खेलकुद

विवादै विवादको घेरामा नवौँ राष्ट्रिय खेलकुद : कयौँ कीर्तिमानमाथि प्रश्न !

सञ्जीव शाह |
कात्तिक २, २०७९ बुधबार ६:४५ बजे

पोखरा - गण्डकी प्रदेशमा जारी नवौँ राष्ट्रिय खेलकुद विवादै विवादले घेरिएको छ । राष्ट्रिय खेलकुद औपचारिक रुपमा सुरु हुनुअघि काठमाडौँमा आयोजना भएको पुरुष क्रिकेट प्रतियोगिताका अधिकांश खेलहरू वर्षाका कारण रद्द भए । तर रद्द भएका खेलहरू पुनः खेलाइएनन्, अझ आश्चर्यको कुरा के थियो भने कास्य पदकको निर्णय नै टसबाट गरिएको थियो । 

सुदूरपश्चिम प्रदेश र एनआरएनए टिमबीचको तेस्रो स्थानको विजेता केवल टस जितेकै भरमा सुनिश्चित गरिएको थियो । जसमा सुदूरपश्चिम प्रदेशले कास्य हात पार्‍यो । यता गण्डकी प्रदेशमा प्रतियोगिता जारी रहँदा एनआरएनएको फुटबल टिमले नेपाली राष्ट्रिय फुटबल टिमका आठ खेलाडीलाई समावेश गरेपछि फुटबल पनि विवादमा पर्‍यो । प्रोटेस्टपछि एनआरएनएले नेपाली खेलाडीलाई खेलाउन पाएन । 


अर्कोतर्फ नवौँ राष्ट्रिय खेलकुदका लागि एक निजी विद्यालयको पौडी पोखरी प्रयोग भए पनि त्यसको लम्बाई तोकिएको मापदण्ड अनुसार नरहेको भन्दै विवाद भइरहेको छ । आयोजकले भने यसबारे कुनै ठोस निर्णय लिन नसक्दा पौडीमा कायम भएका कैयौं कीर्तिमानहरू विवादित बनिरहेका छन् । 

एथलेटिक्सतर्फ पनि ह्यान्ड टाइमिङको प्रयोगका कारण राष्ट्रिय खेलकुदका दौरान कायम हुने कीर्तिमानहरूको कुनै अर्थ नरहने निश्चित छ । अर्कोतर्फ अन्य देशका लागि खेलिसकेका एथलेटिक्स खेलाडीले समेत नेपालमा राष्ट्रिय खेलकुदमा सहभागिता जनाउँदा सहभागी टिमका पदाधिकारीहरूले असन्तुष्टि व्यक्त गरेका छन् । 

राष्ट्रिय खेलकुदमा सहभागी एनआरएनएले पर्याप्त खेलाडी नल्याउने तथा नेपाली खेलाडीलाई नै प्रतियोगितामा सहभागी गराउने भए पनि नेपाली खेलाडीहरूले अन्तिम समयमा सहभागिता नजाउने भएपछि एनआरएनएले पनि कतिपय खेलमा वाकओभर दिनुपरेको छ । 

अर्कोतर्फ बागमती र सुदूरपश्चिम प्रदेशबीचको कब्बडी खेल चलिरहँदा बागमती प्रदेशका प्रशिक्षकले रेफ्रीमाथि हातपातसमेत गरे । रग्बी खेलमा पनि पटक पटक विवाद जारी रहेको छ । भलिबल खेलका लागि पुरानो म्याट प्रयोग गरिएको तथा भएका म्याटलाई पनि सही तरिकाले प्रयोग नगरिएपछि लडेर खेलाडी घाइते हुन पुगे । 

एकै पटक तीन खेलाडी घाइते भएपछि खेल नै स्थगित गर्नुपरेको थियो । त्यसबाहेक गण्डकी प्रदेशका प्रेम कुमालको लडेर खुट्टा नै भाँचियो र उनको उपचारका लागि चन्दा नै संकलन गर्नुपरेका थियो । त्रिभुवन आर्मी क्लबका खेलाडीको मृत्यु भएपछि प्याराग्लाइडिङ प्रतियोगिता नै सरकारले बन्द गर्ने अवस्था आयो ।


Author

सञ्जीव शाह

सञ्जीव शाह इकागजका स्पोर्टस् ब्यूरो चिफ हुन् ।


थप समाचार
x