समाज

नामै नसुनेको च्याउ जगाउने ‘मसरुम म्यान’

सुनीता साखकर्मी |
पुस ७, २०७७ मंगलबार ७:२१ बजे

भक्तपुर : ‘भविष्यमा के बन्‍ने ?’ विद्यालयमा शिक्षकले प्रश्न गर्दा आकाश बाडेको एउटै जवाफ हुन्थ्यो, ‘किसान’ आकाशको जवाफ सुनेर शिक्षकले निधार खुम्च्याउँदै भन्थे,  ‘किसान बन्‍ने ! यस्तो पनि सपना हुन्छ ?’  सहपाठीले पनि उनको मजाक उडाउँथे ।

किनभने, अन्य सहपाठीको जवाफ हुन्थ्यो- डाक्टर, पाइलट, नर्स, इन्जिनियर ।  उनीहरूका अगाडि आकाशका सपना सबैलाई फिका लाग्थ्यो । तर, अहिले तिनै शिक्षक र सहपाठीहरु आकाशको कृषि कर्म देखेर दंग छन् । भक्तपुर मध्यपुर थिमि-७, नगदेशका ३८ वर्षे आकाशले कृषि क्षेत्रमा नयाँ परीक्षण गरिरहेका छन् । नेपालमा प्रायः नामै नसुनिएका च्याउका प्रजातिलाई जगाउँदै ‘मसरुम म्यान’ बनिरहेका छन् । 
...
आकाशले उत्पादन गर्ने च्याउका प्रकारको सूची लामो छ । कन्‍ये, गोब्रे, सिताके, ग्यानोडर्मा (रातो च्याउ) को त उनले व्यावसायिक खेती सुरु गरेको लामो समय भइसकेको छ । सिताके र ग्यानोडर्मा (रातो च्याउ) लाई काठको धूलोमा सफल उत्पादन गरेका छन् । त्यस्तै उनले यिनको बीउ पनि उत्पादन गर्न थालिसकेका छन् ।


यीबाहेक उनले गत सेप्टेम्बरमा मात्रै नेपालमा पाइने १७ प्रजातिका यार्सागुम्बा मध्येको ‘कोर्डिसेप्स मिलिटारिस’ को ल्याबमा सफल उत्पादन गरे । वर्षाको सिजनमा काठमाडौं उपत्यकाको जंगलमा उम्रिने यो च्याउबारे धेरैलाई थाहा थिएन । औषधीय गुणयुक्त यो च्याउको बीउ पनि बनाएका छन् । 

त्यस्तै ‘कोर्डिसेप्स एसपी’, ‘लायन्स मेन (हेरिसियम)’, ‘किङ ओएस्टर’ च्याउ लगायत नेपालमै पहिलोपटक ‘इसारिया जापोनिका’, ‘इसारिया सिकादा’ प्रजातिको च्याउको पनि आकाशले सफल उत्पादन गरिसकेका छन् । जो कोहीले यी च्याउको खेती गर्न चाहेमा बीउ आकाशले उपलब्ध गराउन सक्नेछन् ।

यो मात्रै नभई नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) सँग सम्वन्य गरी उनले ‘इनोकिताके’ र ‘माइटाके’ प्रजातिका च्याउको परीक्षण गर्दैछन् । ‘यसको पनि परीक्षण सफल भएमा त्यसको बीउ नेपाली किसानलाई दिने सोचमा छु,’ आकाश भन्‍छन्, ‘नेपालको जंगलमा उम्रिएका थुप्रै औषधीयुक्त च्याउ महत्व थाहा नपाएर त्यसै कुहिएर गइरहेको छ । त्यस्ता च्याउलाई बजारमा ल्याउने प्रयास गरिरहेको छु ।’

अचेल ‘च्याउ’ नै आकाशको संसार बनेको छ । आकाशले परीक्षण गरेका प्रायः च्याउका अनुसन्धान सफल भएका छन् । तर कुनै समय थियो, च्याउ खेती गर्दा उनले ‘पागल’ को उपमा पाएका थिए । ‘पागल किसान’ को उपमाबाट ‘सफल किसान’ को उपमा सम्मको यात्रा लामो छ । ठूलो संघर्षको कथा लुकेको छ । 
...

