समाज

नेपाली श्रमिकलाई पाँच क्षेत्रमा भर्ना गर्न युएई सहमत

इकागज |
चैत २, २०७८ बुधबार १२:४७ बजे

काठमाडौँ- वैदेशिक रोजगारबाट फर्केका श्रमिकहरूलाई सहयोग गर्ने पुर्न एकीकरण योजनामा युएईले नेपाललाई सहयोग गर्ने भएको छ । युएईमा रहेका नेपालीहरूलाई कामका आधारमा १९ क्षेत्रमा वर्गीकरण गरेको आधारमा  ५ वटा क्षेत्रमा श्रमिक भर्ना प्रकृया निशुल्क गरी पाइलट प्रोजेक्ट अघि बढाउन युएई सहमत भएको छ ।

त्यसैगरी पहिलेकै रोजगारदातासँग सम्झौता नवीकरण गरी स्वदेश आई फर्कने वा पहिलेकै रोजगारदातासँग सम्झौता नवीकरण गरी रोजगारीमा जाने महिलालाई कानुनी शर्त पुरा गरेर पुन: श्रम स्वीकृति दिने सरकारको निर्णयबारे युएई पक्षलाई नेपाली टोलीले जानकारी गराएको थियो ।


वैदेशिक रोजगारीका क्रममा युएईमा कार्यरत नेपाली श्रमिकको सामाजिक सुरक्षा, कार्यस्थल सुरक्षा, स्वास्थ्य र वीमाको व्यवस्था, सीप विकास, पारिश्रमिक वृद्धि लगायतका बिषयमा पनि छलफल भएको थियो । 

साथै रोजगारीको प्रलोभनमा परी पर्यटन भिसामा आएर अलपत्र परेका नेपालीहरुको समस्या समाधानबारे पनि बैठकमा छलफल भएको थियो । युएई जाने नेपाली श्रमिक लक्षित सीपमुलक तालिम सञ्चालन गर्ने, इन्जिनियर, डाक्टर, नर्सलगायत दक्ष र प्राविधिक क्षेत्रका श्रमिक लैजान देखिएका समस्या समाधान गर्ने, सामाजिक सुरक्षा योजना विस्तार गर्ने लगाएका बिषयमा पनि छलफल भएको छ ।

बैठकमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व सहसचिव राजीव पोखरेलले गर्नुभएको थियो । बैठकमा उपसचिव डा.थानेश्वर भुषाल र श्रम सहचारी निर्मला थापा हुनुहुन्थ्यो भने युएईका मानव संशाधन मन्त्रालयका सचिव अब्दुल्लाह अलनायमी, अन्तर्राष्ट्रिय सम्वन्ध विभागका निर्देशक अब्दल्लाह अल्सामी, अन्तर्राष्ट्रिय सम्वन्ध विज्ञ राशा सालेहको सहभागी थियो ।

नेपाली श्रमिकको सुरक्षा र हितबारे मंगलवार नै श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ र युएईका मानव संशाधन मन्त्री डा अव्दुलरहमान अव्दुलमानन अल अवारबीच छलफल भएको थियो ।

 


Author

थप समाचार
x