समाज

तिहारका लागि सयपत्री भित्र्याइँदै [फोटो फिचर]

अनुज बज्राचार्य |
कात्तिक १६, २०७८ मंगलबार १५:३८ बजे

काठमाडौँ – काठमाडौंको नागर्जुन नगरपालिका– ६ स्थित बतासेडाँडामा तिहारका लागि सयपत्री फूल टिप्दै स्थानीय किसानहरू ।


उनीहरूले घरायसी प्रयोजन र बजारमा बिक्री गर्नका लागि बारीमा सयपत्री फूल लगाएका छन् । तिहार लागेसँगै उनीहरूलाई सयपत्री फूल टिप्न र भित्र्याउन भ्याइ, नभ्याइ छ ।

काठमाडौं उपत्यकामा बढ्दो सहरीकरणका कारण खेतीयोग्य जमिन मासिँदै गएकाले पहिलेजस्तो फूल उत्पादन हुन नसकेको स्थानीयको भनाइ छ ।

यसैले उपत्यकामा तिहारमा खपत हुने अधिकांश सयपत्री, मखमली फूल भारतबाट भित्रिने गरेको छ । नेपालमा तिहारमा मात्रै सयपत्रीका १६ लाख वटा माला बिक्री हुने गरेको फ्लोलिकल्चर एसोसिएसनका अध्यक्ष्य मीनबहादुर तामाङले इकागजसँग भने ।

तर नेपालमा उत्पादित फूलको मात्र भरपर्ने हो भने २ लाख ५० हजार माला अपुग देखिन्छ । यसैले प्रत्येकवर्ष २ लाख ५० हजारदेखि ५ लाख वटासम्म मालाहरू भारतबाट आयात हुने उनले बताए ।

भारतबाट नेपालमा माला आउँदा नेपाली फूल व्यवसायी मर्कामा परेको तामाङको भनाइ छ । तर नेपालका सहरीमात्र होइन ग्रामीण क्षेत्रमासमेत पर्याप्त फूलखेती हुन नसक्दा भारतकै मुख ताक्नुपर्ने बाध्यता छ ।

फूलैफूलको चाड भनेर चिनिने तिहारमा फूलको अभाव हुँदा कतिपय सहरी र ग्रामीण क्षेत्रका घरमा प्लास्टिकको फूलसमेत प्रयोग हुने गरेको छ ।

तिहारमा प्लास्टिकको फूल प्रयोग हुँदा तिहारको वास्तविक महत्त्वमा असर पर्ने सांस्कृतिक विज्ञहरूको चिन्ता छ । जेठ, असारमा रोपिएको सयपत्री फूल असोज, कात्तिकमा पूर्ण रूपमा फक्रिन्छ ।


Author

अनुज बज्राचार्य

बज्राचार्य इकागजका फोटो पत्रकार हुन् ।


थप समाचार
x