खेलकुद

टोकियो ओलम्पिकमा सहभागिता रद्द गर्ने गिनी दोस्रो मुलुक

इकागज |
साउन ७, २०७८ बिहीबार १९:४४ बजे

काठमाडौँ - टोकियो ओलम्पिकमा सहभागिता रद्द गर्ने गिनी दोस्रो मुलुक बनेको छ । टोकियोमा शुक्रबारबाट औपचारिक रुपमा सुरु हुने ओलम्पिकमा गिनीका पाँच खेलाडी सहभागी हुँदै थिए । तर कोभिड–१९ महामारीका कारण उसले ओलम्पिकका लागि टोली नपठाउने घोषणा गरेको हो । यसअघि नै उत्तर कोरियाले आफू ओलम्पिकमा सहभागी नहुने बताइसकेको छ । 

गिनीका खेलकुदमन्त्री सानौसी बान्टामाले विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘कोभिड–१९ का विभिन्न भेरिएन्टले विश्वलाई आक्रान्त बनाइरहेका छन् । यस्तोमा हामीले आफ्नो टोली जापान नपठाउने निर्णय गरेका हौँ । किनभने हाम्रा लागि खेलाडीहरुको स्वास्थ्य महत्वपूर्ण छ ।’ 


केही दिनअघि मात्रै गिनीको ओलम्पिक कमिटीले सरकारबाट बजेट प्राप्त भएकाले खेलाडीहरूलाई ३२ औँ ओलम्पिकमा पठाउन ढोका खुलेको बताएको थियो । तर खेलकुद मन्त्रालयको पछिल्लो निर्णयले गिनीका खेलाडीहरु निराश बनेका छन् । 

‘आयोजक जापान आफैँ महामारीसँग जुधिरहेको छ । तर, उसले ओलम्पिक रद्द गर्नेतर्फ सोचेन । विश्वका प्राय सबै मुलुकका टिम टोकियोमा भेला भइसके । तर हाम्रो सरकारले किन ओलम्पिकमा सहभागिता रद्द गर्ने निर्णय लिएको ? यसको उत्तर साय म कहिले पनि पाउन सक्दिन,’ गिनीका तर्फबाट ओलम्पिकमा भाग लिने भनिएका कुस्ती खेलाडी फाटौमाता यरी कामाराले भनिन् । 

कामारा बाहेक मामादौ ताहिरौ बाह (पौडी), फातौमाता लामाराना टुरे (पौडी), आसिसता डिन कोन्टे (एथ्लेटिक्स) र मामादौ साम्बा बाह (जुडो) टोकियो ओलम्पिकमा सहभागी हुन लागेका थिए । गिनीले हालसम्म ११ पटक ओलम्पिकमा सहभागिता जनाइसकेको छ । तर, कुनै पनि पदक जित्न सकेको छैन । एपीबाट 


Author

थप समाचार
x