समाज

'जय नेपाल' भन्‍ने चलन कसरी सुरु भयो ?

इकागज |
असोज ११, २०७८ सोमबार १३:७ बजे

काठमाडौँ - हामी धेरैले सुनेको वाक्य हो जय नेपाल !  व्यक्ति, पेशा र सन्दर्भमा फरक-फरक अर्थ लाग्ने गरी यसको प्रयोग हुने गरेको छ। यो वाक्य राष्ट्रिय अभिवादनको रूपमा पनि प्रयोग भैरहेको छ । सैनिक प्रहरीले आफ्नो अभिवादनमा जय नेपाल शब्द प्रयोग गर्छन् । यस्तै राजनीतिक रूपमा कांग्रेस र कांग्रेस निकट रहेकाहरूले पनि अभिवादन गर्नु परे जय नेपाल भन्ने चलन छ । कसैले जय नेपाल भन्यो कि त्यो सेना वा प्रहरी हो । अथवा  त्यो नेपाली कांग्रेसको कार्यकर्ता हो भनेर बुझ्ने चलन छ ।  विदेशमा जय नेपाल भनेर सम्बोधन भएमा नेपाली रहेछ भनेर बुझ्ने गरिन्छ । खासमा यो वाक्य कसरी प्रयोगमा आयो ? 

कांग्रेस मामिलाका जानकार पुरुषोत्तम बस्नेत गोपालप्रसाद रिमाल र शुक्रराज शास्त्रीले जय नेपाल भन्ने चलन चलाए भने पनि त्यसको आधिकारिक प्रमाण नरहेको बताउँछन् । 'गोपालप्रसाद रिमाल र शुक्रराज शास्त्रीले जय नेपाल भन्ने चलन चलाए भन्ने पनि छ,' उनले भने, 'तर त्यसको आधिकारिक प्रमाण पाइँदैन । नेपालमा राणा शासन छदा कै कुरा हो । भारतमा अंग्रेजहरूको उपनिवेशिक शासन थियो । त्यो बेला स्वतन्त्रता आन्दोलनमा लागेका भारतीय कांग्रेस र समाजवादी नेताहरू आपसमा जय हिन्द भनेर सम्‍बोधन गर्थे ।'


भारत स्वतन्त्र हुने करिव तय भएपछि नेपालमा राजनीतिक दलहरू खुल्न थालेको र नेपाली कांग्रेसका नेताहरूबीच जय नेपाल भनेर सम्‍बोधन गर्ने चलन त्यही बेला सुरु भएको उनको भनाइ छ। 'वीपी, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, मातृकाप्रसाद कोइराला, मनमोहन अधिकारीलगायत धेरै नेपाली युवाहरू भारतीय स्वतन्त्रता आन्दोलनमा सकृय रूपमा सहभागी थिए । भारत स्वतन्त्र नभएसम्म नेपालबाट राणा शासन अन्त्य गर्न सकिदैन भन्ने उनीहरूको बुझाइ थियो,' उनले भने, 'भारत स्वतन्त्र हुने करिव करिव तय भएपछि नेपालमा राजनीतिक दलहरु खुल्न थाले । नेपाली कांग्रेसका नेताहरु बीच जय नेपाल भनेर संवोधन गर्ने चलन त्यही बेला सुरु भएको हो । त्यो बेलासम्म नेपाललाई गोर्खा भनिन्थ्यो । काठमाडौंलाई मात्र नेपाल भन्ने चलन थियो । पछिसम्म पनि त्यो चलन रह्यो । हामी भन्दा अघिको पुस्ताले काठमाडौंलाई नेपाल नै भनेको सुनेका हौँ।'

उनकाअनुसार नेपाली कांग्रेसमा खास गरी बीपीलाई के लाग्यो भने काठमाडौंलाई काठमाण्डौं र मेची देखि महाकालीसम्मलाई नेपाल भन्ने चलन चलाउनु पर्छ । २००७ सालको क्रान्तिदेखि त्यसलाई आन्दोलनकै रूपमा अघि बढाइयो । मुक्ति सेनाका जवानहरूबीच भेट्दा र छुट्टिदा जय नेपाल भन्ने चलन सुरु भयो ।  त्यसैको आधारमा पुलिसले अहिले पनि जय नेपाल नै भन्ने गरेको छ ।

२००७ सालको क्रान्ति सफल भएपछि मुक्ति सेनाका धेरै कमाण्डरहरू नेपाल प्रहरीमा समाहित भए । प्रहरीको उच्चपद आईजीपी पनि भए । जसमा जीबी याकथुम्वा, पूरण सिंह खवास, रोमवहादुर थापा र डीबी लामालगायत थिए ।

त्यसै गरी रेडियो नेपालले अहिले पनि दिनको सुरुवात जय नेपालबाट गर्छ । किन भने नेपाली कांग्रेसले क्रान्तिको बेला तारिणीप्रसाद कोइरालाले खोलेको प्रजातन्त्र रेडियोले जय नेपाल भनेर प्रशारण सुरु गर्दथ्यो । पछि विराटनगरबाट त्यही रेडियोलाई काठमाडौं ल्याएर रेडियो नेपालमा परिणत गरियो । त्यसैले रेडियो नेपालले अहिले पनि प्रशारण सुरु गर्दा जय नेपाल भनेर प्रशारण सुरु गर्छ ।


Author

थप समाचार
x