खेलकुद

सोल्स्यारलाई म्यानचेस्टर युनाइटेडको सन्देश, अब उपाधि दिलाउ

इकागज |
साउन १२, २०७८ मंगलबार ६:५७ बजे

काठमाडौँ- गत फेब्रुअरी ६, म्यानचेस्टर युनाइटेड र एभरटनबीचको खेल । ओल्ड ट्राफोर्डमा भइरहेको खेलमा युनाइटेड पहिलो हाफमा २-० ले अघि रह्यो । तर दोस्रो हाफको अन्त्यमा नतिजा आयो, ३-३ को बराबरी । इंग्लिस प्रिमियर लिगको खेल, त्यो पनि आफ्नै मैदानमा अनि पहिलो हाफमा दुई गोलको अग्रता । यस्तो अवस्थामा अंक गमाउनु परेपछि ओले गनर सोल्स्यार भाउन्‍न हुने नै भए । 

खेलपछि पत्रकार सम्मेलनमा सोल्स्यार देखा परे । पत्रकारहरूको प्रश्न सामना गरिसकेपछि सोल्स्यार सिधै आफ्नो कारतर्फ हानिए । तर बीचमा क्लबका सबैसँग बिदा माग्न बिर्सिएनन् । जति सुकै खराब नतिजा आए पनि सोल्स्यार आफ्ना स्टाफसँग उस्तै व्यवहार गर्छन्, झोक्दिैनन् । त्यस दिन उनी कोहीसँग नबोली फटाफट आफ्नो घर लागेको भए पनि कसैको चित्त दुखाई हुँदैन थियो । किनभने स्वभाविक रुपमा प्रशिक्षकको मुड खराब नतिजाले बिगार्न सक्छ । 


सायद सोल्स्यार र जोसे मौउरिन्होबीचको फरक यही हो । फेरि मौउरिन्हो सधैँ आवेगमै रहन्थे भन्‍ने पनि होइन । तर अन्तिम सिजनमा भने मौउरिन्हो खासै मुस्कुराएनन् । क्लबमा उत्साहको माहोल थिएन । न त खेलाडी र समर्थक नै आशावादी देखिन्थे । 

हो, यही माहोल परिवर्तन गर्न सोल्स्यारलाई क्लबमा फर्काइयो । जो कयौँ वर्ष एलेक्स फर्गुसनका प्रिय खेलाडी थिए । सोल्स्यारका लागि पहिलो जिम्मेवारी थियो, खेल शैली फरक बनाउने । मौउरिन्होले स्थापना गरेको रक्षात्मकबाट आक्रामक फुटबलमा फर्कने । सोल्स्यारले आफूलाई दिइएको जिम्मेवारी पूरा गरे । हो कुनै चमात्कार गरेनन्, तर समर्थकमा आशा जगाउन सके । त्यही भएर त उनीसँग फेरि एक पटक नयाँ सम्झौता गरिएको छ । 

गत सिजन युनाइटेड लिगमा दोस्रो भयो । टाढैबाट भएपनि छिमेकी क्लब म्यानचेस्टर सिटीलाई टक्कर दिने प्रयास ग¥यो । च्याम्पियन लिभरपुल निकै पछि पर्दा सिटीलाई कसैले पछ्यायो भने त्यो सोल्स्यारको टिम नै थियो । तर फेरि उनको नेतृत्वमा चार सेमिफाइनल हारेको तथ्य पनि छ । 

अब सोल्स्यारले युनाइटेड बसाइको पहिलो चरण पार गरेका छन् । आउँदो सिजनबाट दोस्रो चरण सुरु हुँदैछ । र, यस पटक उनलाई दिइएको जिम्मेवारी फरक छ । त्यो हो, उपाधि भित्र्याउने । 
सोल्स्यारले सुरुबाटै युनाइटेडको टिम पुर्ननिर्माण गरिनु पर्ने भन्दै आए । उनको भनाई थियो, समर्थकको अपेक्षामा खरो उत्रन, उही किसिमका खेलाडी चाहिन्छन् । आक्रामक खेल देखाउन खेलाडी पनि त आक्रामक नै चाहियो नी । त्यसमा पनि उनको जोड युवा खेलाडी अनुबन्ध गर्नुपर्छ भन्‍ने माग थियो । 

