समाज

रिपोर्टिङमा गएका पत्रकारले जब आफ्नै बुवाको शव देखे…

इकागज |
चैत २३, २०८० शुक्रबार २१:५३ बजे

फाइल तस्बिर

बैतडी- बैतडीको खोडपे बजारमा रहेको स्थानीय रेडियो सेभेन स्टारमा कार्यरत कृष्ण विष्ट समाचार प्रमुख हुन् । शुक्रबार एकाबिहानै उनी रेडियोमा पुगे । रेडियोमा पुगेलगत्तै खोड्पेबाट बझाङ जाने सडकमा ट्याक्टर दुर्घटनामा दुई जनाको मृत्यु भएको खबर आयो ।

उनले उक्त खबरको बारेमा प्रहरीलाई सबै विवरण मागे । प्रहरीले ट्याक्टर दुर्घटनाको सबै विवरण दियो पनि । प्रहरीले दिएको सूचनामा ट्याक्टर चालक राजेश चौधरी र एक जना सनाखत हुन नसकेको व्यक्तिको मृत्युको खबर उनले आफैँ लेखे, त्यो खबर आफ्नो रेडियोमा पढे पनि । उक्त समाचार आफू कार्यरत स्टार बुलेटिन नामक अनलाइनमा प्रकाशित गरे । साथै आफू सम्वाददाता रहेका अनलाइन सञ्चार माध्यम पनि पठाए ।


समाचार अनलाइनमा प्रकाशित भयो, टीभीमा बज्यो । तर, कृष्णको पत्रकारिताको सक्रियता त्यत्तिकैमा सकिएन । उनले घटनास्थल जाने निधो गरे । घटनाको प्रारम्भिक खबर सबैतिर गइसकेको थियो । मोटरसाइकल समाते र घटनास्थलतिर लागे । खोडपेबाट झण्डै ६/७ किलोमिटरको दूरीमा रहेको दुर्घटनास्थल झौलेक मोडमा उनी पुगे ।

उनले दुर्घटनाग्रस्त ट्याक्टरको तस्बिर खिचे । चालक र नजिकैको रुखमा अंगालो हालेर रक्ताम्मे भएका सनाखत हुन नसकिएका भनिएका व्यक्तिको पनि तस्बिर आफ्नो क्यामेरामा कैद गरे । दुर्भाग्यवश रुखलाई अंगालो हालेर रक्ताम्मे अवस्थामा भेटिएका व्यक्ति अरू कोही नभइ उनकै बुवा हुन्छन् । उनले तस्बिर खिचेर सडकमा आइसकेपछि मात्रै त्यो तस्बिर बुवाको नै भएको थाहा पाएका थिए ।

दुर्घटनामा घाइते भएकाले उनले गुहारका लागि रुखलाई अंगालो हालेको अनुमान लगाउन सकिन्छ । आसपासमा रगत धेरै बगेको थियो । उनलाई त्यो रक्ताम्मे शरीर आफ्नै बुवाको हुनसक्ने कल्पना नै थिएन । किनकि उनका बुवा काठको ठेक्कापट्टाको काम गर्थे ।

विष्टका बुवा केही दिनदेखि त्यही क्षेत्रको फिल्डमा थिए । घर आउने क्रममा पक्की सडकमा दुर्घटना भएको थियो । बुवाले आफू घर आइरहेको खबर पनि गरेका रहे न छन् ।

घटना स्थलमा रहेका अर्का पत्रकार सिपि लोहिया भन्छन्, 'आफैँले रिपोर्टिङ गरेर सडकमा आएपछि सनाखत हुन नसकेका व्यक्ति आफ्नै बुवा हुन् भन्ने थाहा भयो । अनि ऊ (कृष्ण) सडकमै ढल्यो । सम्हाल्न गाह्रो भइरहेको छ ।'

५५ वर्षीय विष्ट खोडपे आसपासको सामुदायिक वनमा काठको ठेक्कापट्टा गर्थे । कहिले घर त कहिले वनतिर हुने भएकाले उनको घर आउनेजाने ठेगाना हुँदैनथ्यो । 'घर आउने खबर गरेको भए सायद दुर्घटनाको जानकारी राति नै आउने थियो । खोजबिन गर्दा घाइते भएका बुवा बचाउन सकिन्थ्यो,' पत्रकार लोहीयाले भने, 'पत्रकार, आफैँले बुवाको शवको रिपोर्टिङ गरे ।'

प्रहरीले पनि कुनै गाडीलाई साइड दिने बेला किनारातिर रहेको ट्याक्टर खसेको हुनसक्ने अनुमान गरेको छ । दुर्घटना भएको ठाउँ नजिकको भीत्तातिर गाडी घस्रिएको निसान रहेको प्रत्यक्षदर्शीले बताएका छन् ।

सुर्नयाबाट खोडपे गइरहेको से २ त ३६७८ नम्बरको टयाक्टर बिहीबार राति ११ बजेतिर जयपृथ्वी सिंह राजमार्गको पाटन नगरपालिका-८ झौलेक मोडमा दुर्घटना भएको थियो ।


Author

थप समाचार
x