समाज

मतदाता नामावलीमा नाम दर्ता गराउनेहरूको भिड

सुभाष कर्ण |
पुस २१, २०७८ बुधबार १४:३२ बजे

जनकपुरधाम - फोटो सहितको मतदाता नामावलीमा नाम दर्ता गराउनेहरुको संख्या बढदै गएको छ । जनकपुरस्थित निर्वाचन आयोगको कार्यालय धनुषामा फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता  गराउन दैनिक सयौंको संख्यामा पुग्ने गरेका छन्। 

प्रतिदिन ५/६ सयको संख्यामा फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता भइरहेको निर्वाचन आयोगको कार्यालय धनुषाले जनाएको छ ।


आयोगले कोही नागरिक पनि मतदाता नामावलीमा नछुटोस् भन्ने उद्देश्यका साथ मंसिर १७ गतेदेखि पुस १८ गतेसम्म स्थानीय तहमा टोली समेत खटाएको थियो । सो टोलीमा नाम दर्ता गराउन छुट भएकाहरु अहिले नियमित रुपमा निर्वाचन आयोगको कार्यालय जनकपुरधाममा पुग्ने गरेका छन् ।

सहजताका लागि निर्वाचन आयोगको कार्यालयले जिल्ला प्रशासन कार्यालय र ईलाका प्रशासन कार्यालय शहीदनगरमा स्थायी शिविर समेत राखेका छन । आयोग कार्यालयसहित यी दुई शिविरमा समेत मतदाता नामावलीमा नाम दर्ता गराउनेहरुको भिड लाग्ने गरेको छ ।

स्थानीय तहको निर्वाचन तयारी भइरहेको समयमा नेपाल सरकारले चलाएको फोटो सहितको मतदाता नामावली दर्ता विशेष कार्यक्रम निकै नै प्रभावकारी भइरहेको आयोगकी जिल्ला प्रमुख पुष्पा झाले बताएकी छिन ।

उनले भनिन, 'स्थानीय तहको निर्वाचनको समयावधि नजिकिदै जाँदा नाम दर्ता गराउनेहरुको चासो बढेको छ । धनुषासहित अन्य जिल्लाका समेत दैनिक रुपमा ५/६ सयको हाराहारीमा कार्यालयमा मान्छेहरु आउने गरेका छन् ।' पहिला जिल्लाका नागरिकहरुको लागि मात्र खुल्ला गरिएको थियो । तर पछिल्लो पटक आफू बसेको कुनै ठाउँमा नाम दर्ता गराउन सक्ने नेपाल सरकारको निर्देशन आएपछि यस जिल्लामा बस्ने अन्य जिल्लाका मान्छेहरु नाम दर्ताका लागि आउने गरेका छन् । 

नाम दर्ता गराउनेहरुको भिड बढदै जाँदा कार्यालयमा अहिले फर्म रुजु र फोटो खिच्ने काम मात्र भइरहेको उनले जानकारी दिइन् । ४/४ वटा फोटो खिच्ने र फर्म रुजु गर्ने व्यवस्था गरिएको छ । भिड बढेपछि होहल्ला नहोस् भनेर सुरक्षा र व्यवस्थापनको दृष्टिकोणले प्रहरी परिचालन समेत गरिएको छ ।

उनका अनुसार टोली बाहेक कार्यालय र जिल्ला प्रशासन कार्यालयमा करिब साढे १२ हजारको संख्यामा नाम दर्ता भएको छ । एक महिनासम्म चलेको स्थानीय तह शिविरमा साढे ३८ हजारसहित हालसम्म चालु आर्थिक वर्षमा ५१ हजारभन्दा बढीको नाम दर्ता भइसकेको छ ।

जिल्लामा अहिलेसम्म लगभग ७० प्रतिशत नागरिकको नाम दर्ता भइसकेको छ र चुनावको मिति नतोकिएसम्म मतदाता नामावली दर्ताको कार्यक्रम संचालन हुने उनले जानकारी दिइन् ।

मतदाता नामावलीमा नाम दर्ता गराउन सम्बन्धित मान्छे भन्दा स्थानीय तह निर्वाचनमा उम्मेदवारी दिने सोच बनाएका विभिन्न पार्टीका नेताहरुले चासो देखाएको पाइएको छ । नेताहरुले आफ्नो खर्चमै नाम दर्ता गराउनेहरुलाई गाडीमा बोकेर ल्याउने गरेका छन् ।

बटेश्वर गाउँपालिकाका ६० वर्षीय वृद्ध अमृत राउतले भने, मतदाता नामावलीमा नाम दर्ता भइरहेको छ भन्ने कुरा मलाई थाहा पनि थिएन, तर गाउँकै एक माओवादीका नेताले मसहित एक दर्जनभन्दा बढी व्यक्तिलाई गाडीमा चढाएर यहाँसम्म ल्याए ।'


 

 

 

 


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x