समाज

लगातारको वर्षाले लुम्बिनीमा ३६ हजार हेक्टर धानबाली नष्ट

सबैभन्दा बढी क्षति बर्दियामा क्षति

विक्रम खड्का |
कात्तिक ३, २०७८ बुधबार १५:० बजे

बुटवल - लगातारको वर्षाका कारण लुम्बिनी प्रदेशमा मुख्य बाली धानवालीमा ठूलो क्षति पुगेको छ । काट्न ठिक्क पारेको देखि काटेर उठाउन राखिएको धानबालीमा ठूलो क्षति पुगेको हो । बेमौसमी वर्षाका कारण यस क्षेत्रका किसानको धानबालीमा ठूलो क्षति पुगेपछि किसानहरू चिन्तीत बनेका छन् । रुपन्देहीको सूर्यपुराका किसान धनीराम केवटले भने – खेत अहिले पोखरी जस्तै भएको छ, ऋण धन गरेर लगाएको बाली डुबेपछि एकातिर वर्षभरी के खाने भन्ने चिन्ता भयो अर्कोतिर ऋण कसरी तिर्ने केहि सोच्न सकिएको छैन । 


लुम्बिनी प्रदेश कृषि विकास निर्देशनालयका अनुसार प्रदेशमा काटेर खेतमै राखिएको ३६ हजार ४ सय ८० हेक्टर क्षेत्रफलको धान नष्ट भएको छ । त्यस्तै पाकेर तयारी अवस्थामा रहेको तथा काट्न बाँकी रहेको ९३ हजार ५ सय ७६ हेक्टर क्षेत्रफलको धान ढलेको प्रारम्भीक रिर्पोट आएको लुम्बिनी प्रदेश कृषि विकास निर्देशनालयका प्रमुख यामनारायण देवकोटाले बताए । उनले क्षतिको पूर्ण विवरण भने संकलन हुन बाँकी रहेको जानकारी दिए । प्रदेशभर कूल खेती भएको ३ लाख १७ हजार ४ सय १४ हेक्टर क्षेत्रफल मध्ये किसानले ५५ हजार हेक्टर क्षेत्रफको धान भित्र्याएको उनको अनुमान छ ।

निर्देशनालयका अनुसार सबैभन्दा बढी क्षति बर्दियामा भएको छ । त्यहाँ काटेर खेतमै राखिएको १० हजार हेक्टर जमिनको धानमा क्षति भएको छ भने २५ हजार २ सय हेक्टर जमिनको काट्न बाँकी रहेको धान ढलेर नष्ट भएको छ । दाङमा काटेर खेतमै राखिएको ३ हजार ४ सय हेक्टर जमिनको धानमा नोक्सानी पुगेको छ । यसैगरी काट्न बाँकी ४ हजार ३ सय हेक्टर जमिनको धान वर्षाले ढालेर क्षति पुगेको छ । बाँकेमा काटेर खेतमै रहेको ७ हजार ५ सय हेक्टर जमिनको धान पानीले क्षति भएको छ । 

कपिलवस्तुमा काटेर खेतमै राखिएको ८ हजार ८ हेक्टर क्षेत्रफलको धान नष्ट भएको छ । यस्तै काट्न बाँकी २७ हजार ४ सय ५५ हेक्टर जमिनको धानमा क्षति पुगेको छ । यस्तै रुपन्देहीमा काटिएको ३ हजार ४ सय ६८ हेक्टर जमिनको धानमा क्षति पुगेको छ भने २० हजार ७ सय ९३ हेक्टर जमिनमा रहेको काट्न बाँकी धानमा वर्षाले क्षति पुर्‍याएको छ । यस्तै प्यूठानमा काटेर खेतमै रहेको ३ हजार ७ हेक्टर जमिनको धानमा क्षति पुगेको छ भने काट्न बाँकी ७ सय ८८ हेक्टर जमिनको धान पनि वर्षा अनि हावाहुरीले ढालेको छ ।

यस्तै नवरपरासी (पश्चिम)मा काटेर खेतमै रहेको ४ सय १० हेक्टर जमिनको धानमा क्षति भएको छ भने ४ हजार १ सय हेक्टर जमिनमा काट्न बाँकी धानमा क्षति पुगेको निर्देशनालयका कृषि प्रसारक दयाराम बस्यालले बताए । त्यस्तै रुकुम पूर्वमा ४ सय १२ हेक्टर जमिनमा काटेर राखिएको धान नष्ट भएको छ भने गुल्मीमा काटेर खेतमै रहेको ८ हेक्टर जमिनको धान वर्षाले क्षति पुर्‍याएको छ ।

यता पाल्पामा काटेर खेतमै रहेको २ सय ७० हेक्टर जमिनको धानमा क्षति पुगेको प्रदेश कृषि निर्देशनालयको प्रारम्भीक डाटा छ । वर्षाले धान भिजाएका कारण केही क्षति हुने निश्चित भए पनि कति क्षति हुने भन्ने विषयमा अहिले यकिन गर्न नसकिने बस्यालको भनाइ छ ।


Author

विक्रम खड्का

खड्का इकागजका लुम्बिनी प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x