खेलकुद

गण्डकीका ४ जिल्ला नवौं राष्ट्रिय खेलाउनबाट वञ्चित

धनबहादुर गुरुङ |
भदौ ३०, २०७९ बिहीबार १४:० बजे

पोखरा । पोखरामा करिब ३९ वर्षपछि आयोजना हुन लागेको नवौं खेलकुद प्रतियोगिता पटकपटकको मिति परिवर्तनसँगै खेल हुने पक्कापक्की जस्तै भएको छ । कोरोना महामारी, निर्वाचन, सरकार परिवर्तन, सदस्य सचिव परिवर्तनलगायत विविध कारणले शंकाको घेरामा रहेको प्रतियोगिता खेल तालिका सार्वजनिक भएको छ । योसँगै राष्ट्रिय खेलकुद परिषद्ले पछिल्लो समय सार्वजनिक गरेको असोज २८ देखि कात्तिक ३ गतेसम्मको समयमा प्रतियोगिता हुने निश्चित भएको हो । 

देश संघीय संरचनामा गइसकेपछि पहिलोपटक हुन लागेको प्रतियोगिताको गण्डकी प्रदेशको राजधानी पोखरामा उद्घाटन र समापन हुने निश्चित थियो । औपचारिक कार्यक्रम पोखरामा हुने भनिए पनि प्रतियोगितामा हुने खेलहरु प्रदेशका ११ वटै जिल्लामा खेलाइने नयाँ योजना बनाइयो । यसका लागि खेल व्यवस्थापन उप समितिको संयोजकमा राखेप सदस्य राजेश गुरुङलाई तोकियो । गुरुङले पनि प्रदेशका ११ वटै जिल्लामा पुगेर खेल मैदान र स्थान अवलोकन गरे । गण्डकीका ११ वटै जिल्ला समेट्ने गरी एक किसिमको खाका तयार गरेर केन्द्रमा पठाए । सोही आधारमा केन्द्रले खेल स्थल र समय तालिका बनायो ।


राष्ट्रिय खेलकुद परिषद्ले बुधबार पोखरामा पत्रकार सम्मेलन गरेर ३६ खेल हुने स्थान र मिति सार्वजनिक गरियो । तर, त्यसमा ७ वटा जिल्ला मात्र समेटिएको छ । अधिकांश खेल पोखरालक्षित तालिकामा मनाङ, मुस्ताङ, लमजुङ र तनहुँ समेटिएको छैन । राजेश गुरुङ नेतृत्वको टिमले तयार गरेको खेस्रामा मनाङमा बुद्धिचाल (महिला-पुरुष), मुस्ताङमा टेबल टेनिस (महिला-पुरुष), लमजुङमा कराते (महिला-पुरुष) र तनहुँमा बास्केट बल (महिला-पुरुष) का खेल समावेश थियो । 

तर, फाईनल लिष्ट तयार गर्ने समयमा बाध्यात्मक अवस्थाका कारण ती जिल्लामा प्रतियोगिता गर्न असमर्थ रहेको राखेपले जनाएको छ । प्राविधिक उपसमिति संयोजक हिमालराज दाहालले गण्डकीका ११ वटै जिल्लामा प्रतियोगिता पुर्‍याउने लक्ष्य राखे पनि सम्भव नभएको बताए । 

‘मनाङ, मुस्ताङ जस्ता हिमाली जिल्लामा त्यतिबेलाको मौसमको अवस्था, बाटोको पहुँचलगायत जोखिम केलायौं,’ उनले भने, ‘त्यहाँ प्रतियोगिता गर्न नसकिने बाध्यात्मक अवस्था सिर्जना भयो ।’ जिल्लागत रुपमा भएका भौतिक संरचना र खेलाउन सकिने खेलसँगै भौगोलिक अवस्था, यातायात सुविधा, स्वास्थ्य संस्थालगायतको उपलब्धता हेरी खेलस्थल तय गरिएको उनको भनाइ छ ।

खेल तालिका अनुुसार ३६ खेलहरुमध्ये कास्कीमा २९, नवलपुरमा, म्याग्दी र काठमाडौंमा दुई खेल हुने भएका छन् । यसैगरी स्याङजा, गोरखा, पर्वत, बाग्लुङमा एक–एक खेलहरु सञ्चालन हुने छन् । नवलपुरमा नवलपुर कुस्ती (महिला-पुरुष) र सेपाकताक्रो (महिला-पुरुष), म्याग्दीमा तेक्वान्दो (महिला-पुरुष), भलिबल (महिला), स्याङजामा फुटबल (महिला), पर्वतमा कराँते (महिला-पुरुष) , गोरखामा बृद्धिचाल (महिला-पुरुष), बाग्लुङमा आई टि एफ तेक्वाण्दो (महिला-पुरुष), काठमाडौंमा सुटिङ (महिला-पुरुष), क्रिकेट (पुरुष) खेल हुनेछन् । 

यीमध्ये स्याङ्जामा हुने भनिएको महिला फुटबलका लागि पोखरा रंगशाला, पिएन क्याम्पसको मैदान वैकल्पिकमा राखिएको छ । यदि स्याङ्जाको वालिङमा महिला फुटबल नभएमा स्याङ्जा पनि नवौं राष्ट्रिय खेल खेलाउनबाट बञ्चित हुनेछ । 

कास्कीमा हुने खेलहरुमा फुटबल (पुरुष), एथलेटिक्स (महिला-पुरुष), बक्सिङ (महिला-पुरुष), भारोत्तोलन (महिला-पुरुष), भलिबल (पुरुष), व्याडमिन्टन (महिला-पुरुष), उसु (महिला-पुरुष), जुडो (महिला-पुरुष), ह्याण्डबल (महिला-पुरुष), हक्की (महिला-पुरुष), स्क्वास (महिला-पुरुष), जिम्न्याष्टिक (महिला-पुरुष), टेनिस (महिला-पुरुष), सफ्टटेनिस (महिला-पुरुष), क्रिकेट (महिला), साइक्लिङ (महिला-पुरुष), आर्चरी (महिला-पुरुष), पौडी (महिला-पुरुष), गल्फ (महिला-पुरुष), प्याराग्लाइडिङ (महिला-पुरुष), ट्रायथलन (महिला-पुरुष), रग्बी (महिला-पुरुष), फुटबल (महिला), बास्केटबल (महिला-पुरुष), फेन्सीङ्ग (महिला-पुरुष), फुलकन्ट्याक्ट कराते (महिला-पुरुष), शारीरिक सगठन (महिला-पुरुष), टेबल टेनिस (महिला-पुरुष), कबड्डी (महिला-पुरुष) र खोखो (महिला-पुरुष) रहेका छन् । 

पत्रकार सम्मेलन मै नवौं राष्ट्रिय खेलकुदको आधिकारिक वेबसाइट र एप्लिकेसन (एप) को सुरुवात गरिएको छ । खेलकुदमन्त्री गहतराजले राष्ट्रिय खेलकुदलाई सानदार र भव्यतापूर्वक सम्पन्न गर्न कुनै कसर बाँकी नराख्ने दाबी गरे । विगतमा भएका कमी कमजोरीलाई सच्याउँदै यो पटकको प्रतियोगिता भव्य बनाउने उनले बताए । प्रतियोगितामा सात प्रदेश, तीन विभागीय र एक गैरआवासीय नेपाली संघ गरी ११ टिम सहभागी छन् । जहाँ ३६ खेलको ४ सय ४ विधामा १ हजार ३ सय ८६ पदकका लागि ७ हजार ७ सय ९९ खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । 


Author

थप समाचार
x