तरकारी खेती त आकाशको पुख्र्यौली पेशा नै हो । परम्परागत रुपमा उनको परिवारले विभिन्‍न मौसमी तरकारी उत्पादन गर्थे । आकाश पनि कृषिमा केही गर्न चाहन्थे । परम्परागत कृषिमा परिवर्तन ल्याउन चाहन्थे । त्यसैले, बि.सं. २०५८ मा व्यवस्थापन संकायमा स्नातक सिध्याएर कृषि पेसा नै अंगाले ।

उनको उमेर थोरै थियो, तर काम गर्ने ऊर्जा बढी । हरेक जोखिम उठाउन सक्ने आँट पनि टन्‍नै थियो । त्यसैले त, काठमाडौंको मुलपानीस्थित आठ÷नौ रोपनी जग्गा भाडामा लिएर अर्गानिक गाजर खेती सुरु गरे । गाजर फल्यो । राति-राति नसुती प्याकेजिङ पनि गरे । अर्गानिक हो भन्दै लेबल राखेर असन, इन्द्रचोक, ठमेलका बजार पुर्‍याए । ‘अर्गानिक तरकारी खानुपर्छ’ भन्‍ने सन्देश पनि दिए । तर उपभोक्ताहरूले उनको कुरा मानेनन् ।

उनको उत्पादन बिकेन । जसको कारण गाजर खेती नै छोड्नुपर्‍यो । ‘अर्गानिक रुपमा उत्पादन गर्दा तरकारीको उत्पादकत्व कम हुने र ढिलो हुँदो रहेछ । विषादि प्रयोग गरिएको च्याउ चार महिनामा तयार हुन्थ्यो भने अर्गानिक सात महिना हुँदा पनि भनेजति बढेन,’ उनी भन्‍छन्, ‘तर जति ढिला भए पनि म सानैदेखि विषादियुक्त तरकारी उत्पादन गर्न चाहन्‍नथेँ । जुन खेती गरे पनि अर्गानिक नै गर्ने सोच थियो । गाजर त बिकेन, अब कुन खेती गर्ने भनेर चिन्तित भएको बेला मैले च्याउ देखेँ ।’

आकाशले उत्पादन गर्ने च्याउका प्रकार 
- कन्‍ये
- गोब्रे
- सिताके
- ग्यानोदर्मा (रातो च्याउ)
- कोर्डिसेप्स मिलिटारिस 
- कोर्डिसेप्स एसपी
- लायन्स मेन (हेरिसियम)
- इसारिया जापोनिका
- इसारिया सिकादा
- इनोकिताके  
- माइटाके (परिक्षणको क्रममा)
- ‘किङ ओएस्टर’

सामान्य च्याउ उत्पादनको तालिम लिए उनले । चार जना साथीसँग मिली २०६३ देखि व्यवसायिक च्याउ खेती सुरु गरे । सुरुमा १७ पोकामा कन्‍ये च्याउ राखे । राम्रो उत्पादन भयो । त्यसपछि उनीहरूले पोका बढाएर ११० पुर्‍याए । तर यो ब्याच पहिले जस्तो भएन । यो त सबै बिग्रियो । किन बिग्रियो, कसैलाई ज्ञान पनि भएन । कुन ठाउँमा गल्ती भयो कसैले पत्ता लगाउन सकेन । च्याउमा त नोक्सानी भयो भयो, साझेदारीमा पनि त्यसले ठूलो नोक्सान पुर्‍यायो । घाटा हुने व्यवसाय नगर्ने भन्दै चारजनामध्ये तीनजना छुट्टिए । आकाश एक्लिए ।

त्यतिञ्जेल आकाशले सहकारीबाट लिएको पाँच लाख ऋण बढेर १० लाख पुगिसकेको थियो । तैपनि उनले च्याउ खेती मै भविष्य खोज्‍ने सुर कसे । सबै सामान किनेर नयाँ सुरुवात गर्ने जमर्को गरे । ऋणमा चुर्लुम्म डुबेर पनि च्याउ खेती नछोडेको देख्दा धेरैले उनलाई भने, ‘च्याउ खेती गरेर यो मान्छे पागल भयो । बिग्रियो ।’ तर अरुका कुराले उनलाई फरक पारेन । किनकि उनको आडमा परिवार उभिएको थियो । उनले हरेस खाएनन् । अत्तालिएनन् । नयाँ तरिकाबाट च्याउ खेती सुरु गरे ।

