खेलकुद

डोभियकको नायकत्वमा आन्द्रे सेभचेन्कोले कोरेको युक्रेनी इतिहास

इकागज |
असार १६, २०७८ बुधबार १८:१८ बजे

काठमाडौँ: हाम्पेडेन पार्क स्कटल्यान्डको राष्ट्रिय फुटबल टिमले खेल्ने रंगशाला हो । ग्लास्गोको यस रंगशाला युक्रेनका लागि फाप्यो । जहाँ आन्द्रे सेभचेन्कोको टिमले मंगलबार राति स्विडेनलाई २–१ ले हरायो । र, युरो २०२० को क्‍वार्टरफाइनल प्रवेश गर्ने अन्तिम टिम बन्यो । 

जितपछि युक्रेनका खेलाडी तथा अन्य टिम सदस्य आफ्ना समर्थकतर्फ फर्केर ताली बजाइरहेका थिए । उनीहरूलाई धन्यवाद दिइरहेका थिए । समर्थकका अगाडि ‘थन्डर क्लापिङ’ गरिरहेको युक्रेनी टोलीको नेतृत्व गरिरहेका थिए, तीन जनाले । सेभचेन्को, अलेक्सान्दर जिन्चेन्को र आर्टेम डोभियक । 


सेभचेन्को त युक्रेनका सर्वकालिन महान् खेलाडी र अहिलेका प्रशिक्षक भइहाले । जिनचेन्को टिमका सबैभन्दा ठूला स्टार । जो इंग्लिस प्रिमियर लिग च्याम्पियन हुन् । अनि डोभियक युक्रेनका पछिल्ला नायक । यीनै नायकले निर्णायक गोल गरेपछि युक्रेन युरोको अन्तिम आठमा पुग्यो । त्यो पनि इतिहासमा पहिलो पटक । महादेशिय प्रतियोगितामा कुल तीन पटक भाग लिएको युक्रेन यसअघि समूह चरणबाटै बाहिरिने गरेको थियो । 

हाम्पेडेन पार्कमा निर्धारित समयमा दुवै टिमबाट एक–एक गोल भयो । तसर्थ खेल आतिरिक्त समयतर्फ धकेलियो । तर थपिएको आधा घण्टामा पनि निर्णयक गोल भएन । त्यसपछि रेफ्रीले तीन मिनेट समय थपेको संकेत गरे । रेफ्रीको संकेतको एक मिनेटपछि नै डोभियकले हेडर गोल गरे । युक्रेनले असाधारण शैलीमा प्रि–क्वार्टरफाइनल खेललाई पेनाल्टीमा जानबाट रोक्यो । त्यसपछि मैदानमा देखिएको दृश्य हेर्न लायकको थियो । 

गोलकर्ता डोभियकसँगको गोलको खुशीयाली मनाउन युक्रेनको बेन्चमा रहेका सबै टचलाइनसम्म पुगे । पहिलो एघारमा नपरेका खेलाडी देखि टिम डाक्टरसम्मले डोभियकलाई थिचे । अवाक् बनेका प्रशिक्षक सेभचेन्को खुशीयाली मनाउने शैलीबारे सोच्दै थिए । त्यत्तिकैमा उनलाई साथ दिन गोलरक्षक जर्ज बुस्चान आइपुगे । हाम्पेडनमा रहेका पहेलो जर्सीधारी समर्थक उफ्रिन थाले । पहेलै जर्सी लगाएका स्विडिस दर्शक भने कुर्सिबाट उठ्न सकेनन् । 

युक्रेनको जित सायदै कसैले अपेक्षा गरेको थियो । हुन त स्पेनले क्रोएसियाविरुद्ध तीन मिनेटभित्र दुई गोल गर्ला भनेर कसले सोचेको थियो र ? त्यो भन्दा पनि अनपेक्षित त, फ्रान्सको पराजय । अनि केही घण्टा अगाडि इंगल्यान्ड र जर्मनीबीचको नतिजा । 

समूह चरणमा स्विडेनको प्रदर्शन मजबुत रह्यो । स्पेनलाई बराबरीमा रोकेको स्विडेनले स्लोभाकिया र पोल्यान्डलाई हराएको थियो । उता युक्रेनको खेल भने निरस थियो । उत्तरी म्यासिडोनियालाई हराएकै भरमा युक्रेनले अन्तिम १६ को यात्रा तय गर्‍यो । तर युक्रेनले प्रमाणित गरिदियो, विगतको नतिजाले वर्तमानमा असर गर्दैन ।

