समाज

पहिरोबाट ज्यान गुमाउनेको परिवारलाई राहत

इकागज |
असार २९, २०७८ मंगलबार ७:५९ बजे

फाइल फोटो

तनहुँ : पहिरोबाट ज्यान गुमाउने तनहुँको बन्दीपुर गाउँपालिका–३ तामुङका पीडित परिवारलाई सङ्घ सरकारको तर्फबाट राहत वितरण गरिएको छ । गत असार १७ गतेको पहिरामा पुरिएर मृत्यु भएका दुई परिवारलाई सङ्घ सरकारको तर्फबाट सोमबार रु चार लाख राहत वितरण गरिएको हो । 

तनहुँ क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य कृष्णकुमार श्रेष्ठ र प्रमुख जिल्ला अधिकारी सागर आचार्यले पीडितको घरमै पुगी जनही रु दुई लाखका दरले राहत रकम वितरण गरेका हुन् । सो क्रममा प्रतिनिधिसभा सदस्य श्रेष्ठले मानिसको जीवन पैसासँग तुलना गर्न नमिले पनि पीडित परिवारको साथमा सरकार छ भन्ने अनूभुति गराउन राहत वितरण गरिएको बताए । 


पहिरामा परी उक्त ठाउँका ३० वर्षीया सरस्वती थापा र ७० वर्षीया हरिमाया सर्किनीको मृत्यु भएको थियो । यसअघि गण्डकी प्रदेश सरकारले पनि प्रतिमृतक रु ५० हजारका दरले राहत रकम प्रदान गरिसकेको छ । 

पहिरोमा मृत्यु भएकाका परिवारलाई जनही रु दुई लाखका दरले राहत वितरण गर्ने प्रावधानअनुरुप ऋषिङका पीडितलाई पनि केही समयपछि राहत उपलब्ध गराइने बताइएको छ । गत यही १७ र २४ गतेको पहिरामा पुरिएर बन्दीपुरमा दुई र ऋषिङमा दुई जनाको मृत्यु भएको छ । 

गाउँपालिकाको राहत

यसैगरी ऋषिङ गाउँपालिकाले पहिराबाट मृत्यु भएका परिवारलाई राहत रकम प्रदान गरेको छ । गत असार २४ गते पहिरामा परेर मृत्यु भएका दुई जनाका परिवारलाई गाउँपालिकाले जनही रु ५० हजारका दरले राहत रकम वितरण गरेको हो । 

ऋषिङ–७ निवासी ५२ वर्षीया देवीसरा थापा र ऋषिङ–८ माझकोट निवासी ४० वर्षीय खुमबहादुर आलेको परिवारलाई गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले सोमबार राहत रकम हस्तान्तरण गरे । बाढीपहिराले ऋषिङमा अकल्पनीय क्षति पु¥याएको उल्लेख गर्दै अध्यक्ष श्रेष्ठले पीडितको साथमा स्थानीय सरकार रहेको बताए ।  

बाढी पहिराले ऋषिङका विभिन्न स्थानमा सडक अवरुद्ध भएको गाउँपालिकाका प्रवक्ता विजय दरैले जानकारी दिए । साथै पोल ढल्दा विभिन्न ठाउँमा विद्युत् अवरुद्धसमेत भएको छ । रासस
 


Author

थप समाचार
x