समाज

पशुपतिका सम्पदा नै नचिन्‍नेहरू कोषमा

सुनीता साखकर्मी |
चैत ६, २०७७ शुक्रबार १९:३५ बजे

काठमाडौँ  : ‘पुनः निर्माणको नाममा पशुपतिमा पाटी भत्काएर मन्दिर बनायो’ सम्पदा संरक्षण अभियन्ता अर्जुन लामिछानेले बिहीबार पशुपति क्षेत्र विकास कोषको काम प्रति असन्तुष्टि जनाए । अर्जुनको कुरा सुनेर कोषका कार्यकारी निर्देशक घनश्याम खतिवडा रनभुल्लमा परे । उनले झट्टै सोधिहाले- कहाँको पाटी ? ‘पशुपतिको रुद्रगारेश्‍वरमा रहेको लक्ष्मी नारायणको पाटी,’ लामिछानेले प्रष्ट्याए । अर्जुनको जवाफ सकिन नपाउँदै खतिवडा बोले- ‘ए ! त्यहाँ त पहिलेदेखि नै मन्दिर थियो नि ।’ 

खतिवडाको कुरा सुनेर वाग्मती प्रदेश सभा सांसद नरोत्तम वैद्य चिढिए । उनले आक्रोशित हुँदै घनश्यामलाई भने, ‘हामी १२/१५ पुस्तादेखि यहीँ छौँ । म यहीँ जन्मिएँ, यहीँ हुर्किएँ, त्यहाँ काचोँ ईंटाले बनेको पाटी थियो । त्यसमा ‘नो डाउट’ । पाटी भएको ठाउँमा तपाईंहरूले मन्दिर बनाइदिनुभयो । तपाईंहरू होइन भन्‍नुहुन्छ । त्यही पाटीमा खेलेर हुुर्किएको म तपाईंको अगाडि नै छु ।’ वैद्यले उक्त पाटीबारे लगाएको बेलीविस्तार सुनेर खतिवडा चुप भए । 


बिहीबार दिउँसो साढे १ बजे पशुपति क्षेत्र विकास कोषको बैठक कोठामा देखिएको दृश्य हो यो । यहाँ सम्पदा संरक्षण अभियन्ताहरू भेला भएका थिए । पशुपतिमा भइरहेको गैरकानुनी एवं स्वेच्छाचारी पुनःनिर्माणको कार्य रोकी दोषीलाई कारबाही गर्न माग गर्दै पशुपति क्षेत्र विकास कोषका सदस्य सचिवका नाममा १५ बुँदे ज्ञापन पत्र पेश गरेको छ । सदस्य सचिव अनुपस्थित भएकाले कोषका कार्यकारी निर्देशक खतिवडाले पत्र बुझेका थिए । 

पत्र बुझिसकेपछि छलफल गर्ने क्रममा अभियन्ताहरूले पशुपतिमा भएका थुप्रै गलत कामहरूको फेहरिस्त खतिवडालाई सुनाए । लक्ष्मी नारायणको पाटीका बारेमा मात्रै नभई खतिवडा पशुपतिका अन्य थुप्रै सम्पदाबारे अनविज्ञ झैँ देखिए । 

सम्पदा संरक्षण अभियन्ता अर्जुन, सञ्‍जय अधिकारी लगायतले भुकम्पले भत्किएको सत्तल नबनेको कुरा कोट्याए । जसमा पशुपतिको दाहसंस्कार गर्ने भश्मेश्वर नजिक रहेको सत्तल पनि एक थियो । सुरेश कान्तेश्वर र अमर कान्तेश्वरको वरिपरि रहेको सत्तल भत्काएर मलामी बस्‍ने फलामे ट्रस्ट बनेकोमा पनि खतिवडा अनविज्ञ थिए । उनी ‘कुन ? कताको ? कस्तो ? सत्तल ’भनेर प्रश्‍न सोध्दै थिए ।

त्यो सुरेन्द्रबीर विक्रम शाहले दुई छोरीको नाममा बनाएको सत्तल थियो । भुकम्पले सत्तल जीर्ण बन्यो । पछि कोषले त्यसलाई भत्कायो । अहिले त्यहाँ मलामी बस्ने फलामे ट्रस्ट छ । 