युनाइटेडले सोल्स्यारको माग बमोजिम सरुवा बजारमा ठूलो खर्च गरेको छ । तीन सय ५० मिलियन पाउन्ड भन्दा बढी खर्च गरेको छ, नयाँ खेलाडीहरूमाथि । खर्च गरिएको, सोल्स्यारले भनेको जस्तै टिम निर्माण गर्न नै हो । हालै मात्र पनि युनाइटेडले जेडोन सान्चोलाई अनुबन्ध गरेको छ । म्यानचेस्टर सहर फर्केसँगै सान्चो दोस्रो महंगा इंग्लिस खेलाडी बनेका छन् । 

तसर्थ अब प्रश्न गर्ने बेला भएको छ, सोल्स्यारको लक्ष्यबारेमा । अनि पुर्ननिर्माण लगभग अन्तिम चरणमा रहँदा सोल्स्यार दबाबमा त छैनन् ? किनकि खर्च अनुसारको उपलब्धी त आउनै पर्छ । तर सोल्स्यार भन्छन्, उनी दबाबमा छैनन् । 

‘हामीले युनाइटेडको टिम पुर्ननिर्माण हुनुपर्छ भनेका थियौँ । आफूले चाहेको जस्तो टिम बन्‍ने क्रममा छ । पुर्ननिर्माण लगभग अन्तिम चरणमा छ भन्दा फरक पर्दैन । गत सिजन पनि हामीले टिमलाई बलियो बनाउने कामलाई जारी राख्यौँ । मैदानमा परिणाम पनि देखियो । कुनै पनि अवे खेल हारेनौ । अनि गोल पनि प्रशस्त गर्‍यौँ, विगतका सिजनमा भन्दा बढी । त्यसकारण टिम मजबुत हुँदैछ,’ सोल्स्यारले भने । 

युनाइटेड हेरक विभागमा बलियो बन्‍ने प्रयासमा छ । भर्खरै मात्र उसले ‘सेट पिस’ का लागि भिन्दै प्रशिक्षक नियुक्त गरेको छ । अनि रक्षापंक्तिलाई अझैँ भरपर्दो बनाउन नयाँ रक्षक अनुबन्ध गर्ने दिशामा छ । त्यसकै नतिजा हो, रियाल म्याड्रिडका राफाएल भारानसँग जोडिएको । 

युनाइटेडले गत सिजनबाटै नयाँ रक्षक खरिद गर्न चाहिरहेको थियो । किनभने सोल्स्यार र उनको प्रशिक्षण टोलीको निष्कर्ष यही हो, टिमलाई सन्तुलित बनाउन रक्षापंक्तिलाई थप बलियो बनाउन आवश्यक छ । अग्रपंक्ति त त्यसै पनि प्रभावकारी छ । गत सिजनकै तथ्यांक हेर्ने हो भने, गोल गर्ने मामलामा युनाइटेड सिटी भन्दा १० गोलले मात्रै पछि पर्यो । जबकि सिटीको अग्रपंक्तिलाई युरोपकै बलियोमध्येको एक मानिएको छ । यसकारण, तुलनात्मक रुपमा अग्रपंक्ति भन्दा रक्षापंक्ति कमजोर छ भन्‍ने निक्र्योलमा युनाइटेड पुग्यो । यद्यपि उसले यस सरुवा बजारमा नयाँ फरवार्ड खरिद गरिसकेको छ भने रक्षक थप्ने योजनाले मूर्तरुप लिएको छैन । 

फेरि गत सिजनकै तथ्यांकमा फर्कने हो भने, सिटीको रक्षापंक्ति लिगकै सबैभन्दा बलियो देखियो । किनभने उसले ३२ गोल मात्र खायो । जुन लिगका बाँकी १९ क्लबको भन्दा कम थियो । उता यनाइटेडले भने ४४ गोल खायो । उसको भन्दा कम गोल खाने टिम लिभरपुल, चेल्सी र आर्सनल थिए । त्यसकारण गत सिजनबाट युनाइटेडले पाठ सिकेको हुनुपर्छ । यसअर्थमा भारानको अनुबन्धनले सोल्स्यारको पुर्ननिर्माणले पूर्णता पाउनेछ । 

यस्तोमा सोल्स्यारका लागि कुनै बाहना बाँकी रहने छैन, कुनै उपाधि जित्न असफल भएको खण्डमा । सोल्स्यारले आफू नयाँ सम्झौताका लागि उपयुक्त भएको प्रमाणित त गरे । अब भने पालो उपाधि कै हो । त्यसकारण उनी दबाबमा हुनेछन् । उनले यसलाई अस्विकार गरेपनि । (गोल डटकमको सहयोगमा)


Author

थप समाचार
x