खेलकुद

युएसए ओपन करातेमा एरिका र विप्लवले सहभागिता जनाउँदै

इकागज |
चैत १२, २०८० सोमबार १५:३७ बजे

काठमाडौँ- युएसए ओपन अन्तर्राष्ट्रिय कराँते प्रतियोगितामा एसियाडकी ऐतिहासिक पदक विजेता एरिका गुरुङ र विप्लवलाल श्रेष्ठले प्रतिस्पर्धा गर्ने भएका छन् ।

अमेरिकाको टेक्सासमा मार्च २६ देखि ३१ तारिखसम्म हुने प्रतियोगितामा एरिकाले महिला ६८ केजीमाथि तथा विप्लवले पुरुष ८४ केजीमाथि तौलसमूहमा नेपालको चुनौती प्रस्तुत गर्ने छन् ।


एरिकाले गत असोजमा चीनको हाङझावमा भएको १९ औँ एसियाली खेलकुदमा ऐतिहासिक रजत पदक जितेकी थिइन् । एसियाली खेलकुदमा एरिकाले जितेको रजत कुनैपनि नेपाली कराते खेलाडीले जितेको पहिलो र एकमात्र हो । एरिका इन्डोनेसियामा भएको १० औँ विश्व सितोरियो कराते च्याम्पियनसिपकी स्वर्ण विजेता पनि हुन् । विप्लव १३ औँ दक्षिण एसियाली खेलकुदका स्वर्ण विजेता हुन् ।

प्रशिक्षकमा दीपक श्रेष्ठ र कुशल श्रेष्ठ रहेका छन् । कुशल बाहेक ३ सदस्यीय टोली सोमबारै अमेरिका प्रस्थान गर्ने छन् । कुशल भने मंगलबार जाने छन् ।

टोलीलाई सफलताको शुभकामना दिँदै राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले सोमबारै एक कार्यक्रमबीच बिदाइ गरे । उनले विगतको सफलतामा मात्र खुशी भएर बस्नु भन्दा पनि आगामी प्रतियोगितामा अझ राम्रो नतिजा ल्याउने गरी प्रदर्शन गर्न सुझाए ।


Author

थप समाचार
x