हाम्रा बोली-व्यवहार बालबालिकालाई देखाउनै नहुने छन्
लामो समयदेखि बालबालिकाहरू घरभित्रै बसिरहेका छन् । योभन्दा अगाडि उनीहरूको समय आधा घर र आधा स्कुलमा बित्ने गथ्र्यो । उनीहरूलाई के सिकाउने, कस्तो संस्कार दिने त्यो सबै स्कुलको टाउकोमा हालिएको थियो । तर, अहिले उनीहरूको अधिकांश समय घरमै बित्छ । यस्तो अवस्थामा अभिभावकले सिकाइ स्कुलमा मात्र हुँदैन घरमा पनि हुन्छ भन्ने कुरा बुझ्नुपर्छ । त्यसको लागि अभिभावकले केही तरिकाहरू जान्नु जरुरी छ । यो समयलाई मौकाको रुपमा लिनुपर्छ ।
यो समयलाई धेरै अभिभावकले बोझको रुपमा लिइरहेका छन् । घरमा राखेर अनलाइन कक्षाबाहेक अरु सिकाइ सिकाउन सकिरहेका छैनौँ । उनीहरूका कुरा सुन्ने, बुझ्ने र उनीहरूले गर्ने क्रियाकलापमा सहभागी हुन सकेका छैनौँ । उनीहरूसँग ‘क्लालिटी टाइम’ बिताउन सकिरहेका हुन्छौँ । बालबालिकाको लागि विद्यालय दोस्रो घर हो भनिन्छ । यसको मतलब अभिभावकसँग बस्ने ठाउँ उसको पहिलो घर हो ।
सिकाइका लागि दोस्रो घरभन्दा पहिलो घरको भूमिका अहम् हुन्छ । अहिले उनीहरू घरबाहिर निस्किन पाएका छैनन् । संवेगात्मक रुपमा उनीहरू कमजोर भएका हुन सक्छन् । यो बेला उनीमरूलाई डर त्रास फैलाउने भन्दा पनि बलियो बनाउतिर लाग्नुपर्छ । बालबालिकालाई राम्रोसँग हुर्काउनु भनेको एउटा पुस्ताको निर्माण गर्नु हो । हुकाइको प्रभाव हाम्रो व्यवहारमा पर्छ । हुकाइमा समस्या पर्ने बित्तिकै व्यवहारमा पनि समस्या आइहाल्छ ।
बालबालिकालाई अनुशासन सिकाउँदा मिसाउन नहुने कुरा
गाली
अभिभावकले बालबालिकालाई काम गह्राउँछन् र बिगार्यो भने गाली गर्छन् । गाली गर्दा बालबालिकाको उमेर भनेको सिक्ने उमेर हो भनेर बिर्सिन्छन् । सिक्ने उमेरमा गल्ती हुन्छ । गल्ती नगरी सिकिदैन । गल्ती नभइ सिकाइ हुँदैन । त्यसैले हामीले बालबालिकालाई गाली गर्नु भनेको तिमीहरूले ‘गल्ती गर्न पाउँदैनौँ’ भन्नु हो । त्यसको अर्थ ‘सिक्न पाउँदैनौँ’ भन्नु हो ।
आमाबाबु बीचको असहमति
आमाबाबु बीचको असहमति छोराछोरी माझ व्यक्त गर्नु हुँदैन । प्रायः अभिभावक आफ्नो दाम्पत्य जीवनको असहमति छोराछोरीमाथि पोख्छन् । त्यो उनीहरू दुई बीचको समस्या हो, छोराछोरीको समस्या होइन । आफ्नो समस्या बालबालिकामाथि थोपर्दा त्यसले संवेगात्मक असर गर्छ भन्ने कुरा धेरै अभिभावकलाई थाहा हुँदैन । यो कुरामा विचार पुर्याउनु जरुरी छ ।
नभनिएको कुरा
