खेलकुद

क्रिकेटका लागि घर छाड्ने जयसवाल

बीबीसी |
कात्तिक ४, २०७७ मंगलबार १७:४९ बजे

कुनै पनि किशोर क्रिकेटरका लागि इन्डियन प्रिमियर लिग (आइपीएल) खेल्ने टोलीमा स्थान बनाउनु पक्कै सजिलो हुदैन । थोरै मात्र त्यो स्तरसम्मको यात्रामा सफल हुन्छन् । यशस्वी जयसवाल, १८, त्यस्तै सफलता पाउने थोरै किशोरमध्येका एक हुन् ।

टीममा स्थान बनाउन त सघंर्ष गर्नु नै छ । त्योभन्दा ठूलो संघर्ष पहिलो एघारमा पर्नलाई हुन्छ । तर जयसवाल पहिलो एघारमा नपर्दा पनि त्यति दुःखी हुँदैनन् । किनकि उनी नखेल्दा पनि आफूले हिरो मानेका खेलाडीहरुको वरीपरी नै हुन्छन् । स्टिभ स्मिथ, जोफ्रा आर्चर र जोस बट्लरलगायतका अनुभवी खेलाडीसँगको उठबसमा रहन्छन् । कुनै पनि क्रिकेट क्रेज भएको देशमा धेरै किशोरहरुका लागि त यस्ता खेलाडीहरुसँग भेट्न पाउनु नै सपना पूरा हुनुजस्तो हुन्छ ।


जयसवालले राजस्थान रोयल्ससम्म आइपुग्‍न जति मेहेनत गरे, त्योभन्दा धेरै मेहेनत उनले क्रिकेट खेलाडी बन्‍नलाई गर्नुपर्‍यो । उनी १० वर्षको मात्र थिए, जब उनले क्रिकेटर बन्‍न उत्तर प्रदेशको दुर्गम गाउँ छाड्ने निर्णय गरे । ‘मलाई क्रिकेट खेलाडी बन्‍नु थियो । तर गाउँको टीमको होइन । राष्ट्रलाई प्रतिनिधित्व गर्ने टीमको । त्यो सपना पूरा गर्न सजिलो थिएन । मैले गाउँसँग बिदा  माग्‍नै पर्ने थियो,’ जयसवालले आइपीएल पोडकास्टमा कुरा गर्दै आफ्नो विगतलाई सम्झिए ।
  
जयसवाललाई उनको गाउँका अग्रजहरुले मुम्बई जान सुझाए । ‘उनीहरुले मलाई क्रिकेटमा नाम बनाउन मन भए मुम्बई नै पुग्‍नपर्छ भनेर सुझाए । त्यसपछि मेरो दिमागमा मुम्बई गाढा भएर बस्यो । सुत्दा होस् या आमासँग कुरा गर्दा होस् मेरो मस्तिष्कमा मुम्बई मात्र थियो,’ उनले भने । 

जयसवालले मुम्बई यात्राका लागि घरमा पैसा मागेनन् । बरु परिवारका सदस्यहरुलाई भनिदिए, ‘म देशले चिन्‍ने क्रिकेटर नबनी घर फर्किने छैन ।’ मुम्बईमा उनले अभ्यास गर्ने स्थल थियोः आजाद मैदान । उनी त्यहाँ दिनभर  अभ्यास गर्थे । २५ बिघामा फैलिएको आजाद मैदान भारतीय क्रिकेटप्रेमीहरुका लागि नौलो नाम होइन । त्यसै मैदानमा खेल्दै सचिन तेन्दुलकर र पृथ्वी शाअजस्ता खेलाडीहरु हुर्केका हुन् । 

यशस्वी जयसवालले यसै वर्ष सम्पन्‍न अण्डर १९ विश्‍वकपमा सबैभन्दा बढी रन बनाए । भारतीय क्रिकेटमा उपस्थिति जनाउन त्यो काफी थियो । उनको प्रतिभा पहिचान गरेरै होला राजस्थान रोयल्सले उनलाई २ लाख ५६ हजार खर्च गरेर आएपीएलका लागि सम्झौता गर्‍यो । 

