खेलकुद

एथलेटिक्समा किन पदकविहीन छ मधेश प्रदेश ?

सञ्जीव शाह |
कात्तिक २, २०७९ बुधबार १०:५९ बजे

पोखरा- नवौँ राष्ट्रिय खेलकुद अन्तर्गतको एथलेटिक्समा मधेश प्रदेशले अहिलेसम्म कुनै पनि पदक जित्न सकेको छैन । जम्मा ३७ इभेन्टमध्ये बाँकी रहेको सातवटा इभेन्टमा पनि पदक जित्ने सम्भावना कमै देख्छन् मधेश प्रदेशका प्रशिक्षक ।

३० इभेन्टममा अहिलेसम्म मधेशले कुनै पनि पदक ल्याउन नसकेको मधेशको महिला एथलेटिक्स टिमका प्रशिक्षक दिपेन्द्र कुमार गोइत बताउँछन् । उनलाई लाग्छ बाँकी इभेन्टमा पनि मधेशले पदक जित्ने सम्भावना कमै छ ।


खासमा केही दिनको छनोट तथा अभ्यासकै भरमा मधेश प्रदेशका खेलाडीहरूले राष्ट्रिय खेलकुदमा सहभागिता जनाउँदैछन् । साथै खेलाडीहरूमा निरन्तर अभ्यासको पनि कमी छ ।

'मधेशका खेलाडीहरूको निरन्तर अभ्यास छैन । शारीरिक रूपमा सक्षम भए पनि निरन्तर अभ्यास नभएका कारण पदक जित्न सकेका छैनन्,' प्रशिक्षक दिपेन्द्रले बताए ।   

उनका अनुसार लामो समय अभ्यास गरेको भए पदकको अपेक्षा गर्न सक्ने ठाउँ थियो ।

'कम्तिमा पनि तीन हप्तासम्मको बन्द प्रशिक्षण र निरन्तर अभ्यास भएको भए पनि पदकको जित्ने सम्भावना रहन सक्थ्यो । तर केवल चार दिनको बन्द प्रशिक्षणपछि मात्र मधेशका एथलेटिक्स खेलाडीहरूले राष्ट्रिय खेलकुदमा सहभागिता जनाए,' दिपेन्द्रले थपे ।  

विभागीय टोलीका खेलाडीहरू निरन्तर अभ्यासमा रहने भएका कारण पनि उनीहरूसँग प्रतिस्पर्धा गर्न मधेशका खेलाडीहरूलाई सहज नभएको उनी बताउँछन् ।

'मधेशले पदक जित्न व्यक्तिगत खेलहरूमा लगानी गर्न सक्नुपर्छ,' उनी बताउँछन् ।

तर मधेशमा रहेका राम्रा खेलाडीहरूलाई विभागीय टिमले लिएर जाने भएका कारण पनि प्रतियोगितामा पदक जित्न सफल हुन नसकेको उनले थपे ।


Author

सञ्जीव शाह

सञ्जीव शाह इकागजका स्पोर्टस् ब्यूरो चिफ हुन् ।


थप समाचार
x