खेलकुद

सर्जियो अग्वेरो अन्ततः बार्सिलोनामा

इकागज |
जेठ १७, २०७८ सोमबार २०:३० बजे

फाइल तस्बिर

काठमाडौँ: सर्जियो अग्वेरो अन्ततः बार्सिलोनासँग अनुबन्धित भएका छन् । भर्खरै सकिएको इंग्लिस प्रिमियर लिग उपाधि जितेका अग्वेरो म्यानचेस्टर सिटीबाट स्पेन पुगेका हुन् । सिटीसँगको सम्झौँता सकिएसँगै अग्वेरो ‘फ्रि-एजेन्ट’ का रुपमा बार्सिलोना गएका हुन् । यससँगै अर्जेन्टिनाका ३२ वर्षिय स्ट्राइकर अग्वेरोको आफ्नै मुलुकका लियोनल मेस्सीसँग एउटै क्लबबाट खेल्ने सपना पूरा भएको छ । 

बार्सिलोनासँगको सम्झौँता अनुसार अग्वेरो क्याम्प नौउमा सन् २०२३ सम्म रहने छन् । अग्वेराले सोमबार नै बार्सिलोनाका अध्यक्ष जोआन लार्पोटासँग भेट गर्नेछन् । पूर्व एथ्लेटिको म्याड्रिड स्ट्राइकर अग्वेरो जुलाई १ देखि बार्सिलोनाको औपचारिक खेलाडी हुनेछन् । 


अग्वेरोले गत शनिबार सिटीका लागि अन्तिम खेल खेले । च्याम्पियन्स लिगको फाइनलमा चेल्सीविरुद्धको खेल सिटीबाट उनले खेलेको अन्तिम खेल बन्यो । बार्सिलोनासँग सम्झौँता गर्न स्पेन पुगेका अग्वेरो उतैबाट अर्जेन्टिना लाग्नेछन् । जहाँ उनको टिमले विश्वकप छनौट अन्तर्गत चिली र कोलम्बियाको सामना गर्ने तालिका छ । 

अग्वेरोले सिटीमा १० वर्ष बिताए । त्यस दौरान उनले इंग्लिस क्लबबाट पाँच लिग उपाधि जिते । त्यस्तै एक एफए कप र ६ लिग कप पदक पनि उनले सिटीबाट जिते । पछिल्लो समय पेप ग्वार्डिओलाको प्रमुख स्ट्राइकर बन्न नसकेका अग्वेरो सिटीका सर्वकालिन उच्च गोलकर्ता हुन् । सन् २०११ मा म्यानचेस्टर सहर पुगेका अग्वेरोले सिटीका लागि ३ सय ९० खेलमा २ सय ६० गोल गरे ।     
 


Author

थप समाचार
x