पर्यटकको पर्खाइमा तनहुँको रामकोट
दमौली : चिटिक्क परेका घर । घर अगाडि ढुङ्गा छापिएको सडक । प्रत्येक घर अगाडि मकैको सुली । तनहुँको पर्यटकीय नगरी बन्दीपुर गाउँपालिका- ३ मा रहेको रामकोट गाउँको चिनारी हो यो । मगर जातिको बसोबास रहेको यस ठाउँका स्थानीयवासीले घरवास सञ्चालन गरेका छन् । विसं २०७५ मा १४ घर दर्ता गरेर रामकोट घरवास व्यवस्थापन समिति दर्ता गरिएको थियो । कोभिड- १९ को प्रभावका कारण पर्यटक आगमन ठप्प रहेको रामकोटमा पुनः पर्यटक आगमन हुन थालेको घरवास व्यवस्थापन समितिका अध्यक्ष बिहीसरा आलेले जानकारी दिए । चौध घरले तालिम लिएर शुरु भएको रामकोट घरवासमा अहिले ४० घरमा पर्यटक राख्न मिल्नेछ ।
‘कोभिड अगाडि अलि- अलि आन्तरिक पर्यटक आउने क्रम थियो तर कोभिडले रोकियो,’ उनले भने, ‘कोभिडको प्रभाव कम हुँदै गएपछि अहिले फेरि पर्यटक आउन थाल्नुभएको छ ।’ रामकोट आउने पाहुनालाई स्थानीय युवा क्लबले सांस्कृतिक कार्यक्रम देखाउने गरेको छ । ‘स्थानीय संस्कृति र अग्र्यानिक खानेकुरालाई जोड दिएका छौँ,’ उनले भने, ‘यहाँ आएका आन्तरिक पर्यटक सन्तुष्ट नै भएको पाएका छौँ ।’
यहाँका स्थानीयवासीलाई घरबास आर्थिक उपार्जनको माध्यमसमेत बनेको छ । पृथ्वी राजमार्गको व्यास नगरपालिका- १२ छिर्कने हुँदै र बन्दीपुर बजारबाट रामकोट पुग्न सकिन्छ । बन्दीपुर गाउँपालिकाले बन्दीपुर बजारबाट रामकोट पुग्न साइकल लेनसमेत निर्माण गरेको छ । बन्दीपुर आएका विदेशी पर्यटक पनि साइकल लेनको बाटो पैदल हिँडेरै रामकोटसम्म पुग्ने गरेको बन्दीपुर गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले जानकारी दिए ।
‘रामकोटको घरवासलाई जोड्ने उद्देश्यसहित गाउँपालिकाले ४।८ किलोमिटर साइकल लेन निर्माण गरेको छ,’ थापाले भने, ‘यसले समग्र गाउँपालिकाको पर्यटन प्रवर्ध्दनमा पनि टेवा पुर्याउँछ ।’ घरबास सञ्चलनले ग्रामीण भेगका जनतालाई स्वरोजगार बन्न सहयोग पुर्याएको गाउँपालिकाका उपाध्यक्ष करुणा गुरुङले जानकारी दिइन् । रामकोट सामुदायिक घरवासलाई यस वर्ष गण्डकी प्रदेश सरकारको तर्फबाट १० लाख रुपैयाँ अनुदानको व्यवस्था भएको छ ।
रामकोटमा कायमै छ कटुवाल प्रथा
सञ्चारको सुविधा विकसित भए पनि तनहुँको बन्दीपुर गाउँपालिका- ३ रामकोटमा अझै पनि कटुवाल प्रथा कायमै छ । स्थानीयवासी नरसिं थापाले विगत छ वर्षदेखि गाउँमा कटुवालको रूपमा काम गर्दै आएका छन् ।
गाउँमा हुने बैठक, कार्यक्रम, पूजाआजालगायतका बेला थापाले घोक हालेर सूचना प्रवाह गर्दै आएका छन् । कटुवालको कामलाई घोक फिराउने भनेर बुझिन्छ । उनका बाबुले पनि रामकोटमा कटुवालको काम गर्दै आएका थिए । बाबुको निधनपछि गाउँलेले आफूलाई कटुवालमा नियुक्त गरेको उनले सुनाए । ‘गाउँमा केही कार्यक्रम, पूजाआजा भयो भने मैले सबैलाई घोक हालेर सूचना दिने गरेको छु,’ उनले भने, ‘त्यसबापत गाउँलेले वार्षिकरूपमा धान, मकैलगायतका अन्न दिने गरेका छन् ।’