कहिलेकाहीँ हामीले नभनिएका कुरा पनि बालबालिकाबाट अपेक्षा गरिरहेका हुन्छाँै । जुन चिज हामीले उनीहरूलाई भनेकै छैनौँ, त्यसको आश नगरौँ । उनीहरू भर्खर सिक्दै गरेका हुन्छन् ।
लोभ
अभिभावकहरू बालबालिकाको प्रगतिमा बढी लोभ गर्छन् । ६० प्रतिशत ल्याउँदा ८० ल्याएको भए हुन्थ्यो, ‘बी’ ल्याउँदा ‘ए’ ल्याइदिए हुन्थ्यो, फेल हुँदा पास भए हुन्थ्यो भन्ने अपेक्षा राख्छन् । हामीले आफ्ना बालबालिकाको क्षमता जति छ त्यहिअनुसार आश गर्नुपर्छ । उनीहरूले कति नम्बर वा ग्रेड ल्याए होइन, कति प्रयास गरे त्यसको सम्मान गर्नुपर्छ ।
तु्लना
धेरैजसो अभिभावकले आफ्ना बालबालिकालाई अरुसँग तुलना गर्छन् । आफ्नै दुई सन्तानबीच होस् वा छिमेकीका बच्चाबीच होस् तुलना गरेको पाइन्छ । ‘दाइले यस्तो गर्यो तैले गर्न सकिनस्’, ‘बहिनीले यस्तो गर्यो तैले गर्न सकिनस्’, ‘छिमेकीले यसो गर्यो तैले गर्न सकिनस्’ भनेर कहिल्यै तुलना गर्नुहुँदैन । उनीहरूको आफ्नै सिक्ने शैली हुन्छ । एउटा बच्चा अर्कोसँग मिल्दैन । तर, हामी मिलाउन खोज्छौँ । अरुको बच्चाले जे गर्यो त्यही गर्नुपर्छ भन्ने सोच्छौँ । उनीहरूको सीप, कौशल र क्षमतालाई विचार गरेर उनीहरूले जे गर्न चाहन्छन् त्यो गर्न दिनुपर्छ । किनभने, उनीहरूलाई तुलना गरेको मन पर्दैन ।
पिटाइ
पिटाइले तत्कालको लागि व्यहार सुधार्छ । यो क्षणिक सुधार हो । तर, सिकाइको लागि पिटाइ दीर्घकालिन समाधान भने होइन । जो पिटाइ खाएर हुर्केको छ, ऊ पछि पनि पिट्ने नै भएर निस्किन्छ । शारीरिक रुपमा आक्रामक भएर निस्किन्छ । भोलिको दिनमा त्यस्तै आक्रामक छोराछोरी बनाउने हो बालबालिकालाई पिटौँ, नत्र नपिटौँ ।
आफूले चाहिँ गर्ने, बालबालिकालाई चाहिँ गर्न नदिने
बालबालिकालाई टिभी हेर्नु हुँदैन भन्छौँ, हामी हेर्छौँ । उनीहरूलाई फेसबुक चलाउनुु हुँदैन भन्छौँ, हामी चलाउँछौँ । तिमीहरूले जंकफुड खान हुँदैन भन्छौँ, आफै खान्छाँै । आफूले गर्ने उनीहरूलाई गर्न नदिने गर्दा गलत खालको म्यासेज जान्छ । सानोमा गर्नुहुँदैन रहेछ ठूलो भएपछि गर्नुहुँदो रहेछ भन्ने सोच्न थाल्छन् उनीहरू ।
डर, त्रास र धम्की
डर, त्रास र धम्की बालबालिकाको संवेगात्मक विकाससँग जोडिएको हुन्छ । शारीरिक रुपले बालबालिका ठिक भएपनि संवेगात्मक रुपमा पिडित भएको पाइन्छ । डर, त्रास र धम्कीका कारण बालबालिकाले सिकाइमा ध्यान दिन सक्दैनन् । त्यसले बालबालिकाको व्यहवार कहिल्यै सुधार्दैन ।
बालबालिकालाई बिगार्नु छ भने यति गरे पुग्छ
सत्य बोल्दा पनि गाली गर्ने
कुनै गल्ती गर्दा बालबालिकाले ‘मैले गरेको’ भनेर सत्य बोल्दा पनि हामी गाली गर्छौँ । हाम्रो समस्या यहाँनेर छ । जसको कारण अर्को समयदेखि उनीहरूले झुटो बोल्न थाल्छन् । गल्ती जेसुकै होस्, उसले सत्य बोलेको छ भने सम्मान गर्नुपर्छ । तबमात्रै उनीहरूले ढाट्दैनन् । सत्य बोल्दा अभिभावकहरूले स्विाकार नगर्दा उनीहरू ढाँट्न थाल्छन् ।
अरुको अगाडि हप्काउने
बालबालिकालाई अरुको अगाडि हप्काएको मन पर्दैन । केही कुरा भन्नु छ भने ‘पब्लिक्ली’ होइन ‘प्राइभेट्ली’ भन्नुपर्छ । उनीहरूलाई एक्लै राखेर सम्झाउँदा मजाले बुझ्छन् । सबैको सामु हप्काउँदा आफूलाई अपमान भएको महसुस गर्छन् ।
प्रोत्साहनभन्दा बढी निर्देशन दिने
हामी आफू पढ्दैनौँ, पढ भनेर निर्देशन दिन्छौँ । आफू सरससफाई गर्दैनौँ, सफा गर भनेर निर्देशन दिन्छाँै । काम गर्नको लागि उनीहरूलाई प्रेरणाभन्दा निर्देशन दिने हाम्रो बानी हुन्छ । राम्रो काम गर्दा त्यसबापत् प्रेरणा र हौसाला दिदैनौँ । निर्देशन दिएर हुर्काएको बच्चाले भोलिको दिनमा आफूपनि काम नगर्ने तर, निर्देशन दिने भएर निस्किन्छ । निर्देशन दिँदा लुकाएर, ढाँटेर जसरी भए पनि काम फत्ते गर्न खोज्छ । प्रोत्साहन दिन खोज्दा काम सक्न भन्दा पनि प्रयास गर्न थाल्छ । हामीले बालबालिकालाई उपदेश दिने होइन, उदाहरण बन्ने कोसिस गर्नुपर्छ ।
विकल्प नदिने
बालबालिकाहरूले ‘बाहिर खेल्न जान्छु’ भन्दा ‘नजानू’ मात्रै भन्छौँ । त्यसको विकल्पमा के गर्ने उपाय दिदैनौँ । नखाऊ, नजाऊ, नगर भन्नुभन्दा पहिला विकल्पबारे सोच्नुपर्छ । विकल्प नदिँदा बालबालिकाहरू अटेरी हुन थाल्छन् ।
प्रश्नका छोटा र चिढिने खालका उत्तर दिने
उनीहरूले सोधेका प्रश्नको छोटो र चिढिने जवाफ दिनुहुँदैन । बालकालिकाले सोधेको प्रश्नको जवाफ धेरै अभिभावकले छोटो र चिढिने किसिमले दिन्छन् । जसकारण उनीहरू रिसाएर बस्छन् । बालबालिकालाई उनीहरूले गरेको प्रश्नको बुझ्ने किसिमले उत्तर दिनुपर्छ । उनीहरूसँग लामो संवाद गर्नुपर्छ । उनीहरूसँग जति लामो संवाद गर्यो, उनीहरूले त्यतिधेरै छिटो जान्दछन्, बुझ्दछन् । (युलेन्स स्कुलका प्रिन्सिपल लामिछानेसँग इकागजकर्मी सृजना खड्काले गरेको कुराकानीमा आधारित)
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया