समाज

काठमाडौँबाट चार पाकिस्तानी पक्राउ

इकागज |
चैत २३, २०८० शुक्रबार १८:८ बजे

काठमाडौँ- श्रीलंकन नागरिकहरूलाई वैदेशिक रोजगारको लागि युरोपियन देश पठाइदिने भन्दै नेपालमा ल्याएर बन्धक बनाएको अवस्थामा चार पाकिस्तानी पक्राउ परेका छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पाकिस्तानी नागरिकहरू ५७ वर्षीय जुबेर अम्जाद, ४२ वर्षीय शाहजेहान तानबिर, ६१ वर्षीय मलिक अब्दुल हमिद र ४४ वर्षीय आरिफ मसिह पक्राउ गरेको हो । 


श्रीलंकन नागरिकहरूलाई क्यानडा, रोमानिया, ग्रिस लगायतका देशहरूमा पठाई दिने विश्वास दिलाई श्रीलंकाबाट नेपाल ल्याई उपत्यकाका विभिन्न स्थानहरूमा रहेका होटलमा राखेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार उनीहरूले पीडितहरूको पासपोर्ट नियन्त्रणमा लिई विभिन्न किसिमका धाकधम्की दिई, कुटपिट गर्नुका साथै आफन्तसँग सम्पर्क गर्न नदिई साथमा रहेको नगद समेत लिई जबर्जस्ती बन्धक बनाई राखेका थिए ।

बन्धक रहेका श्रीलंकन नागरिकलाई प्रहरीले चैत २२ गते सकुशल उद्धार गरेको छ। पक्राउ परेका पाकिस्तानी नागरिक उपर अपहरण तथा शरीर बन्धक लिन नहुने कसुरमा आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर, टेकु पठाइएको छ।


Author

थप समाचार
x