समाज

नेपाली सेनाको हिमाल सफाइ टोली स्याङ्गबोचेमा

इकागज |
बैशाख २, २०८१ आइतबार १७:४१ बजे

काठमाडौँ- सगरमाथा, ल्होत्से तथा नुप्त्से हिमाल सफाइका लागि १२ सैनिक र १ शेर्पा सरदारसहित १३ जनाको सफा हिमाल अभियान-२०२४ मा संलग्न रहने टोली नेपाली सेनाको हवाई साधनमार्फत स्याङ्गबोचे इलाकामा अवतरण भएको छ ।

अभियानलाई प्रभावकारी बनाउन स्थानीय जनसमुदायहरूसँग अन्तर्क्रिया गर्दै करिब ७ दिनको पदयात्रापश्चात् सो टोली सगरमाथा आधार शिविर पुग्ने योजना रहेको छ । पदयात्राका क्रममा सचेतना अभिवृद्धि तथा अभियानको प्रचारप्रसारका लागि पदमार्गको सरसफाइ समेत गरिनेछ । 


एन एन्डेवर टु सेभ द हिमालयज भन्ने मूल थीमका साथ सञ्चालन हुन गइरहेको यस अभियान अन्तर्गत सगरमाथा, ल्होत्से तथा नुप्त्से हिमालका विभिन्न क्याम्पहरूबाट करिब १० टन फोहोर र ५ वटा मानव शव सङ्कलन गर्ने लक्ष्य लिइएको नेपाली सेनाले जनाएको छ ।

यसअघि गत बिहीबार जङ्गीअड्डामा आयोजित एक समारोहमा प्रधान सेनापति प्रभुराम शर्माले क्याम्पेन लिडर सेनानी आदित्य कार्कीलाई क्याम्पेन फ्ल्याग हस्तान्तरण गरी अभियानको थालनी गरेका थिए ।


Author

थप समाचार
x