स्थानीय महिला बिहिसरा आलेले गाउँमा सूचना प्रवाह गर्नुपर्दा थापाले घोक हाल्ने गरेको बताइन् । उनका अनुसार घरघरमा मोबाइल, रेडियो भए पनि थापाले घोक हालेपछि मात्रै सबै गाउँले जम्मा हुने गरेका छन् । “यहाँ वर्षौँदेखि चलिआएको चलन हो’ उनले भनिन् ।
बिजुली पुगेपछि स्थानीयवासी खुशी
वर्षौँसम्म अन्धकारमा जीवन बिताउँदै आउनुभएकी तनहुँको घिरिङ गाउँपालिका- १ निवासी पार्वती शाहीको मुहार आजभोलि उज्ज्यालो छ । टुकी र मैनबत्तीको सहारामा जीवनयापन गर्दै आएकी उनको घरमा अहिले बिजुली बत्ती बल्न थालेको छ । ‘बिजुली बत्तीको आशमा बसेको थुप्रै वर्ष भयो, बत्ती बाल्ने चाहना लामो समयपछि पूरा भएको छ,’ उनले भनिन् ।
घिरिङ गाउँपालिका- ४ गलकोटकी श्रीमाया थापाले ‘बत्ती बाल्न पाइएला र ?’ जस्तो लाग्ने गरे पनि अहिले बत्ती बलेको देख्दा खुशीको सीमा नै नरहेको बताइन् । ‘यत्तिका वर्षसम्म बत्ती नआउँदा अब बत्ती बाल्न पाइँदैन होलाजस्तो लाग्थ्यो तर अहिले त घर नै उज्यालो भएको छ’ उनले भनिन् ।
गाउँपालिकामा जनप्रतिनिधि निर्वाचित भएर आएपछि गाउँपालिकाले विभिन्न वडामा विद्युत् सेवा विस्तारलाई तीव्रता दिएको थियो । घिरिङ गाउँपालिकाका अध्यक्ष रनबहादुर रानाले ‘उज्यालो घिरिङ’ अभियान सम्पन्न भएको बताए । जनप्रतिनिधिका रूपमा निर्वाचित भएर आएपछि करिब एक हजार ५०० भन्दा बढी घरमा विद्युत् सेवा विस्तार भएको उनले जानकारी दिए ।
‘गाउँपालिका अध्यक्षमा निर्वाचित भएपछि सबै घरधुरीमा बत्ती पुर्याउने प्रतिबद्धता पूरा भएको छ,’ उनले भने, ‘विद्युतीकरण अभियानमा तनहुँ जलविद्युत् आयोजना, नेपाल विद्युत् प्राधिकरणले पनि सहयोग पुर्यायो ।’ अध्यक्ष रानाका अनुसार गाउँपालिकामा जनप्रतिनिधि आउनु अगाडि १० प्रतिशत घरधुरीमा मात्रै विद्युत् सेवा पुगेको थियो ।
नेपाल विद्युत् प्राधिकरण तनहुँ वितरण केन्द्रका अनुसार जिल्लाका ८५ प्रतिशतभन्दा बढी घरधुरीमा बिजुलीको सुविधा पुगेको छ । केन्द्रका अनुसार देवघाट गाउँपालिका, ऋषिङ गाउँपालिका, बन्दीपुर गाउँपालिकाका केही ठाउँमा विद्युत् सेवा पुग्न बाँकी छ ।
वितरण केन्द्रले गत आर्थिक वर्षमा आँबुखैरेनी, बन्दीपुर, रिसिङ गाउँपालिका र व्यास नगरपालिकाको एक हजार घरधुरीमा बिजुली विस्तार गरेको थियो । वितरण केन्द्रले विद्युतीकरणका लागि बन्दीपुरको साराङघाटमा आठ एमबिएको सबस्टेशन निर्माण गरिएको छ । उक्त सबस्टेशनबाट आँबुखैरेनीसम्म १९ किमी दूरीसम्म लाइन तानेर आँबुखैरेनीका विद्युत् नपुगेका गाउँमा विद्युत् सेवा पुर्याइनेछ । साथै सोही सबस्टेशनबाट नयाँ फिडर निकालेर देवघाट गाउँपालिकाका कोटा, वैदी, छिपछिपेलगायतका ग्रामीण बस्तीमा बिजुली सेवा पुर्याइने छ । राससको लागि तनहुँबाट कृष्ण न्याैपानेले लेखेका हुन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया