समाज

'खोज पत्रकारिता छुट्टै विधाको रूपमा चिनिन थालिसक्यो'

इकागज |
जेठ २९, २०७८ शनिबार १३:४३ बजे

काठमाडौँ : नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्ष शिव गाउँलेले पत्रकारिता र खोज पत्रकारिता एउटै नभई फरक विधाका रुपमा स्थापित भएको बताएका छन् । पत्रकार महासङ्घ तनहुँ शाखाले शनिबार भर्चुअल माध्यमबाट आयोजना गरेको पत्रकारितामा खोजका मुद्दा विषयक तालीममा  गाउँलेले सामान्य बेलामा गर्ने भन्दा खोज पत्रकारिता फरक पाटो रहेको उल्लेख गरे । 

'भित्रसम्म गएर खोतल्ने र अनुसन्धान गर्ने विधा खोज पत्रकारिता हो, आजभोलि खोज पत्रकारितामा छुट्टै विधाको रुपमा चिनिन थालेको छ,' गाउँलेले भने,'कसैले दिएको सूचना सार्वजनिक गर्नु खोज पत्रकारिता होइन, पत्रकारले आफैँले मिहेनत गरेर सार्वजनिक गरेको विषयवस्तु खोज पत्रकारिता हो ।'


खोज पत्रकारिता चुनौतीपूर्ण रहेको उल्लेख गर्दै गाउँलेले यसका लागि समय, स्रोत   र ज्ञान आवश्यक पर्ने बताए । 'खोज पत्रकारिताले समय बढी माग गर्छ, साधन स्रोतको माग गर्छ,' गाउँलेले भने,'राम्रो रिपोर्ट बनाउन समय र पैसा दुवै चाहिने भएकाले खोज पत्रकारिता सामान्य विधा हो भन्दा भन्दै पनि फरक विधाका रुपमा स्थापित भइसकेको छ ।'

गाउँलेले खोज पत्रकारिता गर्ने क्रममा पत्रकार एकदमै संवेदनशील हुनुपर्ने चर्चा गर्दै निजी मामिलामा प्रवेश गरी गालीबेइज्जती हुने खालका पत्रकारिता गर्न नपाइने बताए । गाउँलेले खोज पत्रकारिता भनेको के हो, खोज पत्रकारिता गर्ने तरिका,  माध्यम, खोज पत्रकारिताका सीमा र खोज पत्रकारिता विषयका बारेमा प्रकाश पारे ।  


Author

थप समाचार
x