समाज

आम्दानीको १० प्रतिशत समाजसेवामा

इकागज |
भदौ १९, २०७८ शनिबार २३:२ बजे

पशुपति सडकछेउका असहायलाई खाद्यान्न वितरण गर्दै युवा व्यवसायी अन्सारी ।

काठमाडौँ : गएको बुधबार विराटनगरका युवा व्यवसायी पप्पु अन्सारी काठमाडौँ ओर्लिए । उनी व्यक्तिगत कामले बुधबार बेलूकी त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा उत्रिएका थिए । विराटनगरबाट अन्तिम फ्लाइटमा काठमाडौँ उत्रिएका उनले बिहीबार बेलूकीको फिर्ती टिकट पक्का गरिसकेका थिए ।

बिहीबार बिहान र दिउँसो आफ्नो व्यक्तिगत काम गरे । रेष्टुरेन्ट व्यवसाय चलाउने उनी काठमाडौँमा पनि लगानी गर्ने सुरमा छन् । विराटनगरमा आफ्नै स्वादको बिरयानी खुवाउने उनी त्यसकै शाखा काठमाडौँमा खोल्ने तयारी गरिरहेका छन् ।


त्यससँगै उनले फार्मेसी र कलेजमा पनि लगानी बढाएका छन् । सानैदेखि व्यवसायमा हात हालेका उनी आफ्नै खुट्टामा उभिएका छन् । केही युवालाई रोजगारी पनि दिएका छन् ।

पप्पु जस्तै रन्जन शाही अटोमोबाइल व्यवसायी हुन् । खासगरी गाडी र गाडीका सामान सप्लाई गर्ने उनको व्यवसाय हो । अनि अजय साह पनि उनीहरु जस्तै युवा व्यवसायी हुन् । उनको पनि विराटनगरमा बिरयानी रेष्टुरेन्ट छ ।

एकसाथ काठमाडौँ आएका उनीहरु काम सकेपछि सोझै विमानस्थल जानुको साटो पशुपति लागे । सुरुमा त उनीहरुले पशुपतिमा रहेको वृद्धाश्रमलाई केही खाद्यान्न राहत दिएर जान चाहेका थिए । तर पशुपतिको वृद्धाश्रमले बाहिरी राहत लिँदैन । जुन वृद्धाश्रमको सबै खर्च सरकारले व्यहोर्ने गर्छ । यो कुरा उनीहरुले पशुपति पुगेपछि मात्रै थाहा पाए ।

घडीमा तीन बजिसकेको थियो । पाँच बजेको फ्लाइट । उनीहरु निराश भए । पशुपतिकै वृद्धाश्रमलाई सोध्दा पत्ता लगाए, गुहेश्वरीमा एउटा बालआश्रम छ । उनीहरुले त्यहाँ गएर झण्डै १२ हजार रुपैयाँ बराबरको खाद्यान्न लगायत सहयोग हस्तान्तरण गर्ने तयारी थियो ।

तर घडीको सुईले एयरपोर्ट कुद्नुपर्ने समय बताउँदै गयो । गुहेश्वरी जाने समय समेत नपाएपछि उनीहरुले एक कार्टुन मह पशुपतिबाटै बालआश्रमका लागि ‘डेलिभर्ड’ गरे । बाँकी रहेको खाद्यान्न उनीहरुले पशुपतिकै छेउछाउका सडक मानवलाई दिए । 

जो दिनभरी दुई छाक खानैका लागि हात फैलाउँछन् । उनीहरुको भोको पेट भरियोस भनेर उनीहरुले स्याउ, केरा, खाने तेल लगायत राहत दिएर एयरपोर्ट लागे । 

यति हतारमा पनि अरुलाई सहयोग गर्नुको कारणबारे पप्पु भन्छन्, ‘व्यवसाय गर्नु आफ्नो खुट्टामा उभिनका लागि हो । त्यसले आम्दानी पनि गर्छ । तर कमाई गरेर मात्रै हुँदैन । आम्दानी गरेपछि अरुलाई पनि सहयोग गर्नुपर्छ । त्यही भएर हामी हरेक महिना आम्दानीको १० प्रतिशत समाजसेवामा खर्च गर्छौँ ।’

उसो त पप्पु, रन्जन र अजय लगायत युवा मिलेर विराटनगरमा रोयल लायन्स क्लब पनि खोलेका छन् । त्यसबाहेक उनीहरुले रक्तदान गर्ने युवा समूह पनि बनाएका छन् । सँगै रहेका साथीभाईलाई   व्यवसायमा स्थापित गर्ने र असहायका लागि सहयोग गर्ने उनीहरुको अभियान नै हो । 

‘पहिला हामी आफू बन्नका लागि धेरै संघर्ष गर्यौ । ढिलै भएपनि आफ्नो खुट्टामा उभिएका छौँ । अब अरुलाई पनि उभिन सहयोग गर्छौ,’ अर्का युवा व्यवसायी रन्जन भन्छन्, ‘व्यवसायमा युवा साथीहरुलाई स्थापित गर्न सहयोग गरेपछि आम्दानीको १० प्रतिशत समाजसेवामा खर्च गर्छौँ । यसले मनलाई सन्तुष्ट दिने मात्रै होइन, अरु मानिसलाई पनि बाँच्नका लागि सहयोग गर्छ । मानवता भन्दा ठूलो धर्म के नै छ र ?’


Author

थप समाचार
x