कुनै पनि खेलमा सुरुवात गर्नुभन्दा टिक्न गाह्रो हुन्छ । क्रिकेट किन बेग्लै हुन्थ्यो र । मुम्बईमा टिक्न उनी डेरीमा काम गर्न थाले । तर उनी त्यो काममा धेरै टिकेनन् । क्रिकेट अभ्यासको थकाई र डेरीको शारिरिक श्रमसँगसँगै जान सकेन । 

‘मैले डेरी मालिकलाई कम्तिमा रातको समयमा रहन दिनलाई आग्रह गरें । किनभने मेरो कही पनि जाने ठाउँ थिएन,’ उनले भने । त्यसपछि उनलाई उनको कोचले आफ्नो घरमा बस्‍न दिए । जहाँ जयसवाल तीन महिनासम्म रहे । 

तर उनलाई मुम्बईमा व्यवस्थित रुपमा बस्‍ने ठाउँ त खोज्‍नु नै थियो । उनी प्रशिक्षण गर्ने क्लबको ग्राउन्ड्सम्यानले बस्‍ने ठाउँ मिलाइदिन्छु भन्यो । उनीहरु बस्‍ने टेन्ट भित्र । 
बस्नका लागि ठाउँ पाए पनि खान र अन्य खर्चका लागि उनले काम गर्नैपर्थ्यो । उनी साथीहरुले नदेखिने गरी धार्मिक मेलाहरुमा खाना बेच्‍न थाले । नबिकेको खानाले उनी आफ्नो छाक टार्थे । तर कहिलेकाही भोकै पनि बस्‍नुपर्ने हुन्थ्यो । 

जयसवाल कलिलै थिए । उनलाई आमाको याद आउथ्यो । आमा भेट्न मुम्बई भन्दा करिब १३ सय किलोमिटर टाढा रहेको गाउँ पुग्नुपर्थ्यो । जुन सम्भव थिएन ।  ‘आमालाई सम्झेर म धेरै रुन्थे । घरको याद आउँथ्यो । शरीर मुम्बईमा भए पनि मन भने गाउँमै थियो । तर म आफ्नो कुरा कसैलाई भन्दिनथें । उदास देखेर कसैले सोधिहाले म ठीकै छु भन्थें,’ उनी विगतमा फर्किन्छन् । 

हाल उनी आफ्ना गुरु ज्वाला सिंहसँग बस्छन् । सिंह तिनै हुन जसले जयसवालको प्रतिभा पहिचान गरे । आफूसँग राखेर तालिम दिए । जयसवालको करियर उकालो लाग्दै गयो । उनले यसै वर्ष सम्पन्‍न अण्डर १९ विश्‍वकपमा सबैभन्दा बढी रन बनाए । भारतीय क्रिकेटमा उपस्थिति जनाउन त्यो काफी थियो । उनको प्रतिभा पहिचान गरेरै होला राजस्थान रोयल्सले उनलाई २ लाख ५६ हजार खर्च गरेर आएपीएलका लागि सम्झौता गर्‍यो । 
  
उनी भारतको सिनियर टीममा स्थान बनाउन सक्ने युवा खेलाडीको सूचीमा अग्रस्थानमा छन् । एक दिवसीय क्रिकेटमा दोहोरो शतक प्रहार गर्ने सबैभन्दा कान्छो खेलाडी बने देखि भारतमा क्रिकेट विष्लेषकदेखि कमेन्टेटरसम्मका मुखमा उनको नाम झुन्डिएको छ ।  

संसारकै सबैभन्दा धनी क्रिकेट प्रतियोगिता हो— आइपीएल । अनि स्मिथ टेस्ट क्रिकेटका नम्बर वान ब्याट्सम्यान । आइपीएलजस्तो प्रतियोगितमा स्मिथसँग खेल्दा जयसवाललाई कस्तो अनुभव भइरहेको छ त ? ‘उनी मेरा लागि गुरुजस्तै हुन् । म उनलाई मनमा लागेका धेरै प्रश्नहरु सोध्छु । जिज्ञासाहरु राख्छु । उनी झर्को नमानी उत्तर दिन्छन् । उनी मलाई तनाव नलिई खेल्न भन्छन् । उनीजस्तो स्थापित खेलाडीले दिएको जुनसुकै सुझाव पनि म जस्तोकिशोर खेलाडीका लागि महत्वपूर्ण नै हुन्छ ।’  


Author

थप समाचार
x