समाज

आगलागीबाट जोगिन अनुरोध

इकागज |
चैत ४, २०८० आइतबार २१:३६ बजे

भोजपुर- सुक्खा मौसमसँगै हावाहुरी चल्ने र आगलागीका घटना बढ्ने भएकाले विशेष सावधानी अपनाउन नागरिकलाई अनुरोध गरिएको छ ।

जिल्ला प्रहरी कार्यालयले जिल्लामा पनि आगलागीका घटनामा वृद्धि हुँदै जान थालेको भन्दै विपद्जन्य घटना बढी हुनसक्ने भएकाले त्यस्ता घटना हुन नदिन र भइहालेमा पनि कम क्षतिमा नियन्त्रण गर्नका लागि जनस्तरबाटै सावधानी अपनाउन आग्रह गरेको हो । 


आगलागीका घटना नियन्त्रण र क्षति न्यूनीकरणका लागि नेपाल प्रहरी प्रयासरत रहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक सुदीपराज पाठकले बताए । उनले भने, 'सावधानी अपनाउन सकेमा जोगिन र  कम क्षतिमा नियन्त्रण गर्न सकिन्छ, यसतर्फ नागरिक पनि सचेत हुनु जरुरी छ ।' सावधानीका उपायसहित प्रहरीले जिल्लावासीलाई सचेतनाका लागि आग्रह गरेको छ ।  

प्रहरीले आगो उत्पन्न हुने सलाइ, लाइटर, ग्यास सिलिन्डर र चुल्हो बालबालिकाबाट टाढै राखी होसियारीपूर्वक प्रयोग गर्न तथा काम सकिएपछि सुरक्षित साथ राख्न अनुरोध गरेको छ । विद्युतजन्य सामग्री काम सकिएपछि बन्द गर्न, वनमा डढेलो नलगाउन, वनमा वनभोज गर्दा बालेको आगो र खाएको चुरोटका ठुटा पूर्णरूपमा निभाउन, बल्ने सामग्री बालबालिकाको पहुँचभन्दा टाढा राख्न, हावाहुरीको समयमा बाहिर आगो नबाल्न प्रहरीले आग्रह गरेको छ । 

आगलागी भएको जानकारी हुनासाथ प्रहरी कन्ट्रोल १०० र प्रहरी कार्यालयका सम्पर्क नम्बरमा खबर गर्न पनि जिल्ला प्रहरी कार्यालयले आग्रह गरेका छ । शनिबार भोजपुर नगरपालिका–१२ टक्सारको मालबाँसेमा वनमा लागेको डढेलो घर बस्तीमा आउँदा सात घर र १० गोठ जलेर नष्ट भएका थिए । जिल्लाको दक्षिण हतुवागढी गाउँपालिका–७ पात्लेपानीमा गोठमा आगो लाग्दा तीन बालबालिकाको जलेर मृत्यु भएको थियो ।


Author

थप समाचार
x