च्याउ उत्पादनको सामान्य तालिम लिएर नै सुरु गरेका उनले कृषि-प्रविधि तालिम केन्द्र, नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान, भारतको हिमाञ्चल प्रदेशलगायतमा तालिम लिएर च्याउ खेतीमा गर्न नहुने त्रुटिहरु पत्ता लगाए । अनि त्रुटि न्यूनीकरण गर्दै लगे । सुरुमा चार सय पोका च्याउ राखेर सुरु गरेको व्यवसाय त्यसपछि आठ सय, हजार हुँदै अहिले उनको फार्ममा त्यो पोकाहरुको संख्या २० हजार छ । ११ रोपनीमा फैलिएको फार्ममा कामदार पनि १२/१३ जना छन् ।

‘अहिले नेपालमा कुनै पनि व्यापार व्यवसायको ग्यारेन्टी छैन । च्याउ पनि चुनौतीले भरिएको पेशा हो । तर जिन्दगीमा सफल हुन जोखिम लिनुपर्दाे रहेछ र त्योसम्बन्धी पर्याप्त ज्ञान हुनुपर्दोरहेछ,’ आकाश भन्‍छन्, ‘प्राविधिक खेती भएकोले प्रविधिबारे जान्‍न सकियो भने र रोग कीराको बारेमा जान्‍न÷बुझ्न सकियो भने पेशा धेरै राम्रो छ । सैद्धान्तिकसँगै व्यवहारिक तालिम पनि चाहिने रहेछ, नसिकीकन, नजानीकन गर्नु राम्रो हुँदैन ।’

सुरुमा व्यवसाय सुरु गर्दा आकाशलाई थुप्रै कुरा थाहा थिएनन् । सैद्धान्तिक र व्यावहारिक तालिमले उनलाई सक्षम बनाउँदै लग्यो । त्यसैले त उनी विभिन्‍न किसिमका च्याउ उत्पादन गर्न सफल छन् । भनेको बेला बीउ नपाउने, पाएका बीउको पनि गुणस्तरमा समस्या भएपछि प्रयोगशालामा परीक्षण गरी कन्‍ये, गोब्रे, सिताके, रातो च्याउ लगायतको बीउ बनाउन सुरु गरे ।

नेपालमा नामै नसुनिएका च्याउ उत्पादन गरिरहेका छन् । उनले मसरुम सिड नेपाल र नेपाल-विज्ञान तथा प्रविधि प्रतिष्ठानसँग सहकार्य गरी अध्ययन गरिरहेका छन् । च्याउ उत्पादन मात्रै नभई उनले यसलाई प्रशोधन समेत गर्न थालेका छन् ।

हालै उनले ग्यानोडर्मा (रातो च्याउलाई प्रशोधन गरी पाउडर बनाएका छन् । उनी भन्‍छन्, ‘यसलाई चियाको रुपमा सेवन गर्न सकिन्छ । यसले शरीरलाई धेरै फाइदा गर्छ । यसको माग धेरै छ, अब यो लेबल गरी बजारमा लैजान्छौँ ।’अब उनको एउटै उद्देश्य छ- च्याउको अनुसन्धान गर्ने । जसको लागि उनले आफ्नो फार्ममा दुई तले ट्रस्ट पनि बनाउन लागेका छन् ।

नेपालमा पाइने कन्‍ये, गोब्रे च्याउ लगायत नेपालको मौलिक च्याउ होइनन्, विदेशबाट आयातीत हुन् । त्यसैले नेपाली र विदेशी च्याउमा हाइब्रिडेसन गर्ने सोचमा छन् आकाश । उनी भन्‍छन्, ‘थुप्रै नेपाली च्याउ चिनेका छैनौँ । धेरैभन्दा धेरै नेपाली मौलिक च्याउको अनुसन्धान गरी नेपाली साथै विदेशी बजारमा पुर्‍याउने उद्देश्य छ ।’

 


Author

सुनीता साखकर्मी

सामाजिक तथा सांस्कृतिक विषयमा कलम चलाउने साखकर्मी संवाददाता हुन्।


थप समाचार
x