समाज

एक दशकमा आधा संख्या घट्‍यो

किन घट्दैछ राउटेको जनसंख्या

लक्ष्मी भण्डारी |
साउन २६, २०७८ मंगलबार १६:२६ बजे

सुर्खेत - असारको अन्तिम साता राउटे समूदायका सात महिने बच्चा मयो शाहीको निधन भयो । आफ्नो समूदायका कुनै सदस्यको मृत्यु भएमा बसाइ सर्ने राउटे समुदाय यस पटक भने सरेनन् । बच्चाको निधन भएको एक सातापछि सोही समूदायका ३४ वर्षीय दलबहादुर शाहीको निधन भयो । बच्चा भएकोले बस्ती नसरेको राउटे समूदाय युवा दलबहादुरको निधन भएपछि राउटे समूदाय बसाई सर्ने तरखरमा थियो । बसाई सर्ने तयारी गरिरहेकै बेला २१ षर्षीय मानसिंङ शाहीको पनि मृत्यु भयो । लगातार तीन जनाको निधन भएपछि राउटेहरू अर्को ठाउँमा बसाई सर्ने तयारीमा छन् ।

राउटे युवा दलबहादुरको मृगौलामा समस्या थियो । अन्तयाधिक मदिरा सेवन गर्न थालेपछि उनको मदिराकै कारण ज्यान गएको हुन सक्ने राउटे बस्तीमा काम गर्दै आएका स्वास्थ्यकर्मी तिलक बिसीले बताए । ‘मृत्यु भएका दुवै युवाहरूले धेरै मात्रामा मदिरा सेवन गरिराख्थे । खाना भन्दा मदिरा सेवन धेरै हुनु नै उनीहरूको मृत्युको प्रमुख कारण हो’ उनले भने, ‘यी दलबहादुर सुन्निएका थिए भने मानसिङ खाना खान मन नगर्ने र दुब्लाउदै गएका थिए ।’ उपचार गर्न हस्पिटल जाऔ भन्दा राउटे समूदायले नमानेको बिसीले बताए । 


बिसीका अनुसार राउटे समुदायमा बालबालिकाहरू कुपोषण र स्याहारका कमी र युवाहरू मदिरा सेवनका कारण ज्यान जाने गरेको छ । ‘आज बच्चा जन्मियो त्यो बच्चालाई दिनभरी झुपडीमै छोडेर राउटे महिला जंगल जान्छन्’ उनले भने, ‘न बच्चाको स्याहार छ न त सुत्केरी आमाको नै ।’तीन वर्षको अवधिमा राउटे समूदायका ९ जना बच्चाहरू स्याहारको कमीका कारण ज्यान गुमाएको बिसीले बताए । ‘म राउटे बस्तीमा स्वास्थ्यकर्मीको रूपमा काम गर्न थालेको तीन वर्ष भयो । यो अवधिमा धेरै बच्चाहरू स्याहार सुसारको कमीका कारण ज्यान गुमाएको देखेको छु’ बिसीले भने, ‘यस्तै हो भने राउटे समुदायको अस्तित्व संकटमा पर्ने सम्भावना छ ।’

एक दशकमा आधा जनसंख्या घट्यो
विगत एक दशकअघि राउटे उत्थान प्रतिष्ठानका अध्यक्ष एंव राउटेहहरूकी भान्जी सत्यदेवी अधिकारी राउटे बस्तीमा पुग्दा राउटेहरूको संख्या दुई सय ६८ थियो । अहिले त्यो संख्या घटेर एक सय ३७ पुगेको छ । वर्षेनि राउटेहरूको संख्या घट्दै गइरहेको प्रतिष्ठानका अध्यक्ष अधिकारीले बताइन् । एक दशकको अवधिमा मात्र एक सय ३१ जना राउटेहरुको संख्या घटेको देखिन्छ । 

‘म राउटेहरूको भान्सामा बसेर उनीहरूसँगै रहेर उनीहरूको संख्या लिएको हो’ उनले भनिन्, ‘तर अहिले आधा संख्यामा घटेका छन् उनीहरू ।’ यसरी राउटेहरूको संख्या घट्दै जाने हो भने राउटे समूदायको अस्तित्व नै हराएर जाने सम्भावना रहेको अधिकारीले बताइन् । 

यसरी संकटमा परे राउटे समुदाय
जंगलमा फिरन्ते जीवन बिताउने राउटे समूदाय पछिल्लो समय आधुनिकतातर्फ आउन थालेपछि संकटमा पर्न थालेका छन् । उहीले समूदायबाट अलग्गै बस्थे । काठका विभिन्न सामाग्रीहरू बनाएर आफ्नो जिविका चलाउथे । जंगलमा कन्दमुल तथा विभिन्न जडिबुटी ल्याएर खान्थे । गुना बाँदरको शिकार गर्ने गर्थे । पैसा छोए पाप लाग्छ भन्ने उनीहरू प्रकृतिमै रमाएका थिए । जसका कारण उनीहरू बिरामी परे पनि जडिबुटीले निको भइहाल्थ्यो । उतिबेला बिरामी कम पर्थे ।

बाह्रैमास घलेकको भरमा आधा जीउ ढाक्ने राउटेहरूलाई पछिल्ला केही वर्ष यता गर्मी र जाडो दुबैले उत्तिकै सताउने थालेको छ । राउटेले चिसोमा ह्वात्तै चिसो, गर्मीमा ह्वात्तै गर्मीको महसुस गर्ने गरेका छन् । मानवको तीब्र बस्ती विकासले आफूहरूको जङ्गल विनाश हुदै गएको राउटेको गुनासो छ । जङ्गल मासिँदा बाँदर, गिठा, भ्याकुरजस्ता कन्दमूलसमेत भेटिन छाडेका छन् भने परम्परागत पेशासमेत सङ्कटमा पर्न थालेको छ । राउटे मुखिया महिनबहादुर शाहीका अनुसार पहिले ज्वरो, निमोनिया, आउँ हैजा, पखाला, केही रोग लाग्थेन । पछिल्ला केही दशक यता उनीहरूको स्वास्थ्य निकै कमजोर बनेको छ । रोगले कतिपयको त अकालमै मृत्यु भरहेको छ । 

घनाजङ्गलमा बस्न रुचाउने राउटेहरू अचेल अन्य समुदाय नजीक र शहरबजार आसपासमा बस्न थालेका छन् । कन्दमुल, गिठा, भ्याकुर र गुना बाँदर खाने राउटे समूदाय अहिले विभिन्न किसीमका मदिरा र विषादी हालेका खानेकुराहरु खान थालेका छन् । 

राउटे समूदायमा काम गर्ने नाममा विभिन्न थरीका संघ संस्थाहरु भित्रिन थालेका छन् । यसबाट उनीहरु संकटमा रहेका छन् । यति मात्र होइन पैसा छोय पाप लाग्छ भन्ने राउटे समुदायमा पछिल्लो समय ‘पैसा मोह’ बढेको छ ।  जब यिनिहरुको हातमा पैसा आउन थाल्यो र राउटे बस्तीमा विभिन्न बाहनामा बाहिरका व्यक्तिहरु प्रवेश गर्न थाले तबदेखि यिनिहरु मदिराको लतमा लागे । बस्तीमा पुग्ने जो कोहीसँग मदिरा र पैसा माग्न थाले । यसरी उनीहरुको बस्तीमा मदिरा सहजै पुग्यो । 

अघिल्लो आर्थिक वर्षबाट उनीहरूले प्रतिव्यक्ति पाँच हजार भत्ता पाउँछन् । हातमा पैसा आयो भने उनीहरू मदिरा बढी खान थालेका छन् । भत्ता वितरणमा सहजता ल्याउने उद्देश्यले दैलेखको गुँरास गाउँपालिकाले स्थायी परिचयपत्र वितरण गरेको छ भने दैलेखको सोसेक संस्थाले राउटे बस्तीमा पढाउने शिक्षक र स्वास्थ्यकर्मी परिचालन गरेको छ । 

राउटेहरू रुपान्तरणको क्रममा रहेकाले पनि यो अवस्थामा उनीहरू संकटमा रहने सामाजिक विकास मन्त्रालयका महिला विकास अधिकृत अनिता ज्ञवालीले बताइन् । ‘पहिला उनीहरू प्रकृतिमै रमाएका थिए विस्तारै परिवर्तन हुन थालेका छन् । परिवर्तनको अवस्थामा रहेकोले पनि संकटमा रहेका हुन्’ उनी भन्छिन्, ‘उनीहरूले पाएको भत्ता मदिरा खाने भएको कारण भत्ताको सट्टा आवश्यक सामाग्रीहरू नै दिएमा प्रभावकारी हुन सक्छ । यस विषयमा छलफल गर्नु आवश्यक छ ।’

यता आन्तरिक मामिका तथा कानुन मन्त्री सीता नेपालीले राउटे नीति ल्याउन लागेकाले यसबाट उनीहरूको अधिकारलाई संरक्षण हुने बताइन् । ‘राउटे समुदायमा मदिरा पिउने लत लागेकाले उनीहरू संकटमा रहेछन्’ राउटे बस्ती पुगेकी मन्त्री नेपालीले भनिन्, ‘उनीहरूको सुरक्षाका लागि प्रदेश सरकारले लागिपरेको छ ।’

एक महिनाभित्रै तीन जनाको मृत्यु भएपछि जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतले बस्तीमै पुगेर उनीहरूको स्वास्थ्य जाँच गरेको छ । राउटे समुदायका ५० जनाभन्दा बढीको स्वास्थ्यजाँच गरिएको जनस्वास्थ्य प्रमुख चेतनिधि वाग्लेले जानकारी दिए । वाग्लेका अनुसार सबैको जाँच गर्न खोज्दा धेरै आएनन्, धेरै बालबालिकाहरू कुपोषित छन् । राउटे समुदायमा बढी घाउचोट लाग्ने गरेको पाइएको छ । यसरी बिरामी पर्नुमा बस्तिमा शुद्ध खानेपानी नहुनु, मदिराको लत पनि धेरै हुनु जस्ता सबै कुरा बाझिएर विरामी हुनु प्रमुख कारण हुन् ।
 


Author

थप समाचार
x