खेलकुद

विश्वकप छनौट : अल्मुताइरीको रणनीति चल्दा नेपालको खातामा तीन अंक

इकागज |
जेठ २१, २०७८ शुक्रबार १०:१८ बजे

काठमाडौँ : विश्वकप छनौटमा नेपालले चाइनिज ताईपेईविरुद्ध दोस्रो जित निकालेको छ । बिहीबार राति कुवेत सिटीको जाबेर अल हमाद अन्तराष्ट्रिय रंगशालामा अन्जन विष्ट र नवयुग श्रेष्ठले एक-एक गोल गरेपछि बिहीबार राति नेपालले चाइनिज ताईपेईलाई २-० ले हरायो । 

यसअघि सेप्टेम्बर, २०१९ मा सम्पन्‍न पहिलो लेगमा पनि नेपाल २-० को अन्तरले नै विजयी भएको थियो । दुवै गोल अन्जनले गरेका थिए । ताइवानलाई दोस्रो पटक हराएपछि नेपालले विश्वकप छनौटको दोस्रो चरणमा छ खेलबाट छ अंक बटुलेको छ । नेपालसँग यसकपटक नयाँ कीर्तिमान बनाउने मौका पनि छ । यसअघिका विश्वकप छनौटमा तीन जित दर्ता गर्न नसकेको नेपालले आगामी साता अस्ट्रेलिया वा जोर्डनलाई स्तब्ध बनाउन सके कीर्तिमान राख्‍नेछ । 


खेल अघि चाइनिज ताईपेईबारे गहिरो अध्ययन गरेकाले जित सम्भव भएको नेपालका मुख्य प्रशिक्षक अब्बदुल्लाह अल्मुताइरीको भनाइ थियो । ‘हामीले चाइनिज ताईपेइको खेलबारे अध्धयन गरेका थियौँ । त्यसकारण पनि हामीले सकारात्मक नतिजा निकाल्न सक्यौँ । सुरुवाती गोल गरे खेलमा नियन्त्रण जमाउन सकिन्छ भन्‍ने आत्मविश्वास थियो । हामी आफ्नो योजनामा सफल भयौँ,’ नेपालको मुख्य प्रशिक्षकमा नियुक्त भएपछि पहिलो आधिकारिक खेलमै जित हासिल गरेको अल्मुताइरीले भने । 

नेपालले चाइनिज ताईपेइविरुद्ध तेस्रो मिनेटमै गोल गरेकाे थिए । चाइनिज ताईपेईका चेङ हावोले पेनाल्टी क्षेत्रमा ह्यान्ड गरेपछि नेपालले पेनाल्टीको मौका पाएको थियो । जसमा अन्जन चुकेनन् । दोस्रो गोलमा पनि अन्जनको संलग्‍न ता रह्यो । अन्जनले बल चाइनिज ताईपेईको पेनाल्टी क्षेत्रमा पुर्‍याएर लेफ्ट ब्याक सुमन अर्याललाई पास दिएका थिए । त्यसपछि सुमनले दिएको क्रसलाई नवयुगले ‘वान टच’ गोलमा परिणत गरे । 

इराकसँगका मैत्रीपूर्ण खेलमा उतारिएको टिममा अल्मुताइरीले केही परिवर्तन गरेका थिए । मनिष डाँगी र नवयुगको स्थानमा क्रमशः सुनिल बल र आशिष लामालाई पहिलो एघारमा मौका दिइयो । चाइनिज ताईपेईले नेपालको पछिल्लो खेल हेरेर रणनीति बनाउन सक्ने भएकाले पहिलो एघारमा परिवर्तन गरिएको अल्मुताइरीको भनाइ थियो । ‘हाम्रो रणनीति पहिलो एघारमा परिवर्तन गर्ने नै थियो । उनीहरुलाई सुनिल र आशिषकका बारेमा थाहा नभएको अनुमान थियो । रणनीतिले काम गर्‍यो,’ अल्मुताइरीको भनाइ थियो ।

समूह बीकै अर्को खेलमा अस्ट्रेलियाले कुवेतमाथि ३-० को जित दर्ता गर्‍यो । जितसँगै शीर्षस्थानको अस्ट्रेलियाले पाँच खेलबाट १५ अंक बनाएको छ । त्यस्तै पराजित कुवेत र जोर्डनको खातामा १०-१० अंक छ । यद्यपि जोर्डनले एक खेल कम खेलेको छ । नेपालले अब जुन ७ मा जोर्डनको सामना गर्नेछ भने त्यसको चार दिनपछि अस्ट्रेलियासँग भिड्नेछ ।


Author

थप समाचार
x