खेलकुद

दुर्लभ कीर्तिमानको नजिक पुगेका जोकोभिच

इकागज |
भदौ २६, २०७८ शनिबार १६:३८ बजे

काठमाडौँ- अस्ट्रेलियाका रोड लाभेरले सन् १९६९ मा चार ग्रान्डस्लाम जितेका थिए । त्यसपछि कुनै पनि पुरुष टेनिस खेलाडीले एकै वर्षमा चार ग्रान्डस्लाम जित्‍न सकेका छैनन् । तर लोभरको कीर्तिमानको नजिक पुगेका छन्, सर्बियाका नोभाक जोकोभिच । यूएस ओपनको फाइनलमा स्थान पक्का गरेपछि जोकोभिचले विश्व टेनिसमा राखिएको दुलर्भ कीर्तिमान बराबरी गर्ने सम्भावना बढेको हो ।

शनिबार भएको सेमिफाइनलमा टोकियो ओलम्पिकका स्वर्ण पदक विजेता अलेक्जान्डर ज्वेरेभमाथि जोकोभिचले ४-६, ६-२, ६-४, ४-६, ६-२ को जित हासिल गरे । र, विश्व नम्बर दुई डानिल मेदभेडेभसँगको उपाधि भिडन्त पक्का गरे । रुसका मेदभेडेभले अर्को सेमिफाइनलमा फेलिक्स अगर एसिमलाई पराजित गरेका थिए । 


आइतबार राति हुने फाइनलमा मेदभेडेभलाई हराउन सके, जोकोभिचले दुईवटा कोशेढुंगा पार गर्नेछन् । पहिलो, वर्षको चौथो ग्रान्डस्लाम उपाधि हात पार्नेछन् । दोस्रो, २१ औँ ग्रान्डस्लाम जित्नेछन् । जुन पुरुष टेनिसमा नयाँ कीर्तिमान हुनेछ । अहिलेसम्म उनले रोजर फेडेरर र राफाएल नाडालसँगै २० ग्रान्डस्लाम जितेका छन् । 

‘नयाँ कीर्तिमान बनाउन अब एउटा खेल जित्‍न बाँकी छ । यस्तो उपलब्धी हासिल गर्न म भरमग्दुर प्रयास गर्नेछु । यूएस ओपन फाइनल मेरो करियरको अन्तिम खेल हो भन्‍ने ठानेर खेल्नेछु,’ सेमिफाइनलमा जित दर्ता गरेपछि जोकोभिचले भने । 

आर्थर आश रंगशालामा उपस्थित रहेका २१ हजार भन्दा बढी दर्शकका अघि यस सिजनको २७ औँ जित हासिल गरेपछि जोकोभिचको भनाइ थियो, ‘यो खेल अन्त्यन्तै प्रतिस्पर्धात्मक रह्यो । जितका कारण म गर्व महशुस गरिरहेको छु,’  

एटीपी वरीयतामा सबैभन्दा लामो समय शीर्षस्थानमा रहेका जोकोभिच ३१ औँ पटक ग्रान्डस्लामको फाइनल पुगेका हुन् । उनी बाहेक फेडेररले मात्रै ३१ पटक ग्रान्डस्लामको उपाधिका लागि प्रतिस्पर्धा गरेका छन् । जोकोभिच यूएस ओपनको फाइनलमा मात्रै नौ पटक पुगेका छन् । यो पनि आफैँमा नयाँ कीर्तिमान हो । 

उता मेदभेडेभ भने तेस्रो पटक ग्रान्डस्लामको फाइनल पुगेका हुन् । २५ वर्षीय रुसी स्टारले आफ्ना पछिल्ला दुई ग्रान्डस्लाम फाइनलमा जोकोभिच र फेडेररसँग पराजित भएका थिए । यसैवर्षको अस्ट्रेलियन ओपनको फाइनलमा उनलाई जोकोभिचले पराजित गरेका थिए ।

त्यसैगरी सन् २०१९ को यूएस ओपनको उपाधि भिडन्तमा मेदभेडेभलाई पाका फेडेररले हराएका थिए । ‘जति हार हुन्छ, त्यति नै जितको चाहना बढ्दै जान्छ । मैले पछिल्ला दुई फाइनल हारेका छु । तेस्रो फाइनल चाहिँ जित्‍न चाहन्छु,’ मेदभेडेभले भनेका छन् । 

जोकोभिच पुरुष टेनिसमा लाभेर र डन बजले राखेको कीर्तिमान बराबरी गर्ने लक्ष्यमा अघि बढेका छन् । लाभेरले सन् १९६९ मा मात्र होइन, त्यो भन्दा सात वर्षअघि पनि एकै सिजनमा चार ग्रान्डस्लाम जितेका थिए । उनले बजले सन् १९३८ मा राखेको कीर्तिमान बराबरी गरेका हुन् ।

महिला टेनिसमा भने यस्तो कीर्तिमान तीन खेलाडीको नाममा छ । स्टेफी ग्राफले सन् १९८८ मा १९ वर्षकै उमेरमा चार ग्रान्डस्लाम जितेर सनसनी मच्चाएकी थिइन् । त्यसअघि मारागारेट कोर्टले सन् १९७० र माउरिन कोन्नोल्लीले सन् १९५३ मा चार ग्रान्डस्लाम जितेका थिए । पछिल्लो पटक सेरेना विलियम्सले महिला टेनिसको यस्तो कीर्तिमान बराबरी गर्न खोजिन् । सन् २०१५ मा तीन ग्रान्डस्लाम जितेकी अमेरिकी खेलाडी फ्रेन्च ओपनको अन्तिम चारमा रोबर्टा भिन्सीसँग रोकिएपछि चौँथो कीर्तिमानी महिला खेलाडी बन्‍नबाट चुकेकी थिइन् । 

एपीको सहयोगमा 


Author

थप समाचार
x