खेलकुद

धैर्य चेल्सी र निखारिएका लुकाकु

इकागज |
भदौ ३०, २०७८ बुधबार १३:५६ बजे

काठमाडौँ- स्टाम्फोर्ड ब्रिजमा चेल्सी र जेनिट सेन्ट पिटर्सबर्गबीचको खेल पहिलो हाफको उत्तर्राद्धमा थियो । चेल्सीका खेलाडीहरू धैर्यपूर्वक खेलिरहेका थिएनन् । निरन्तर गल्ती गरिरहेका थिए । विशेषगरी अग्रपंक्तिमा चेल्सी हतासमा देखिँदै थियो । यसले थोमस टुकेललाई आक्रोशित बनाइरहेको थियो । टचलाइनबाट उनी खेलाडीहरूलाई ‘धैर्यपूर्वक खेल’ भनिरहेका थिए । 

चेल्सीका जेनिट सेन्ट पिटर्सबर्गको बक्समा बल पुर्‍याउँदा चेल्सीका फरवार्डहरूले गतिलो प्रहार गर्न सकिरहेका थिएनन् । म्यासन माउन्टका क्रसहरू निरन्तर खेर गइरहेका थिए । बल पोसेसनलाई नियन्त्रणमा राखे पनि जेनिटको रक्षापंक्तिलाई बिट गर्नसक्ने आक्रमण हुन सकिरहेका थिएनन् । यस्तो लाग्थ्यो, चेल्सीले आफ्नो खेलमा स्पिड बढाउन सकिरहेको थिएन । 


चेल्सीको प्रदर्शन अपेक्षा अनुरुपको थिएन । गत सिजन पनि चेल्सीको खेल यस्तै नै थियो । आर्कषक खेल देखाउने भन्दा पनि विपक्षीको थ्रेटलाई व्यवस्थापन गर्ने ध्येयमा थियो, चेल्सी । गोल नखाने र पाएको मौकामा गोल गर्ने । यही शैलीले नै चेल्सीलाई गत सिजन च्याम्पियन्स लिग विजेता बनायो । जेनिटसँगको खेलमा पनि चेल्सीको नीति यस्तै रह्यो ।  

दोस्रो हाफको ६९ औँ मिनेटमा चेल्सीका लागि गोलको ठूलो मौका आइपुग्यो । यसमा रोमेलु लुकाकु चुकेनन् । त्यसभन्दा अघि चेल्सीलाई जेनिटले खुलेर खेल्न दिएकाे थिएन । ५-४-१ को संरचनामा खेलेको जेनिटले पहिलो हाफमा असाध्यै रक्षात्मक खेल्यो । लुकाकुले आक्रमण बुन्‍ने केही मौका नपाएका होइनन् । तर उनको प्रहारलाई बीचमै विफल बनाइन्थ्यो । 

जेनिटको मुख्य रणनीति लुकाकुलाई रोक्ने नै थियो । उनलाई कमसेकम दुई खेलाडीले मार्क गरिरहेका हुन्थे । यसले उनलाई निराश बनाएकै थियो । फेरि लेफ्ट ब्याक मार्कस अलोन्सोसँग भनेजस्तो तालमेल नमिलेकाले पनि लुकाकु आक्रोशित देखिन्थे । आक्रोशित लुकाकुका लागि जेनिटविरुद्धको खेल परीक्षा पनि थियो । यस्तो परीक्षा उनले आगामी दिनमा पनि दिनुपर्नेछ । किनभने चेल्सीविरुद्ध उत्रने प्राय विपक्षीको रणनीति यही हुनेछ, जसरी हुन्छ लुकाकुलाई रोक्ने ।

जेनिटको रक्षापंत्ति र मिडफिल्डले बेल्जियमका स्ट्राइकरलाई खुलेर खेल्न त दिएन नै, उनका लागि चेल्सीकै मिडफिल्डले पनि पर्याप्त गोलको मौका सिर्जना गर्न सकेन । न त फरवार्ड लाइनमा रहेका माउन्ट र हाकिम जिएचले कुनै उत्साह सिर्जना गर्न सके । 

दोस्रो हाफमा पनि चेल्सीले उही संरचनालाई निरन्तरता दियो । ३-४-३ मा खेलिरहेको चेल्सीले फरक रणनीति बनाउन चाहेन । बरु आक्रमण बुनिरह्यो । गोल ननिस्किए पनि चेल्सीले आफ्नो खेल संरचना परिवर्तन गरेन । यही संरचना र शैलीमा खेल्दा चेल्सीले जेनिटलाई रोक्न सकेको हो । चेल्सीको रक्षापंत्तिलाई पार गर्ने किसिमको आक्रमण, जेनिटले बुन्‍न सकेन । 

चेल्सीले ६३ औँ मिनेटमा काइ हाबर्टसलाई मैदान प्रवेश गरायो । त्यसपछि चेल्सीको आक्रामकता बढ्यो । त्यहीबीचमा चेल्सीले गोलको अवसर सिर्जना गर्नसक्यो । कप्तान सिजर आज्पिकुएल्टाले दिएको लामो क्रसको उपयोग गर्दै लुकाकुले हेडर गोल गरे । 

इन्टर मिलानबाट यसै सिजन चेल्सी फर्किएका लुकाकुले शनिबार इंग्लिस प्रिमियर लिगमा एस्टन भिल्लाविरुद्ध दुई गोल गरेका थिए । लिगमा तीन खेलमा तीनै गोल गरेका लुकाकुले च्याम्पियन्स लिगमा कस्तो प्रदर्शन गर्लान भन्‍ने कौतुहल थियो । तर उनले नयाँ क्लबबाट च्याम्पियन्स लिगमा समेत बलियो सुरुवात गरेका छन् । एन्टोनियो कोन्टेको प्रशिक्षणले खारिएका लुकाकुले च्याम्पियन्स लिग उपाधि रक्षा गर्ने चेल्सीको लक्ष्यमा उल्लेख्य भूमिका निवार्ह गर्ने संकेत गरेका छन् ।  

दी गार्डियनबाट 

  
 


Author

थप समाचार
x