खेलकुद

फुटसल लिग: धराने क्लब राइजिङको अपराजित लय

इकागज |
असोज ४, २०७८ सोमबार १९:२५ बजे

काठमाडौँ - धरानको राइजिङ क्लबले पोखरामा जारी ए डिभिजन फुटसल लिगमा दोस्रो जित दर्ता गरेको छ । सोमबार भएको खेलमा उसले प्रभातफेरी युथ क्लबलाई ११–६ पराजित गर्‍यो । सोमबार नै भएका अर्को खेलमा मछिन्द्र स्काई गोल्सले झरना स्पोर्टस क्लबमाथि ८–० को जित हासिल गर्‍यो । 

धराने टिमका लागि रेवोश मास्के र विकु तामाङले ह्याट्रिक गरे । त्यसैगरी, मिलान राईले दुई गोल गरे भने मिलन लिम्बु, दोर्जे तामाङ र सुदिप गुरुङले एक–एक गोल थपे । पराजित प्रभातफेरीका तर्फबाट धिरज श्रेष्ठले दुई गोल फर्काए भने धिरज जोशी, राज पौडेल, सिजन गुरुङ र श्रिजेश पुरीको नाममा एक–एक गोल रह्यो । 


सोमबारको दोस्रो खेलमा विजयी बनेको मछिन्द्र स्काईका लागि कप्तान जिर्मल गुरुङ र प्रकाश महताराले दुई–दुई गोल गरे । त्यस्तै, अनिल खड्का, आशिष सुनाम, संजोग चाम्लिङ र रोहन अधिकारीले पनि मछिन्द्र स्काईका लागि गोल गरे । 

दोस्रो जित हासिल गरेसँगै राइजिङ ६ अंकका साथ शीर्षस्थानमा छ । दुई खेल नै खेलेको मछिन्द्र स्काइको भने तीन अंक छ र गोल भिन्नतामा दोस्रो स्थानमा छ । एक–एक खेल खेलेका स्पोटर्स कासल, लुम्बिनी फुटसल र ढुकु फुटसलको पनि तीन–तीन अंक नै छ ।
 
 


Author

थप समाचार
x