खेलकुद

ओलम्पिक २०२० : जोकोभिचको नजर ‘गोल्डन स्लाम’ माथि

इकागज |
साउन ७, २०७८ बिहीबार २१:८ बजे

काठमाडौँ- नोभाक जोकोभिचले यस वर्ष (सन् २०२१) तीन ग्रान्डस्लाम जितिसकेका छन् । गत महिना विम्बल्डन विजेता बनेका सर्बियन जोकोभिचलाई अस्ट्रेलियन ओेपन र फ्रेन्च ओपनमा पनि हराउने कोही भएन । अब अंग्रेजी क्यालेन्डरको अगस्टमा यूएस ओपन हुँदैछ । तर, त्यसअघि उनको नजर ओलम्पिकको स्वर्ण पदकमाथि छ ।

हो, जोकोभिच ‘गोल्डन स्लाम’ उपलब्धी नजिक छन् । वर्षको चारै ग्रान्डस्लाम र ओलम्पिक पदक जिते जोकोभिचले नयाँ कीर्तिमान बनाउनेछन् । उनी एउटै वर्ष चार ग्रान्डस्लाम र ओलम्पिकमा स्वर्ण विजेता बन्ने पहिलो पुरुष टेनिस खेलाडी हुनेछन् । हालसम्म जर्मनीकी स्टेफी ग्राफले मात्रै यस्तो कीर्तिमान राख्‍न सकेकी छिन् । 


शनिबार जोकोभिचले पुरुष एकलतर्फको स्पर्धामा ह्युागो डेलियनको सामना गर्दैछन् । बोलिभियाका डेलियनविरुद्धको खेलसँगै उनको ओलम्पिक यात्रा सुरु हुँदैछ । ओलम्पिक सफलताले जोकोभिचलाई एउटा महत्वपूर्ण दौडमा बलियो बनाउनेछ । त्यो भनेको टेनिसको सर्वकालिन महान् खेलाडी बन्‍ने दौड नै हो । त्यो पनि रोजर फेडेरर र राफाएल नाडाललाई उछिनेर । 

यद्यपि जोकोभिच आफैँ भने सर्वकालिन महान् खेलाडीको बहसमा अल्झिन चाहँदैनन् । अनि उनी ओलम्पिकमा आउने नतिजाबारे पनि धेरै सोचिरहेका छैनन् । ‘म बहसमा भाग लिन चाहन्न । मलाई अन्य खेलाडीसँग तुलना हुनु छैन । अनि म कुनै पनि ऐतिहासिक उपलब्धीको नजिक पुगिसकेको छैन । हो, यो उपलब्धी हासिल गर्ने सम्भावना छ । फेरि मैले यस ठाउँसम्म आइपुग्न मैले मेहेनत पनि गरेको छु । तर अहिलेका लागि म ओलम्पिकमै केन्द्रित छु,’ जोकोभिचले बिहीबार पत्रकार सम्मेलन दौरान भने । 

जोकोभिचले आफू सर्वकालिन महान् खेलाडीको बहसमा अल्झिन नचाहेको बताइरहँदा सर्बियालीका लागि भने यो बहस अन्त्य भइसकेको छ । त्यसको उदाहरण सर्बियाली ओलम्पिक टोली प्रमुख नतासा जान्कोभिचले प्रस्तुत गरिन् । जसले जोकोभिचलाई पत्रकार सम्मेलनमा टेनिसका सर्वाधिक सफल खेलाडी भनेर चिनाइन् । 

