खेलकुद

न्युजिल्यान्डले भन्यो, सुरक्षाका कारण पाकिस्तानमा खेल्न सकिँदैन

इकागज |
असोज १, २०७८ शुक्रबार १६:४० बजे

काठमाडौँ-न्युजिल्यान्डले पाकिस्तानविरुद्धको एक दिवसीय तथा टी-ट्वान्टी श्रृंखला रद्ध गरेको छ । पाकिस्तान पुगिसकेको न्युजिल्यान्डले सुरक्षाको कारण देखाउँदै घरेलु टिमसँग नखेल्ने जानकारी दिएको हो । १८ वर्षपछि पाकिस्तान पुगेको न्युजिल्यान्ड र पाकिस्तानी टिमले शुक्रबार पहिलो एक दिवशीय खेल्ने बताइएको थियो । रावलपिन्डीमा हुने भनिएको खेलका लागि दुवै टिम आफू बसिरहेको होटलबाट रंगशाला नपुगेको इएसपीएन क्रिक इन्फोले लेखेको छ । 

‘न्युजिल्यान्ड सरकार र सुरक्षा निकायबाट आएको सुझावका आधारमा हामीले पाकिस्तानी टिमसँग नखेल्ने निर्णय गरेका छौँ । यसबाट पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) दुःखी हुनेछ भन्‍ने हामीलाई थाहा छ । तर टिमको सुरक्षालाई मध्यनजर गर्दै यस्तो निर्णय लिइएको हो,’ न्युजिल्यान्ड क्रिकेटका प्रमुख डेभिड व्हाइटद्वारा जारी गरिएको विज्ञप्तीमा भनिएको छ । 


उता पीसीबीले न्युजिल्यान्डले एकल निर्णय गरेको भन्दै असन्तुष्टि व्यक्त गरेको छ । ‘शुक्रबार बिहान ज्युजिल्यान्डको टिमले सुरक्षाको विषय उठाएको थियो । त्यसपछि उसले हामीलाई नसोधी खेल रद्ध गर्ने निर्णय सुनायो । जबकि पाकिस्तान सरकार र पीसीबीले पाहुना टिमका लागि पर्याप्त सुरक्षाको व्यवस्था गरेको छ । पाकिस्तानी प्रधानमन्त्रीबाट न्युजिल्यान्डकी प्रधानमन्त्रीलाई टेलिफोन गरी पाहुना टिमलाई कुनै प्रकारको सुरक्षा थ्रेट नरहेको जानकारी गराइएको पनि हो । न्युजिल्यान्ड टिमका सुरक्षा अधिकारीहरूले पनि सुरक्षा व्यवस्थाप्रति सन्तुष्टी व्यक्त गरेका थिए । तर एक्कासी यस किसिमको निर्णय आउँदा हामी दुःखी छौँ,’ पीसीबीले भनेको छ । 

न्युज्ल्यिान्डको टिम सेप्टेम्बर ११ मा पाकिस्तानी राजधानी इस्लामाबाद पुगेको थियो । पाकिस्तान झरेपछि पाहुना टिमले तीन अभ्यास सेसन गरिसकेको थियो ।

पाकिस्तान भ्रमण रद्ध गर्ने घोषणा न्युजिल्यान्डले गरेपछि यसले पाकिस्तानको सुरक्षा अवस्थाबारे नकारात्मक सन्देश जाने देखिएको छ । इंग्ल्यान्डको पुरुष तथा महिला टिमले अर्को महिना पाकिस्तान भ्रमण गनर्दैछ । तर न्युजिल्यान्डको शुक्रबारको निर्णयले इंग्लिस टिमलाई पनि आफ्नो भ्रमण स्थगित गर्न दबाब पर्नसक्ने अनुमान गरिएको छ । 
 
 
 


Author

थप समाचार
x