यो सत्तलको विषयमा पनि खतिवडाको अनविज्ञता देखेर वैद्य एकपटक फेरि रन्किए । ‘पुरातत्व विभागले कोषलाई त्यो ट्रस्ट नबनाउ भनेर दश वटा चिठ्ठी लेख्यो । टेर्‍यो कोषले ? विश्वास लाग्दैन भने हेर्नुहोस् चिठ्ठी,’ वैद्यले भने, ‘यस्तो उदाहरण त अनगिन्ती छ । हामीले घर बनाउँदा प्राचीन स्मारक संरक्षण ऐनभित्र बनाउँछु, त्यसमा तलमाथि परेमा कानुन अनुसार सहुँला बुझाउँला भन्दै पुरातत्व विभागमा ल्याप्चे लगाउनुपर्छ । अनि हामीले नक्सा बमोजिम घर बनाएन भने काम सम्पन्‍न प्रमाणपत्र दिँदैन, हाम्रो सम्पत्ति खोटो हुन्छ । तर यो कोषले प्राचीन स्मारक संरक्षण ऐन पालना गर्नु पर्दैन ?’  

बैद्यको चर्को टिप्पणी सुनेपछि बल्ल खतिवडा बोल्न तम्सिए । उनले भने, ‘सुरेश कान्तेश्वर र अमरकान्तेश्वर वरिपरि भएका सत्तल मेरो दिमागमै थिएन । म आउँदा खाली नै थियो । तपाईंले भन्‍नुभयो, म बनाउँछु भन्‍न सक्दिनँ ।’ 

अहिले पशुपतिनाथको मन्दिरभित्रको काठ कुहिएको देखेकाले त्यो बनाउनतिर लाग्ने घनश्यामको तर्क थियो । त्यस्तै गुरुयोजनाको प्रारुप सुरुवात हुनुभन्दा अघिदेखि नै सुरु भएका निर्माण प्रक्रिया मात्रै निर्माण भइरहेको हो उनले दावी गरे । उनले भने, ‘त्यो भन्दा पछि निर्माणमा कत्ति पनि हात हालेका छैनौँ ।’ 

तर अभियन्ताहरू उनको जवाफमा सहमत देखिएनन् । किनकि, अभियन्ताहरूसँग पशुपतिमा भएको गैरकानुनी कामका लामा लिस्ट थिए । जसमध्ये सर्वाेच्च अदालतको आदेशको अटेर गरेको पनि एक थियो । 

अभियन्ता सञ्जय अधिकारीका अनुसार सर्वाेच्च अदालतका न्यायाधीशहरु दीपक केसी र सपना प्रधान मल्लको इजलासले पशुपतिमा नियमविपरित काम नगर्नू भनेर आदेश दिएको थियो । तर कोषले त्यसलाई नटेरी श्लेसमान्तक बनमा सिमेन्ट काम धमाधम सकाएको, बनकालीमा कृपालु उद्यानको बोर्ड चढाएको, जथाभावी पशुपति क्षेत्रमा बत्ति जडान गर्ने काम भएको, इलेक्ट्रोनिक बोर्ड राखेको, शंकराचार्य मठमा कंक्रिटको प्रयोग भएको लगायत थुप्रै उदाहरणहरू सञ्जयले प्रस्तुत गरे ।

 २०७२ को भुकम्पले सम्पदामा क्षति पुर्‍याएपछि पुरातत्व विभाग र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सम्पदा पुननिर्माणको एउटा म्यानुअल बनायो ।  जसको १३ नम्बर बुँदामा स्थानीय जनताको सहभागिता भनेर स्पष्ट रूपमा राखिएको छ । तर यो नियम पालना नभएको अधिकारीले सुनाए ।  ‘स्थानीय जनताको सहभागिताको त कुरै छाडौँ, कोषले सरोकारवाला निकायलाई पनि खबर गरेको रहेनछ,’ उनले भने, ‘कोषले पशुपतिको ढुकुटी खोल्यो । ‘ढुकुटी खोल्दा पुरातत्व विभाग त बस्यो होला नि’ भनेर पुरातत्व विभागलाई सोध्दा विभागले ‘हामीलाई जानकारी छैन’ भनेर पत्रमा लेखेको छ ।’  