हुन पनि जोकोभिचले २० ग्रान्डस्लाम जितिसकेका छन् । र, फेडेरर र नाडालले राखेको कीर्तिमानको बराबरी गरेका छन् । उनले यसै वर्ष अस्ट्रेलियन ओपन र फ्रेन्च ओपनको उपाधि थपेका हुन् । यी दुई ग्रान्डस्लाम दुई–दुई पटक जितेका खेलाडी जोकोभिच मात्रै हुन् । अनि सरासर चार ग्रान्डस्लाम जित्ने खेलाडी पनि जोकोभिच मात्रै हुन् । उनले सन् २०१५ मा अस्ट्रेलियन ओपन, विम्बल्डन, यूएस ओपन जितेका थिए भने सन् २०१६ को टेनिस सिजन सुरु हुँदा फेरि अस्ट्रेलियन ओपन विजेता बने भने फ्रेन्च ओपनको ट्रफी पनि हात पारे ।  

जोकोभिचले ‘गोल्डन स्लाम’ का विषयमा स्टेफी ग्राफसँग कुरा गरिसकेका छैनन् । ‘म स्टेफी (ग्राफ)सँग सम्पर्कमा छैन । तर मौका पाए भने उनलाई सोध्ने छु, कसरी यस्तो असाधारण सफलता प्राप्त गर्न सकेको भनेर,’ जोकोभिचले भनेका छन्, ‘पहिला मलाई गोल्डन स्लाम प्राप्त गर्न सकिने उपलब्धी हो जस्तो लाग्दैन थियो । तर अहिले भने मैले सपना देख्‍न थालेको छु ।’ 

संयोगवस यस पटक जोकोभिचसँग भिड्न फेडेरर र नाडाल टोकियो ओलम्पिकमा हुने छैनन् । हुन त गत वर्षको यूएस ओपनको उपाधि होडमा पनि यी तीन खलाडीसँगै थिएनन् । ‘लाइन जज’ माथि बल प्रहार गरेका जोकोभिचलाई प्रतियोगिताबाट निस्काषन गरिएको थियो । 

‘पछिल्ला १५ वर्ष यता ठूला प्रतियोगिताका उपाधिका मुख्य प्रतिस्पर्धा हामी तीनबीच नै हुने गरेको छ । यस ओलम्पिकमा उनीहरु दुवै छैनन् । त्यसकारण अनौँठो लागेको छ । किनभने उनीहरूमध्ये एक त जुनसुकै प्रतियोगितामा भएकै हुन्थे,’ जोकोभिचले भने । 

ओलम्पिकको पुरुष एकलतर्फ अन्य केही स्टार पनि छैनन् । शीर्ष १० का करिब आधा मात्रै खेलाडी टोकियो पुग्दा डोमिनिक थिम, माटिट्यो बेरेटिनी र डेनिस सापोभालोभ पनि अनुपस्थिीत छन् । यद्यपि जोकोभिच भने प्रतिस्पर्धा कमजोर नहुने बताउँछन् । ‘ओलम्पिकमा बलिया खेलाडीहरूको कमी छैन । डानिल मेदभेदेब, स्टेफानोस सितसिपास, अलेक्जान्डर जिभेरेभ र आन्द्रे रुबलेभ टोकियो आइपुगेका छन् । उनीहरु सबै स्वर्ण पदकको दाबेदार हुन्,’ जोकोभिचले आफ्ना विपक्षी खेलाडीहरूका बारेमा भनेका छन् । 

उसो त जोकोभिच आफैँ पनि ओलम्पिकमा सहभागी हुने वा नहुनेमा टुङ्गो थिएन । तर अन्तिममा आएर उनले टोकियो प्रस्थान गर्ने निर्णय गरे ।  ‘ओलम्पिकको आफ्नै गरिमा छ । यो जस्तो ऐतिहासिक खेलकुद इभेन्ट सायदै अर्को छ । अनि आफ्नो देशलाई प्रतिनिधित्व गर्ने मौका पनि हो यो । यी कारणहरुले नै मलाई ओलम्पिकमा भाग लिन प्रेरित गरे,’ बेइजिङ ओलम्पिकमा कास्य पदक जितेका जोकोभिचले भने । 

एपीको सहयोगमा 


Author

थप समाचार
x