खेल अघि नै प्रस्ट थियो, युक्रेन र स्विडेन फरक शैलीमा खेल्ने टिम हुन् । दुवै टिमले आक्रमण उत्तिकै संख्यामा गरे । तर स्विडिस आक्रमण बढी धारिला थिए । यद्यपि बल पोसेनमा युक्रेन बलियो दखियो । नेदरल्यान्ड्ससँग पराजित हुँदा युक्रेनले गोलको मौका सिर्जना नगरेको होइन । तर रक्षापंक्तिमा युक्रेन फितलो देखियो । अस्ट्रियाविरुद्ध युक्रेनको प्रदर्शन बिर्सनलायकको थियो । सेभचेन्कोका खेलाडीहरूले मुस्किलले केही आक्रमण बुने । म्यासिडोनियासँगको खेलमा फेरि रक्षापंक्तिकै समस्या दोहोरियो । 

स्विडेनविरुद्ध सेभचेन्कोले संरचना परिवर्तन गरे । ४–३–३ को साटोमा ५–३–२ संरचनाको प्रयोग गरे । फलस्वरुप मिडफिल्डरद्वय भिटाली माइकोलेन्को र रुसलान मालिनोभस्की पहिलो एघारमा परेनन् । पछिल्ला खेलहरूमा मिडफिल्डमा खेलेका जिन्चेन्को लेफ्ट विङमा सरे । जुन उनको सिटीमा खेल्ने पोजिसन हो । स्विडेन भने आफ्नो ४–४–२ को संरचनामा अडिग रह्यो । 

९८ औँ मिनेटमा मार्कस डानियलसनले रातो कार्ड खाएपछि स्विडेन १० जनामा सीमित भयो । त्यसबेला सम्म दुवै टिमबाट छ–छ खेलाडी परिवर्तन भइसकेका थिए । यस्तो लाग्थ्यो सेभचेन्को र जाने एन्डरसन पेनाल्टी सुटआउटको प्रतिक्षामा थिए । तर जिन्चेन्को आतिरित्त समयभित्रै नतिजा आफ्नो पक्षमा ल्याउन प्रयासरत थिए । उनी क्रस दिन माहिर छन् । कतिपय क्रस साथी खेलाडीको खुट्टासम्मै पुर्‍यादिन्छन् भने कतिपय क्रस विपक्षी रक्षक नभएको ठाउँमा । यसपटक जिन्चेन्कोका क्रस डोभियकले भेटे । भिक्टर लिन्डेलोफ र फिलिप हेलान्डरकोबीचमा रहेका डोभियकले हेडर गरे ।  

डोभियकले समूह चरणका कुनै पनि खेलमा मौका पाएनन् । २४ वर्षीय स्ट्राइकरका लागि युरोको सुरुवात नै स्विडेनसँगको खेलबाट भयो । सेभचेन्कोले उनलाई युरोका लागि टिममा बोलाउनु नै अनपेक्षित थियो । उसो त १९ वर्षकै उमेरमा उनी युक्रेनको सिनियर टिममा बोलाइएका थिए । तर मैदानमा उत्रन भने उनले केही वर्ष पर्खनु पर्‍यो । गत मार्चमा उनले युक्रेनका लागि पहिलो खेल खेले । विश्वकप छनौट अन्तर्गत काजाकस्तिानसँगको खेलमा उनी नौ मिनेट मैदानमा रहे । मंगलबारको खेलबाट उनले अन्तराष्ट्रिय प्रतियोगितामा डेब्यु गरे । 

उनको क्लब करियर पनि कम रोचक छैन । उनी आबद्ध एससी डिनिप्रो वान सन २०१७ मा मात्रै स्थापना भएको हो । युक्रेनको प्रख्यात क्लब एफसी डिनिप्रो बन्द भएपछि डिनिप्रो वान स्थापना भएको हो । उसो त डोभियकले करिब दुई वर्ष एफसी डिनिप्रोबाट खेलेका थिए । तर क्लब बन्द भएपछि उनी डेनमार्कको एफसी मिज्जील्यान्डतर्फ लागे । गत अगस्टमा भने उनी घर फर्किए । 

सानै उमेरमा स्टार बनेका डोभियकको क्लब करियर अपेक्षा गरे अनुसारले अघि बढ्न सकेको छैन । गत सिजन युक्रेनको पहिलो श्रेणीमा उनले जम्मा ६ गोल गरे । त्यसअघि डेनमार्कमा पनि उनको प्रदर्शन फितलो रहेको थियो । तर क्लब फुटबलमा जे जस्तो खेल देखाए पनि डोभियक मंगलबारदेखि युक्रेनका नायक बनिसकेका छन् । नायक बन्न उनलाई जम्मा १६ मिनेट मात्रै लाग्यो । ठ्याक्कै १२० औँ मिनेट ३७ औँ सेकेन्डमा गोल गरेका डोभियकले युरोपियन च्याम्पियनसिपको इतिहासमा नाम पनि लेखाए । युरोमा उनी भन्दा ढिलो गोल गर्ने उनी टर्कीका सेमिह सेन्टर्क मात्रै हुन् । 
 

दी एथ्लेटिकको सहयोगमा 


Author

थप समाचार
x