पशुपतिमा भएका गलत काममा पटकपटक ध्यानाकर्षण गर्दा समेत कोषले वास्ता नगरेको अभियन्ता गणपतिलाल श्रेष्ठले सुनाए । उनले भने, ‘हामीले पशुपति विकास कोष भनेर चिनिएको संस्थालाई पशुपति विनाश कोष भनेर मनन् गर्न नपरोस् ।’  

अहिले कोषले पशुपतिमा मन लाग्दी काम गर्दै गएको थुप्रै उदाहरणहरु छन् । प्राचीन स्मारक संरक्षण ऐन र विश्व सम्पदा सूचीका मापदण्ड फगत एक नियम बनेका छन् । जसको पालना भएको देखिँदैन । 

त्यसको ताजा उदाहरण हो, तामाको घ्याम्पो हटाएर चाँदि राखिनु । पशुपतिको मन्दिर भित्र भएको तामाको ठूलो घ्याम्पो हटाएर कोषले चाँदीको घ्याम्पो राखेको विषयमा पनि वैद्यले चासो देखाए । ‘विश्व सम्पदा सूचीमा भएको, प्राचीन स्मारक संरक्षण ऐन लागू भएको पशुपतिमा एउटाको कृति मासेर अर्काको कृति राख्ने अधिकार कोषलाई कसले दियो ?,’ उनले कोषका कार्यकारी निर्देशक खतिवडालाई ठाडै भने, ‘तपाईंहरू राजा होइन । तपाईं हाम्रो प्रतिनिधि हो । के तपाईंहरूलाई जे मन लाग्यो त्यही गर्न यहाँ पठाको हो ? प्राचीन स्मारक संरक्षण ऐन देखाउनलाई मात्र कि लागू पनि गर्नलाई ?’ 

बैद्यको कुरा सुनेर खतिवडा पनि चर्किए । उनले भने, ‘लडेको लोटा उठाउनलाई लिखित रूपमा विधि चाहिँदैन । लडेको लोटा उठाउन पाइन्छ । यो चाहिँ हामीले नि बुझेको कुरा हो । हामी पनि यहाँ राज्यले दिएर काम गर्न आएका हौँ । राज्यको नीति नियम भन्दा बाहिर नगइकन काम गर्छाैँ ।’

फेरि पनि कोषले कानुन भन्दा माथि गएर काम गरेमा नेपाल प्रहरीमा जाहेरी दर्ता गराउने अभियन्ताहरूले चेतावनीसमेत दिए । अभियन्ताहरूले कोषलाई दिएको पत्रमा पनि नेपालको संविधान, प्राचीन स्मारक संरक्षण ऐन २०१३ तथा मापदण्ड साथै सर्वाेच्च अदालतबाट प्रतिपादित सिद्धान्त समेत प्रतिकुल हुनेगरी भइरहेको निर्माण कार्य तत्काल रोकी, सो को प्रतिवेदन बनाई दोषी, निरिक्षक, ठेकेदार लगायत दोषी व्यक्ति तथा कर्मचारीहरूलाई प्राचीन स्मारक संरक्षण ऐन २०१३ को दफा १२ बमोजिम कारबाही गर्ने प्रकृया तत्काल अगाडि बढाउन अनुरोध गरेको छ ।  

पत्रमा लेखिएको छ, ‘यहाँहरूले कानून बमोजिम दायित्व निर्वाह नगरेमा हामी सर्वाेच्च अदालतमा निवदेन दिन बाध्य हुनेछौँ । दोषीलाई कारबाही नगरेमा यहाँहरूको संरक्षणमा यो काम भएको हो भनी हामी नेपाल प्रहरीमा जाहेरी दर्ता गराउन बाध्य हुनेछौँ ।’ यसका साथै पशुपति क्षेत्रको संरक्षार्थ चरणबद्ध अभियानको समेत घोषणा गर्ने जानकारी उनीहरूले गराए । 

र यो पनि, 

लथालिंग पशुपति, जता हेर्‍यो उतै विवाद
 

 

 


Author

सुनीता साखकर्मी

सामाजिक तथा सांस्कृतिक विषयमा कलम चलाउने साखकर्मी संवाददाता हुन्।


थप समाचार
x