लिएर पढे पनि आर्थिक अभावले नसकेको ऐयरले बताइन् ।

उनको सोचाइ र लक्ष्य बदल्यो उच्च शिक्षामा ऐयरले छात्रवृत्तिमा बीबीए पढिन् । अध्ययनमा एमबीएस सकेकी उनले शिक्षालाई ठूलो मानेकी छन् । उनी डडेल्धुरामा जन्मिए पनि सानैमा काठमाडौँ पढ्न आइन् । काठमाडौँको ज्ञानेश्‍वरको महेन्द्र भवनमा छात्रावृत्ति पाएर पढन आएको उनले बताइन् । 


Author

अतिन आचार्य

वैदेशिक रोजगार, जन-स्वास्थ्य र सामाजिक मामलामा कलम चलाउँने आचार्य संवाददाता हुन् ।


थप समाचार
x